भर्खरै :

कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् तर अन्धानुकरण गर्दैनन्

– गौरव प्रधान
कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् तर अन्धानुकरण गर्दैनन् । यो विश्व कम्युनिस्ट आन्दोलनले दिएको पाठ हो । नेपालका कम्युनिस्ट पार्टीहरू पनि विश्व कम्युनिस्ट आन्दोलनबाट पाठ सिक्छन् तर जुन देशमा जस्तो कम्युनिस्ट आन्दोलन भएको थियो त्यस्तै आन्दोलन नेपालमा गर्नुपर्छ या हुनुपर्छ भन्ने मान्यता राख्दैन । सोभियत सङ्घमा मजदुर आन्दोलन भयो भने चीनमा किसान आन्दोलन भयो । यस्ता हरेक आन्दोलन आ–आफ्नो देशको परिस्थितिअनुसार हुन्छ, हुनुपर्छ । नेपालको कम्युनिस्ट आन्दोलन आफ्नै देशको माटो सुहाउँदो या देशको परिस्थितिअनुसार हुन्छ ।
देशमा अधिकांश किसान छन् । हो, यहाँ बौद्धिक मजदुरहरू छन् । यहाँका बहुमत जनता गरिब छन्, पीडित छन्, थिचिएका र पिल्सिएका छन् । बहुमत जनताको आर्थिक अवस्था नाजुक छ । यहाँ आर्थिक असमानताको खाल्डो गहिरो छ । देशको बस्ती बस्तीसम्म बाटोघाटो, शिक्षा, स्वास्थ्य सेवा, बिजुली, पानी पुगेको छैन । स्वास्थ्य उपचार गर्न नपाएर, गर्न नसकेर मर्नेको सङ्ख्या ज्यादा छ । नेकपाले तिनै उत्पीडित जनताको पक्षमा राजनीति गर्नुपर्ने हो, सेवा गर्नुपर्ने हो । कम्युनिस्ट पार्टीले गर्ने काम भनेको नेपाली विशेषताको वैज्ञानिक समाजवाद हो, यसमा शङ्का छैन । नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न आफूलाई ठूला भनिने कम्युनिस्ट पार्टीहरूले के गरिरहेका छन् ? के सत्ताको वरिपरि बसेर, रमाएर नेपाली विशेषताको समाजवाद स्थापना हुन्छ ? के सरकारको नेतृत्व श्रमजीवी वर्गको पार्टीले गरिरहेको छ ? के श्रमजीवी वर्गको पक्षमा ऐन कानुन बनिरहेको छ ? असमानता हटाउन सरकारले के नीति र नियम ल्याएको छ ?
नेपाली विशेषताको समाजवाद चाहने कुनै पनि दलले वर्गीय राजनीति गर्छ । वर्गीय राजनीति वर्गसङ्घर्षसित सम्बन्धित हुन्छ । कम्युनिस्ट पार्टीले सामन्त, जमिनदार, जालीफटाहा, सामन्त, शोषक र पुँजीपति वर्गको पक्षमा राजनीति गर्दैन । आफ्नो दल निर्वाचित हुने नेकपाले सबैसँग हात मिलायो, सबैलाई आफ्नै मित्र ठानेर राजनीति ग¥यो । त्यसकारण नेकपाभित्र उत्ताउला, उच्छृङ्खल, अराजकतावादी, गुण्डादेखि कमिसनखोर, कालाबजारी, ठेकेदार, अवसरवादी, संशोधनवादी, पतित आदि व्यक्तिहरू समेटिएका छन् । नेकपाका नेता र मन्त्रीहरू किसानकहाँ पुगे किसानको पक्षमा, मजदुरकहाँ पुगे मजदुरको पक्षमा र शोषक, सामन्त, जमिनदार, ठेकेदार, गुण्डा र पुँजीपतिहरूकहाँ गएर पुँजीपति वर्गकै हित गर्ने कुरा गर्छन् । यसरी सबै मिलाएर, ठिक्क पारेर देशमा कसरी वैज्ञानिक समाजवाद स्थापना हुन्छ, श्रमजीवी वर्गको हित गर्ने सरकार स्थापना हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *