यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुनिता गाइसी
महिला विभिन्न नामले पुकारिन्छन् । कसैले लक्ष्मी त कसैले सरस्वती । यसरी धार्मिकरूपमा उच्च स्थानमा राखेर पुजे पनि व्यवहारमा भने अझै महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्छ । यो लेखमा नेपाली महिलाको पहिला र अहिलेको अवस्थाबारे केही चर्चा गर्ने जमर्को गरेकी छु ।
पहिले–पहिले महिलाहरू घरको चारघेराभित्र सीमित थिए । शैक्षिक क्षेत्रमा पछाडि परेकाले महिलाहरू हरेक क्षेत्रमा पछाडि थिए । सामाजिक सोचाइ पनि महिलालाई दबाउने हिसाबले बनाइएको देखिन्छ । पोथी बासेको राम्रोे हुन्न भनिन्थ्यो । कतै पोथी कुखुरा बासे त्यसलाई दैलोमा राखेर काट्ने अनि घरको धुरी कटाउने चलन थियो । त्यस्तै महिलाको मनमा कुरा राख्न सक्दैन भन्ने अवैज्ञानिक मान्यता समाजमा थियो । धेरै हाँस्ने महिला शीलवान होइन भन्ने सोचाइ थियो ।
त्यत्तिबेलाको संयुतm पारिवारिक ढाँचाले पनि महिलालाई केही दबाएको देखिन्छ । परिवारका जेठाबाठा पुरुष सदस्यले घरको सम्पूर्ण निर्णय गर्ने र महिलाहरू यो प्रक्रियाबाट टाढा हुने हुनाले परिवारमा पुरुषको स्थान माथि हुन्थ्यो । महिला बिहान ४ बजेदेखि बेलुका १०÷११ बजेसम्म घरायसी काममा व्यस्त हुनुपथ्र्यो । यसरी दिनको १८–१९ घण्टा काम गर्ने महिलाले प्रत्यक्षरूपमा पैसा नकमाए पनि अप्रत्यक्षरूपमा घर बाहिरिने पैसा जोगाएको कुरा कसैले वास्ता गरेको हँुदैन ।
महिला घरायसी हिंसाको शिकार हुने गरेका छन् । घरपरिवारले दिएको पीडा र चोटलाई पनि प्रसाद ठानी सहर्ष स्वीकार गर्ने बाध्यता पहिलाका महिलामा थियो । केही कुरा चोख्याउन सुन पानी हाल्नुपर्छ तर सुनैको गरगहनाले छप्पकै भएकी नारी पर सर्दा कहिले शुद्ध मानिँदैन । समाजमा व्याप्त कुप्रथा छाउपडी, देउकी, झुमा इत्यादिले समाजलाई नराम्रोसँग गाँजेको छ । सबै प्रथा नराम्रा छैनन् । कतिपय राम्रा प्रथा र रीतिथितिलाई हामीले अगाडि बढाउनुपर्ने खालका पनि छन् ।
हिजोको तुलनामा आजका महिलाहरूको अवस्था भने केही सुध्रिएको देखिन्छ । नेपालको कुल जनसङ्ख्याका हिसाबले ५१.५ प्रतिशत महिला छन् । २०६८ को जनगणनाले महिलाको साक्षरता प्रतिशत ५७ प्रतिशत छ । घरको चुलाचौकामा मात्र सीमित महिला अहिले विभिन्न क्षेत्रमा पुरुषसँगै काँधमा काँध मिलाई अघि बढेका छन् । पहिले पुरुषमात्र सहभागी हुने चिकित्सा क्षेत्र, पाइलट, वैज्ञानिक परीक्षण, सेना, सुरक्षा क्षेत्र, विभिन्न कार्यालयमा आदिमा हाल महिला पनि सहभागी हुनथालेका छन् ।
हाल महिलाले पनि पैतृक सम्पतिमा छोरासरह अधिकार पाएका छन् । त्यस्तै राज्यको उच्च पददेखि स्थानीय तहसम्म पनि नेतृत्वदायी पदमध्ये कम्तीमा एउटा÷एउटा पदमा महिला अनिवार्य हुनुपर्ने कानुनी प्रावधानले महिलाको पहँुच बढ्दै गएको देखिन्छ ।
आज महिलाहरूले पनि हरेक क्षेत्रमा चासो दिनु जरुरी छ । नेपालको संविधान २०७२ को धारा ३८ मा महिला हकको व्यवस्था रहेको छ । तर, कतिपय पढेलेखेका महिलाहरू पनि यसबारे अनभिज्ञ छन् । सरकारले महिला आरक्षणको व्यवस्था गरेसँगै सरकारी सेवामा महिलाको सङ्ख्या बढ्नुले महिलाको अवस्थामा सुधारको सङ्केत देखिएको छ । केही स्थानीय निकायले छोरीको भ्रुण हत्या हुने क्रम बढेसँगै छोरी जन्माउने आमालाई १ केजी घ्यू, दस हजार नगद र जन्मेकी छोरीलाई १ लाख रुपैयाँको व्यवस्था गरेको छ । यो स्वागतयोग्य कदम हो तर यसले समस्याको पूर्ण समाधान गर्नसक्दैन । महिला र पुरुषको भेदभाव बिस्तारै कम हँुदै गएको छ ।
आजका शिक्षित नारीले घर व्यवहारसँगै बाहिरी काम पनि सम्हालेका छन् । घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ । तब परिवार, समाज र देशको नै चौतर्फी विकास हुन्छ । महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । महिलाको प्रगतिमा पुरुषको पनि त्यतिकै ठूलो हात छ । महिलालाई अगाडि बढाउन पुरुषले पनि साथ दिनुपर्दछ । अनिमात्र उन्नत समाज बन्नसक्छ ।
(लेखक शिक्षिका हुनुहुन्छ)
Leave a Reply