भर्खरै :

सक्वको म राजदास– २२

भारतका उद्योग वाणिज्य मन्त्री एन. तिवारीसंग एक अन्तर्राष्ट्रिय सम्मेलनमा न्यु दिल्लीमा १९८० तिर
ई. राजदास श्रेष्ठ
बेलारुसको मिन्स्क सहरबाट सोभियत रुसको राजधानी मस्को सहरको गन्तव्यमा रेल गुड्दै थियो । म एउटा सानो कोठाजस्तो चार बेड भएको एक क्याविनमा रेलभित्र थिएँ । अन्ना पेट्रोभ्नाको बुढो र १०–१२ वर्षकी छोरी आ–आफ्नो बेडमा बिहानको खाना खाइसकेपछि मस्तसँग सुतिरहेका थिए । म पनि क्याविनको माथिल्लो बेडमा सुतिरहेको थिए । दुई घण्टाजति मस्त निदाइरहेको मलाई अन्ना पेट्रोभ्नाले उठाइन् । थाहा भएन किन मलाई उनले उठाइन् । सायद बुढो र छोरी सुतिरहेकाले एक्लै न्यास्रो लागेर हो वा मसँग कुरा गर्ने रहरले हो । जे भए नि राम्रै भो । दुई–तीन दिन राम्ररी सुत्न नपाएको र आधा पेट खाली हिँड्दै गरेको मलाई आफ्नै परिवारको एक सदस्यसरह व्यवहार गरेर अन्नाको परिवारले खानापिना दिए । धेरै आरामले सुतँे र निर्धक्क भएर लन्डन यात्राबाट सफलतापूर्वक मस्को फर्कन पाएको थिएँ ।
मैले अन्ना पेट्रोभ्ना जो एक स्कूलको अध्यापिका थिइन् र एक इतिहास र साहित्यका पनि ज्ञाता थिइन् । उनलाई धेरै धन्यवाद दिँदै अन्ना पेट्रोभ्नाको सामु चिया र केही रुसी चकलेटहरूले भरेको सानो फोल्डि· टेबुलअगाडि बसेँ । “खराषो स्पाल ?”
“राम्ररी सुत्नु भो ?” उनले सोधिन् । “स्पोषिभो बल्सोए”, “धेरै धन्यवाद ¤” “दुई तीन दिन भो राम्ररी नसुतेको र राम्ररी खाएको पनि थिइनँ”, मैले भनेँ । तपाईँहरू यसरी नभेटेका भए म मस्कोसम्म भोक–भोकै हुन्थँे होला भनेँ ।
अन्ना पेट्रोभ्ना राम्री, भलादमी र सालिन देखिन्थिन् । मस्को विश्वविद्यालयबाट मास्टर्स गरेकी– पेडागोजी फ्याकल्टीमा । पेडागोजी फ्याकल्टी भन्नाले शिक्षाशास्त्र विभाग । इतिहास र साहित्यमा पनि धेरै रुचि राख्दथिन् । त्यसैकारण हामीले फेरि कुराकानी सुरु ग¥यौँ । विशेष गरेर रुसी साहित्य या उन्नाइसौँ शताब्दीको रुसी साहित्यबारे बताउँदै उहाँले लेभ टोल्स्टोईको बारेमा धेरै सुनाउनुभयो ।
लेभ टोल्स्टोईलाई १९ औँ शताब्दीको विश्वमा सर्वोत्कृष्ट उपन्यासकार मानिन्थ्यो । उनको “वार एन्ड पीस” (युद्ध र शान्ति) उपन्यासले विश्वको प्रशंसा पाएको थियो । सिरियलरूपमा लेखिएको यो उपन्यास लेभ टोल्स्टोईको सुन्दरतम कृति थियो । सन् १८६९ मा यसको अन्तिम भाग लेखिएको थियो ।

अफ्रिकामा सवारी दुर्घटनापछि तीन महिना अस्पताल बस्ने क्रममा मास्को रेड स्क्वायरमा


यस उपन्यासको केही भाग मैले रुसी भाषामा पढेको थिएँ र केही भाग अङ्ग्रेजीमा । तर, अङ्गे्रजीमा पढ्दा बुझ्न सजिलो भए पनि रुसी भाषामा पढेको जस्तो मिठास भने कहिल्यै भएन । त्यसकारण अङ्ग्रेजीमा पढ्न छोडेँ । रुसी भाषामा पढ्दा उपन्यासको विषयवस्तुभन्दा पनि मलाई बढी तत्कालीन रुसी समाजको, रुसी जनजीवनको अनि रुसी जनताको मनोविज्ञानको विषयले ध्यानाकर्षण गर्दथ्यो । मलाई टोल्स्टोईका कृतिहरू पढ्दा सूक्ष्म मनोविज्ञान नै सबभन्दा बढी मनपथ्र्यो । किताब समातेर पढ्न बस्दा मलाई सबभन्दा ठूलो समस्या हुन्थ्यो किताब छोडेर उठ्न । अरु काम बितिरहेको हुन्थ्यो तर किताब छोड्न मन नमान्ने । यही समस्याले गर्दा मैले “वार एन्ड पीस” कहिल्यै पनि पूरा पढ्न सकिनँ । अन्ना पेट्रोभ्नासँग रेलमा चिया पिउँदै गर्दा त्यही विषयमा कुरा चलिरहेको थियो । किताब पढ्नुमा भन्दा मलाई उनको कुरा सुन्नमा बढी मजा आयो । मलाई पढ्नुभन्दा सुन्नु सजिलो लाग्थ्यो । त्यसैले रुसी चकलेटसँग कालो चिया खाँदै टोल्स्टोईको कुरा गर्दै हामी एकदम आनन्दले रुसको रेलयात्रा गर्दै रहयौँ । मानौँ त्यसबेला त्यो रेलमा हामी दुईजनामात्र थियो ।
अन्ना पेट्रोभ्नाले मस्को युनिभर्सिटीमा पढ्दा धेरै विदेशी विद्यार्थी भेटेकी थिइन् रे मस्कोमा । तर, यसरी दुई तीन घण्टा सँगै बसेर कुरा गर्न कसैसँग भ्याएको थिएन रे । विदेश पनि कहीँ गएको छैन भन्थिन् अहिलेसम्म । विदेशी भाषा पनि कुनै आउँदैन रे । अलि अलि पढेको भन्थिन्, तर व्यवहारिकरूपमा कहीँकतै उपयोग गर्न युनिभर्सिटीमा पढ्दा जर्मन भाषा सिकेर जानेको नजानेको जस्तो भयो भन्थिन् ।
मैले पनि अलि अलि जर्मन सिकेको थिएँ । खार्कोभमा म बस्ने कोठामा एकजना मेरो विदेशी पाटर्नर (साथी) जर्मन थिए । पूर्वी जर्मनीबाट आएका थिए मारीयो । धेरै सोझो र भलाद्मी । मारीयोसँगै अर्को रुम पाटर्नर थियो अफ्रिकी देश मालीको विद्यार्थी र चौथो थियो रुसी पाटर्नर भ्लादिमीर । हामी चार जनामध्ये सबभन्दा सोझो र भलाद्मी उहीँ जर्मन केटो मारीयो थियो । अति कम बोल्ने सोझो र मिजासी अनि भलाद्मी ठूलो स्वरले कहिल्यै नबोल्ने ।
त्यसबेला म आफ्नो पढाइको प्रथम वर्षमा थिएँ । मेरो रुसी साथी भालेन्टिना मस्कोमा थिइन् । उनी खार्कोभमा आएकी थिइन् । मसँगै पढ्न दोस्रो वर्षमा मात्र ट्रान्सफर सर्टिफिकेट लिएर मस्कोबाट खार्कोभ आएकी थिइन् । उनी मस्को र म खार्कोभ हुँदा हाम्रोबीच धेरै प्रेमपत्रहरू आदानप्रदान हुन्थ्यो र दिउँसो इन्स्टिच्युटबाट फर्केपछि सबभन्दा पहिले होस्टल (छात्रावास) पुग्नेबित्तिकै आफ्नो पत्रमञ्जुषा बाकस हेर्न जान्थँे । प्रायः उनीबाट हप्तामा दुई तीन वटा पत्रहरू आएकै हुन्थ्यो । नेपालबाट महिनामा एक दुई पत्र आएको हुन्थ्यो ।
त्यसकारण छात्रावासको आफ्नो कोठामा मेरो धेरै समय चिट्ठीहरू पढ्ने र चिट्ठीको जवाफ लेख्नमै व्यतित हुन्थ्यो । पढ्नमा थोरै र चिट्ठीपत्र लेख्नमा धेरै समय खर्च गरिरहेको देख्दा मारीयोलाई मेरो बारेमा चिन्ता लागेर होला बरोबर मलाई भन्ने गथ्र्यो । “राज यसरी चिट्ठीपत्रमा धेरै समय खेर फाल्नुहुँदैन, धेरै पढ्ने गर्नुपर्छ ।” उसको कुरा सही लाग्थ्यो । “हुन्छ मारीयो” अब छिट्टै भालेन्टिना यहीँ हामीकहाँ ट्रान्सफर भएर आउँदै छिन् । अनि मेरो यो प्रेमपत्रको कहानी खतम हुन्छ”, भन्थेँ । बीच–बीचमा मारीयो मलाई सोध्थे, राज, तिमी कम्युनिस्ट हौ भनेर ? म भन्थे, मलाई कम्युनिस्ट विचारधारा मनपर्छ तर म कुनै कम्युनिस्ट पार्टीको सदस्य होइन । पूर्वी जर्मनीको बर्लिन (पूर्वी बर्लिन) बाट मारीयो मजस्तै केमिकल इन्जिनियरि· पढ्न आएको थियो । हामी बस्ने होस्टलमा पूर्वी जर्मनीका विद्यार्थीको सङ्ख्या धेरै थियो । त्यहाँ उनीहरूको एक स·ठित विद्यार्थी स·ठन पनि थियो । उनीहरूको हप्ता–हप्तामा सभा पनि हुन्थ्यो । उनीहरू जर्मन समाजवादी कम्युनिस्ट पार्टीका लागि महिनैपिच्छे एक–एक पैसा लेभी उठाउँथे । उनीहरू सबै जर्मन युवा कम्युनिस्ट लीगका सदस्य थिए । सोभियत रुसमा ‘कम्सोमोल’ (युवा कम्युनिस्ट) भनेजस्तै । ‘कम्सोमोल’ भनेको हामीकहाँ ‘वाइसीएल’ भनेजस्तै हो युवा कम्युनिस्ट लीग अथवा स·ठन ।
स्कूल जीवन सकेर विश्वविद्यालयलगायत हरेक शिक्षण संस्थामा पढ्ने विद्यार्थीहरू अनिवार्यरूपमा ‘कम्सोमोल’ बन्थे र पार्टीको लागि प्रत्येक कम्सोमोलले महिनाको ३ पैसा लेभी तिर्नुपथ्र्यो । आफ्नो खल्तिबाट जर्मनहरू एक पैसा तिर्थे । मलाई मारीयोले फुर्सदको समयमा अलि अलि जर्मन भाषा पनि सिकाउँथे । त्यसकारण मलाई दुई चार शब्द बोल्न आउँथ्यो । मैले अन्ना पेट्रोभ्नालाई रेलको क्याबिनमा त्यहीँ कुरा सुुनाएँ । हामीले जर्मन भाषामा केही शब्दहरू बोल्यौँ । अन्नालाई भन्दा मलाई बढी सजिलो थियो जर्मन शब्दहरू बोल्न किनकि मलाई अङ्ग्रेजी राम्रो आउँथ्यो । अन्नाले अङ्ग्रेजी पढेकी थिइनन् । जर्मन र अङ्ग्रेजीमा धेरै शब्दहरू उस्ताउस्तै लाग्छ । जस्तै अङ्ग्रेजीमा बाबु, आमा, दाजुभाइ भन्नलाई फादर, मदर, ब्रदर, सिस्टर भन्छन् जर्मन भाषामा फातर, मुतर, ब्रुदर, स्वेस्तर र पानीलाई अङ्ग्रेजीमा ‘वाटर’ भनिन्छ भने जर्मनीमा ‘वासर’ भनिन्छ । ‘गुड मर्नि·’ लाई ‘गुट मर्गेन’ ‘गुड नाईट’ लाई ‘गुट नाख्त’ आदि भनिन्छ । मैले जर्मन शब्दलाई सजिलै उच्चारण गरेको देख्दा अन्नालाई अचम्म लाग्यो र सोधिन् “अरु के–के भाषा आउँछ मलाई ।”
मैले भने, “नेपाल भाषा मेरो “मदर ट·” हो र हामीकहाँ ‘खस’ भाषालाई नेपाली भनिन्छ । ‘नेपाली’ भन्ने खस भाषा अथवा ‘पर्वते’ भाषा हिन्दी भाषासँग धेरै मिल्छ र हिन्दी भाषा ‘संस्कृत’ भाषाबाट आएको हो ।
“तपार्इँलाई संस्कृत भाषा पनि आउँछ र ?” मैले भनेँ मेरो मातृभाषापछि मैले पढेको संस्कृत भाषा नै हो । म १०÷१२ वर्ष हुँदा तीनचार वर्ष संस्कृत पढेको थिएँ र १४÷१५ वर्ष हुँदा ११÷१२ कक्षासम्मको संस्कृत पढेको थिएँ । तर, हामीकहाँ संस्कृत पढ्ने लेख्ने र व्यवहारमा कर्मकाण्ड गर्ने बाहुनमात्र भएको कारण मैले संस्कृत पढ्न बीचैमा छोड्नु परेको थियो । अन्ना पेट्रोभ्नाले मेरो यो कुरा सुन्दा धेरै अचम्म मानिन् । सोभियत रुसमा त्यसबेला कुनै जातभात थिएन । हामीकहाँ अहिले पनि जातभात र तल्लो जात माथिल्लो जात विद्यमान छन् । यही जातभातमा हाम्रो धर्म, संस्कृति र सामाजिक जीवन चलिरहेको छ । एक जातले अर्को जातको हातबाट खान नहुने, एक जातको केटोले अर्को जातकी केटीलाई विवाह गर्न नहुने र गरेमा सामाजिक बहिष्कार हुने गर्छ भन्ने कुरा सुन्दा अन्ना पेट्रोभ्नालाई यी कुरा पत्यार लागेन र हुनसक्दैन यस्तो कुरा संसारमा रहेछ भनी मलाई प्रश्न गरिन् ।
“अब तपाईँ के गर्नुहुन्छ त राज ?” तपाईँले त आफ्नो जातको होइन, अझ आफ्नो देशको होइन बरु कुनै जात नभएको एक विदेशी केटीसँग विवाह गर्नुभएको छ र दुई सन्तान पनि पाइसक्नुभएको छ ।
मैले भने, “हो अन्ना, मलाई धेरै समस्या हुनेछ म नेपाल जाँदा । तर, केही चिन्ता छैन । जस्तोसुकै परिस्थिति आए पनि म भोग्न तयार छु र ती समस्याहरू सामना गर्न तयार भएर बसेको छु ।” अहिले त्यसको बारेमा मैले सोचेको पनि छैन र सोच्नु पनि व्यर्थ छ । “त्यो त हो, तर पनि तपाईँको कुरा सुन्दा मलाई धेरै अचम्म लागिरहेको छ र मैले पचाउन सकेको छैन यस्ता कुराहरू । एउटा जातको मान्छेले छोएको खाना अर्काे जातले खान नहुने कस्तो अचम्म ¤”
“हो त्यतिमात्र होइन, एउटा तल्लो भनिने जातको मान्छेले छोएको पानीसमेत खान मान्दैनन् तथाकथित ठूला जातका मान्छेहरू मैले भनेँ । तर, के गर्नु यही जातभात र धर्म संस्कृतिको कुरालाई लिएर भारत र पाकिस्तानबीच तीनतीन वटा ठूलठूला लडाइँ र युद्ध भए हाम्रै आँखा अगाडि र लाखौँलाख निर्दाेष जनता मरे धर्मको नाममा । लाखौँ लाख जनता शोषित उत्पीडित छन् हाम्रो देशमा यो जातभातको नाममा । तपार्इँहरूको देशमा शोषित पीडित जनताको हितमा महान अक्टोबर क्रान्ति गरियो । यहाँ लाखौँ करोडौँ निर्दाेष निरीह मानिसहरू मरे राजनीतिक व्यवस्था सुधार्नको लागि । मेरो कुरा सुन्दै गर्दा अन्ना पेट्रोभ्नाका दुवै आँखाहरू आँसुले भर्दै गरेको मैले देखेँ र म उनको अनुहार एकटकले हेर्दै रहेँ ।
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *