भर्खरै :

वागीश्वरी र सरस्वती थाकलमठले पाए गाडी

हेटौँडा, २४ फागुन । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयबाट सञ्चालित सामुदायिक विद्यालय बस सेवा कार्यक्रमअन्तर्गत भक्तपुरको वागीश्वरी माविले बस अनुदान प्राप्त गर्ने भएको छ । मन्त्रालय, सम्बन्धित स्थानीय सरकारका प्रतिनिधि र विद्यालयबीच हेटाँैडास्थित मन्त्रालयको सभाकक्षमा शुक्रबार त्रिपक्षीयरूपमा सम्पन्न हस्ताक्षर एवम् अनुदान सम्झौता कार्यक्रममा भक्तपुरको वागीश्वरी मावि, च्याम्हासिंह र सरस्वती मावि, थाकलमठलगायत २५ वटा विभिन्न सामुदायिक विद्यालयहरूलाई बस प्रदान गर्ने घोषणा गरिएको हो ।
सामाजिक विकासमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुरको विद्यालयको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष रवीन्द्र ज्याख्व र नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य छोरीमैया सुजखूले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा मन्त्री दुलालले प्रदेशअन्तर्गतका १३ वटा जिल्लाहरूमा ६ हजार ९ सय वटा सामुदायिक विद्यालयहरू रहेको उल्लेख गर्दै राज्यको लगानीमा स्थापित विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गरी अभिभावकहरूमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सरकारले विशेष अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले प्रदेशभित्रका १ हजार ५ सयवटा विद्यालयहरूबाट बस सेवा प्राप्तिका लागि आवेदन परेकामध्ये १० जिल्लाका उत्कृष्ट २५ वटा विद्यालयहरू छनोट गरी बस सेवा सम्झौता गरिएको बताउनुभयो ।
सामाजिक विकास महाशाखा प्रमुख दीपेन्द्र सुवेदीले विद्यालय बस सेवा कार्यक्रमअन्तर्गत छनोट भएका विद्यालयहरूलाई मन्त्रालयको तर्फबाट एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गर्ने र बस खरिदका लागि कर छुटको व्यवस्था मिलाइदिने जानकारी दिनुभयो । कम्तीमा ४२ सीट क्षमताको बस खरिद प्रक्रिया भने सम्बन्धित विद्यालयले नै अघि बढाउनुपर्ने उहाँको कथन थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूको प्रतिनिधित्व गर्दै वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले सामुदायिक विद्यालयप्रति अभिभावकहरूको विश्वास बढाउने अभियानस्वरुप प्रदेश मन्त्रालयले बस सेवा प्रदान गर्न लागेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । स्थानीय राजनैतिक अग्रजहरूको साथ, अभिभावकहरूको सहयोग र विद्यालयका शिक्षक कर्मचारीहरूको अथक मेहनतको प्रतिफलस्वरुप हाल वागीश्वरी मावि ३ हजार ३ सत्न्दा बढी विद्यार्थी सङ्ख्या रहेको र यो वर्ष विद्यालयबाट २५८ जना विद्यार्थीले एसईई परीक्षा दिने तयारी गरिरहेको अवगत गराउनुभयो ।
कालिका गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेल (अधिकारी) र सेतीदेवी मावि, सिन्धुपाल्चोकका कृष्णप्रसाद सिवाकोटीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक स्तरोन्नतिका लागि स्थानीय सरकारहरूलाई आवश्यक बजेट पठाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरू प्रदेश सरकारबाट प्राप्त हुने बस अनुदानबाट खुसी देखिए पनि बस खरिद प्रक्रियाबारे अन्योल व्यक्त गर्दै थिए । त्यस्तै विकट ठाउँका विद्यालयहरूले बस सेवा सञ्चालन गर्न चुनौतीपूर्ण हुने धारणा पनि व्यक्त भएको पाइयो । ‘सामुदायिक विद्यालयलाई प्रदान गरिएको बस कहीँ सेतो हात्ती पाल्नेजस्तै दुःख हुने त होइन ?’ केही विद्यालयका प्रअहरूले शङ्का व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *