भर्खरै :

एमसीसीबारे विचार गोष्ठी

भक्तपुर, २१ फागुन । बाल विकास सेकेन्डरी स्कूल लिबालीका शिक्षकहरूमाझ मङ्गलबार सहश्राब्दी चुनौती परियोजना एमसीसी र हिन्द–प्रशान्त सैन्य रणनीतिको विषयमा विचार गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवादले विश्वलाई आफ्नो अधीनमा राखी हैकम जमाउन खोजिरहेको र त्यसमा एसिया मुख्य चुनौती बनेकोले आफ्नो प्रभाव कायम राख्न एमसीसी परियोजना अघि बढाइरहेको बताउनुभयो ।
अमेरिका जहाँ–जहाँ पुग्छ त्यहाँको शान्ति र स्वतन्त्रता खोसिएको उदाहरण प्रस्तुत गर्दै उहाँले एमसीसी परियोजना नेपालको स्वाधीनता र सार्वभौमिकताविरुद्ध भएको बताउनुभयो । शासक दलको अदूरदर्शिता र अकर्मण्यताले गर्दा अमेरिकाले समाजवादी देश चीनको उन्नतिलाई रोक्न नेपाललाई उसको युद्ध मैदान बनाउन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सांसद सृजना सैंजूले नेपालको प्राकृतिक स्रोत साधनमा कब्जा जमाउने र नेपाललाई आफ्नो सैन्य अखडा बनाएर चीनलाई घेर्ने रणनीतिअन्तर्गत एमसीसी परियोजना ल्याएको बताउनुभयो ।
उहाँले हालसम्म ४९ देशमा एमसीसी परियोजना लागू भइसकेको तर ती कुनै पनि देशले उन्नति गर्न नसकेको बरु उल्टै ती देश गरिबी र अशान्तिको खाडलमा भासिएको बताउनुभयो । सहयोगको नाममा अफ्रिकालाई झन् गरिब बनाएको उदाहरण प्रस्तुत गर्दै सांसद सैंजूले नेपालको संविधानभन्दा माथि हुने र भारतको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान भएको परियोजना नेपालमा लागू गराउनु राष्ट्रघात हुने बताउनुभयो ।
कार्यक्रममा शिक्षकद्वय शङ्कर आचार्य र जयराम कोजूले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *