भर्खरै :

कोभिड–१९ को आर्थिक प्रभाव प्रक्षेपण

काठमाडौँ । कोभिड–१९ को महामारीले एसियाली अर्थतन्त्रमाथि विभिन्न कोणबाट उल्लेखनीय प्रभाव पार्ने एसियाली विकास बैङ्कले जनाएको छ । घरेलु मागमा कमी, आपूर्ति अवरोध, स्वास्थ्यमा प्रभावसँगै यो महामारीले पर्यटन, व्यापारिक यात्रा, व्यापार र उत्पादनमा पनि ठूलो क्षति पुग्ने बैङ्कले विश्लेषण गरेको छ ।
आर्थिक क्षतिको परिमाण आगामी दिनमा महामारी कसरी अघि बढ्ला भन्नेमा निर्भर रहने भन्दै बैङ्कले तर त्यो दिशा भने अझै पनि अनिश्चित रहेको बताएको छ । तथापि यसले विश्वको कुल गार्हस्थ उत्पादनको ०.१ देखि ०.४ प्रतिशतसम्म प्रभाव पार्ने विश्व बैङ्कले दाबी गरेको छ अर्थात् विश्व अर्थतन्त्रमा ७७ अर्बदेखि ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति यो महामारीले पारेको छ ।
जनवरीदेखि यता विभिन्न देशले यात्रामा लगाएको रोकले १ खर्ब ५६ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान बैङ्कले गरेको छ । विश्वको कुल गार्हस्थ उत्पादनको यो ०.२ प्रतिशत हुन्छ । चीन एक्लैले यो अवधिमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बैङ्कले बताएको छ । यति रकम भनेको चीनको कुल गार्हस्थ उत्पादनको ०.२ प्रतिशत हुन पुग्छ ।
“यो महामारीबारे धेरै कुरा अझै पनि संसारलाई थाहा भइसकेको छैन । यसको आर्थिक प्रभाव पनि अझै हामीलाई थाहा भइसकेको छैन”, एसियाली विकास बैङ्कका प्रमुख अर्थशास्त्री यासुयुकी सावादाले भन्नुभयो । “सम्भावित क्षतिको पूर्ण चित्र कोर्न धेरै अवस्थालाई एकै ठाउँमा राखेर विश्लेषण गर्न जरूरी छ । यो विश्लेषणले सरकारहरूलाई महामारीको मानवीय तथा आर्थिक क्षति न्यून गर्न प्रस्ट र प्रभावकारी काम गर्न मद्दत पुग्नेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो ।
कोभिड–१९ को पछिल्लो प्रभाव
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार शुक्रबारसम्ममा कोभिड–१९ को कारण चीनबाहिर १४ हजार ७७० सङ्क्रमित प्रमाणित भएका छन् । मर्नेको सङ्ख्या २६७ नाघेको छ । पछिल्लो २४ घन्टामा चीनबाहिर रोगको नयाँ सङ्क्रमितको सङ्ख्या २ हजार ९८ पुगेको छ । बितेका २४ घन्टामा बोस्निया हर्जगोभिना, गिल्ब्राटर, हङ्गेरी, स्लोभानिया र प्यालेस्टाइन सङ्क्रमण भेटिएका नयाँ देशमा बनेका छन् । दक्षिण कोरियामा शुक्रबार थप ५१८ जना सङ्क्रमित फेला परेका छन् । इटालीमा शुक्रबार १०७ जना थप सङ्क्रमित प्रमाणित भएका छन् । इरानमा १०७ र फ्रान्समा ४२३ जना थप नयाँ सङ्क्रमित प्रमाणित भएका छन् । संरा अमेरिकामा यो रोगको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १२ पुगेको छ ।
यता कोभिड–१९ सुरूमा फेला परेको चीनमा भने क्रमशः सङ्क्रमण नियन्त्रण हुँदै गएको छ । शुक्रबार चीनमा १४३ जना नयाँ सङ्क्रमित फेला परे । बिहीबार तीस जनाको निधन भयो । मर्नेमा २९ जना हुपेई प्रान्तका छन् भने एकजना हेनान प्रान्तको रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । बिहीबार चीनबाट १ हजार ६८१ जना सङ्क्रमित रोग निको भएर घर फर्केका छन् । बिहीबारसम्ममा ८० हजार ५५२ जना चिनियाँ यो रोगबाट सङ्क्रमित भए र मर्नेको सङ्ख्या ३ हजार ४२ मै स्थिर रहेको छ ।
सी चिनफिङको सक्रियता
चीनका राष्ट्रपति सी चिनफिङले गरिबीमाथि ‘पूर्ण विजय’को लागि कोभिड–१९ भाइरसको महामारीका प्रभावलाई पराजीत गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार चीनमा आयोजित गरिबी निवारणमाथि विजयसम्बन्धी विचार गोष्ठीमा उहाँले यस्तो आशावादी धारणा व्यक्त गर्नुभएको हो ।
आफ्नो मन्तव्यमा राष्ट्रपति सीले सन् २०२० सम्म वर्तमान मापदण्डबमोजिम गरिबीको रेखामुनि रहेका सम्पूर्ण जनता विपन्नताबाट मुक्त हुनु नै केन्द्रीय समितिले समस्त चिनियाँ जनतासमक्ष गरेको पवित्र र गम्भीर वचनबद्धता रहेको औँल्याउनुभयो । “त्यसैले त्यो लक्ष्यलाई निर्धारित समयअनुसार साकार तुल्याउनुपर्छ” उहाँले भन्नुभयो ।
सीका अनुसार, विभिन्न तहका सरकार र पार्टी समितिले आफ्नो वचनबद्धता र अठोटलाई नबिर्सनुका साथै विश्वासलाई सुदृढ पारेर अथक प्रयासमार्फत विपन्नताबाट मुक्ति हुने र कठिनाइलाई जित्ने प्रक्रिया अघि बढाउनुपर्छ । यसका अतिरिक्त एनसीपी रोगको नकारात्मक असरलाई जितेर दृढताका साथ गरिबीबाट मुक्ति तथा कठिनाइलाई जित्ने लडाइँमा अन्तिम विजय प्राप्त गर्नुपर्ने आग्रह उहाँले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *