निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
रजनी जोशी श्रेष्ठ भक्तपुरको बौद्धिक क्षेत्रमा सुपरिचित नाम हो । वि.सं २०५८ मा ख्वप इन्जिनियरिङ कलेज स्थापना भएदेखि निरन्तर रुपमा विभिन्न पदमा रही भक्तपुरलाई शैक्षिक केन्द्र बनाउने अभियानका एक सक्रिय व्यक्तित्वका रुपमा उहाँ परिचित हुनुहुन्छ । पेशाले वास्तुशास्त्री (आर्किटेक्ट) जोशी नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य हुनुहुन्छ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट उपप्रमुख पदका लागि उम्मेदवार बन्नु अघिसम्म उहाँ ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य हुनुहुन्थ्यो ।
विसं २०२२ असार ३१ गते ललितपुर जिल्लामा जन्मनुभएका रजनी जोशीश्रेष्ठ भक्तपुरका आर्किटेक्ट सरोजप्रसाद वैद्यकी जीवनसङ्गीनी हुनुहुन्छ । उहाँ एक छोराका आमा हुनुहुन्छ । उहाँले डेनमार्कको कोपनहेगनस्थित रोयल डेनिस एकेडेमी अफ फाइन आर्टस्, स्कूलको अफ आर्किटेक्चरमा डेनिस स्नातकोत्तर तह, नर्वेको नर्वेली विज्ञान–प्रविधि ९ल्त्ल्ग्० विश्वविद्यालयबाट सहरी पर्यावरणीय योजना तथा वातावरणीय प्रभाव अध्ययन (ईआईए) सम्मको अध्ययन पूरा गर्नुभएको छ ।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपश्चात् भक्तपुर नगरलगायत काठमाडौं उपत्यकामा भत्केका घरहरूको अध्ययन–अनुसन्धान, भूकम्पपश्चात्को पुनःनिर्माण, भक्तपुर नगरका विभिन्न क्षेत्रलाई नमूना आवास क्षेत्र बनाउन गरिएको अध्ययन अनुसन्धानमा उहाँ प्रत्यक्ष रुपमा संलग्न हुनुभयो । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा २०७३ साल वैशाख १२–१५ सम्म भएको भूकम्प इन्जिनियरिङ र विपद्पछिको पुनःनिर्माण योजना विषयक अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । भक्तपुर नगरपालिकाबाट सञ्चालित दुइवटै इन्जिनियरिङ कलेजलाई नेपालकै उदाहरणीय र अब्बल शैक्षिक केन्द्र बनाउन उहाँले जोड दिनुभयो । इन्जिनियरिङ र वास्तुकलासँग सम्बन्धित अध्ययन अध्यापनका अतिरिक्त कलेजमा भएका विभिन्न विषयका गोष्ठी र प्रवचनमा जोशीले आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्नुभएको छ ।

उहाँले भक्तपुर नगरपालिकाको उत्खनन् तथा सम्पदा पुनःनिर्माण निर्देशक समितिअन्तर्गत भक्तपुर सम्पदा पुननिर्माण प्राविधिक समितिको संयोजक भएर सेवा गर्नुभयो । ख्वप इन्जिनियरिङ कलेजअन्तर्गत गठित भक्तपुर पुनःनिर्माण अध्ययन समितिको सचिवको भूमिका उहाँले सफलतापूर्वक निर्वाह गर्नुभयो । माटोका ब्लक, सिमेन्टको पर्दा, सिमेन्टका टाइल, पानीले नभिज्ने सिमेन्ट रङ्ग आदि प्रविधिको उहाँ जानकार हुनुहुन्छ । यी प्रविधिका विषयमा जोशीले सहायक ओभरसियर र स्थानीय डकर्मीहरूलाई तालिमसमेत दिंदै आउनुभएको छ । उहाँ २०७३ भाद्र ३१ गते सम्पन्न नेपाल इन्जिनियर्स एसोशियसनको निर्वाचनमा नेपाल इन्जिनियरिङ परिषद्तर्फ इन्जिनियर समाज नेपालको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँले वास्तुकला र विज्ञान प्रविधिका विभिन्न तालिमहरू लिनुभएको छ । उहाँ नेपाली आर्किटेक्ट समाजका आजीवन सदस्य, नेपाल इन्जिनियरिङ परिषद्का सदस्य –आर्किटेक्ट “ए” क्याटेगोरीका सदस्य र इन्जिनियर समाज नेपालका सदस्य हुनुहुन्छ ।
उहाँले जापान, भारत, थाइल्याण्ड, बेलायत, बेल्जियम, जर्मनी, स्वीडेन, नर्वे, फिनल्याण्ड, अस्ट्रिया, स्वीड्जरल्याण्ड, फ्रान्स, नेडरल्याण्ड र डेनमार्कलगायतका देशहरू पुगेर अनुभव हासिल गर्नुभएको छ ।
साहित्य लेखनमा पनि रुची राख्नुहुने रजनी जोशी मिजासिलो स्वभावका हुनुहुन्छ । आफ्नो जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्ने रजनी भक्तपुर नगरका सम्पदा संरक्षण, आधुनिक प्रविधिसहितको परम्परागत वास्तुशिल्पका घर–सहर निर्माण, ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरका जनताको सपना साकार बनाउन दिलोज्यानमा लाग्न उहाँ प्रतिबद्ध हुनुहुन्छ । पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने भक्तपुरका जनताको भावनालाई अँगालेर नगरलाई सफा,स्वच्छ नमुना नगर बनाउन आफ्नो अनुभव र योग्यताको अधिकतम सदुपयोग गर्न तत्पर उहाँ जनताका योग्य उम्मेदवार हुनुहुन्छ ।
मादल चिन्हमा छाप लगाई उपप्रमुख पदमा रजनी जोशीश्रेष्ठलगायत नेपाल मजदुर किसान पार्टीका योग्य, इमानदार र जनताको सेवामा समर्पित सम्पूर्ण उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी बनाऔं ।
Leave a Reply