भर्खरै :

कोरोना भाइरसबारे जानकारी कार्यक्रम

भक्तपुर, २४ फागुन । कोरोना भाइरसको सन्त्रास फैलिएको र सरकारले संसद्बाट पारित गर्न खोजेको एमसीसी सम्झौताको चर्चा चुलिएको बेला भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपाय तथा सतर्कताका उपाय र एमसीसी सम्झौता भए देशको भविष्य के होला भन्ने दुई विषयबारे कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् ख्वप कलेजका परजीवी विज्ञानका शिक्षक सरोजराज गोसाईले वायु प्रदूषणको कारण हावाबाट सर्ने रोग बढेको बताउँदै काठमाडौँ उपत्यकामा अनियन्त्रित जनसङ्ख्या वृद्धि नरोकिए कोरोना भाइरसजस्तो कुनै पनि परजीवीले कल्पना गर्न नसकिने दुर्घटना निम्त्याउन सक्ने धारणा राख्नुभयो ।
उहाँले सरकारप्रति भरोसा नहुँदा र पैसाको निम्ति मर्ने पुँजीवादी संस्कृतिले गर्दा जनतामा रोगभन्दा बढी अभावको सन्त्रास फैलिएको भन्दै सरकार आफैँ कानुनमा नबाधिँदा कानुनको पालना गराउन असमर्थ भएको विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको धैर्य, साहस, एकता तथा सुझबुझको विश्वभर प्रशंसा भएको उल्लेख गर्दै नेपालमा कम्युनिस्ट नामको पार्टीको नेतृत्वमा सरकार भएर पनि रोग देखा नपर्दै बजारमा कृत्रिम अभाव तथा कालोबजारी देखिनु लज्जास्पद भएको तर्क गर्नुभयो ।
उहाँले जनताको ध्यान कोरोना भाइरसपट्टि गइरहेको बेला देशघाती एमसीसी सम्झौता पारित गर्ने खतरा भएको भन्दै खबरदारी आवश्यक भएको विचार राख्नुभयो । केन्द्रीय सदस्य गोसाईले एमसीसी सम्झौता पारित भएमा नेपाल साम्राज्यवादी देशहरूको युद्धभूमि बन्ने खतरा रहेको भन्दै युद्धको परिणाम कसैले पनि कल्पना गर्न नसक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा डाक्टर बालकृष्ण चाँगुभारीले कोरोना भाइरस सङ्क्रमण हुनेबित्तिकै ज्यान जानेजस्तो त्रास फैलिएको भन्दै रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषिलो खानेकुरा खानुपर्ने विचार राख्नुभयो । उहाँले दिनको ६–७ पटक साबुन पानीले राम्रोसँग हात धुने, हात नधोएरै मुख, नाक वा आँखा चलाउने बानी हटाउनुपर्ने, हाँछुयु गर्दा रुमालले छोप्ने बानी गर्नुपर्ने बताउनुभयो ।
रोग लागे महँगो औषधि खान नपर्ने तर आराम गर्नुपर्ने भन्दै डा. चाँगुभारीले रोग लाग्नबाट बच्न भीडमा नजाने र केटाकेटी तथा बुढाबुढीलाई सुरक्षित राख्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर साकोसको युवा उपसमितिको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापति र सदस्य विकास प्रजापतिले पनि आफ्नो विचार राख्नुभएको थियो ।
सोही संस्थाको महिला उपसमितिको आयोजनामा एकहप्ते पाक शिक्षा तालिम सुरु भयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले तालिम लिएर सीपको विकास गरी आय आर्जनमा विकास गर्न सकिने र संस्थाले यस्ता तालिम निरन्तररूपमा गर्दै आइरहेको जानकारी गराउनुभयो । प्रशिक्षक सुनिल सुवालले आफूमा भएको सीप बाँड्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उपसमितिका संयोजक एवम् सभापति रामेश्वरी कोजूले पाक शिक्षामा पीज्जा, ममः, अमेरिकन चप्सी, थुक्पा, चाउमीन, सुपलगायतको परिकार बनाउन सिकाइने जानकारी दिनुभयो ।
त्यस्तै शनिबार संस्थाको शिक्षा उपसमितिको आयोजनामा नियमित शिक्षा शिविर सम्पन भयो । संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्था अगाडि बढेकोमा सम्पूर्ण सदस्यहरूको उत्तिकै साथ र सहयोग रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति लक्ष्मीप्रसाद कुसीले संस्थामा सदस्यले आफ्नो स्वार्थपूर्तिका लागि नियमविपरीतका प्रस्तावहरू राख्न नहुने बताउनुभयो । उपसमितिका रामदेवी मानन्धरले स्वागत गर्नुभएको कार्यक्रममा का.मु. व्यवस्थापक सत्यनारायण सायजूले संस्थाको नीति नियम तथा सेवा सुविधाबारे प्रस्तुतीकरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *