निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
नेपाल मजदुर किसान पार्टीको तर्फबाट चाँगुनारायण नगरपालिकाका प्रमुख पदका उम्मेदवार श्री न्हुछेभक्त फोजू भक्तपुर जिल्लामा एक सुपरिचित नाम हो । विसं २०२२ सालमा पिता मंगललाल फोजू र आमा चन्द्रमाया फोजूका सुपुत्रको रूपमा जन्मनुभएका फोजू विसं २०३५ सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध भई आफ्नो राजनीतिक जीवनको आरम्भ गर्नुभयो ।
उहाँ नेक्राविसंघ छालिङअन्तर्गत प्रारम्भिक समितिको अध्यक्ष हुनुभयो । विसं २०३९ देखि २०४५ सालसम्म उहाँ नेक्राविसंघ छालिङ गाउँ समितिको अध्यक्ष र २०४१–४२ सालमा भक्तपुर जिल्ला समितिको सदस्य रहनुभयो ।
उहाँले २०४०–४१ सालदेखि लगातार तीन दशकसम्म नेपाल मजदुर किसान पार्टी छालिङको अध्यक्षको भूमिकामा रही जनताको सेवामा सहभागी रहनुभयो । चाँगुनारायण नगरपालिकाको घोषणासँगै हाल फोजू नेमकिपा चाँगुनारायण नगर समितिका संयोजक हुनुहुन्छ ।
चालीसको दशकदेखि हालसम्म पनि उहाँ नेमकिपा भक्तपुर जिल्ला समितिका विभिन्न पदमा रही पार्टी विकासमा योगदान गर्नुभयो ।
जनताको घरदैलो पुगी जनताका समस्या पहिल्याई समाधानको लागि अहोरात्र लागिपर्ने फोजू राजनीतिक गतिविधिमा संलग्न भएयता नेमकिपाले गरेका सबै राजनीतिक, आर्थिक तथा सामाजिक आन्दोलनमा सक्रियतापूर्वक लाग्नुभयो । मोहियानी हक सुरक्षा आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलनलगायत राजनीतिक आन्दोलनमा फोजू सक्रियतापूर्वक सहभागी हुनुभयो । निरंकुश पञ्चायती बन्दोबस्तविरुद्ध बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न जनआन्दोलन र प्रतिगमनविरोधी आन्दोलनमा पनि उहाँ सक्रियतापूर्वक सहभागी बन्नुभयो । तात्कालीन पञ्चायत राज्यसत्ताले नेपाल मजदुर किसान संगठन समुल नष्ट गर्न रचेको भक्तपुर काण्डको समयमा फोजूले लामो समय कष्टसाध्य भूमिगत जीवन बिताउनुप¥यो । पार्टीले आयोजना गरेका हरेक आन्दोलन र गतिविधिमा एक जना अनुशासित र जिम्मेवार कार्यकर्ताको रुपमा सहभागी हँुदै आउनुभएको छ ।
विसं २०४३ सालमा पार्टीको निर्देशनमा शिक्षकको जागिरबाट राजीनामा दिई छालिङ गाउँ पञ्चायतमा प्रधानपञ्चको लागि उम्मेदवारी दिनुभयो । चाँगुनारायण नगरपालिकाको लागि प्रमुख पदको उम्मेदवारी दिन उहाँले साविकको छालिङ गाविस गुरीस्थित गणेश माविको प्रधानाध्यापक पदबाट राजीनामा दिई देश र जनताको सेवामा आफ्ना आगामी दिन बिताउने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।
भक्तपुर जिल्लाका ग्रामीण भेगमा शिक्षा प्रचारको लागि विद्यालयहरू बनाउनमा न्हुछेभक्त फोजू अग्रसर रहनुभयो । २०३७ सालमा गुरीको गणेश प्रावि(हाल मावि) मा स्थापना भयो । सो विद्यालयको उहाँ संस्थापक शिक्षक हुनुहुन्छ । साथै नगरकोटको चेतना प्रावि नगरकोट, तौथली प्रावि नगरकोट, गणेश प्रावि झौखेल, चन्द्रसूर्य निमावि गुण्डुको स्थापना र सञ्चालनमा उहाँ अग्रसर हुनुभयो । साथै ज्योति मावि किवाचोक र गणेश मावि सिपाडोलको सञ्चालनमा उहाँले सहयोगी भूमिका निभाउँदै आउनुभएको छ ।
सामाजिक गतिविधि र राजनीतिक गतिविधिलाई सँगै लानुपर्ने मान्यता बोक्नुभएका न्हुछेभक्त फोजू छालिङ सामुदायिक अध्ययन केन्द्र, छालिङ युवा क्लव, नेपाल महिला कल्याण संघ, छालिङ गुरी खानेपानी आयोजनालगायतका संस्थाहरूमा सल्लाहकारको रूपमा क्रियाशील हुनुहुन्छ । साथै भक्तपुरका विभिन्न गाविसहरूमा खानेपानी, सडक, सिंचाई, विद्यालयस्तर वृद्धिमा उहाँले महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपश्चात उहाँ भक्तपुरका सबै गाउँ–गाउँ पुगेर जनताका मर्का बुझ्ने र सक्दो भौतिक तथा मानसिक सहयोग गर्ने काममा दत्तचित्त भएर लाग्नुभयो ।
विभिन्न सरकारी निकायहरूमा पुगेर जनताका समस्याहरू समाधान गर्न अग्रसर हुनमै फोजूको अधिकांश दिन बित्ने गरेको छ ।
मिलनसार, शिक्षा र विकासप्रेमी, जनतालाई चित्त बुझाएर काम गर्नमा सिपालु समाजसेवी छविका न्हुछेभक्त फोजूले जुनकुनै काममा आफ्नो निजी स्वार्थलाई भन्दा बृहत्तर सामूहिक हितलाई प्रधानता दिने गर्नुभएको छ ।
राजनीतिक आन्दोलनका क्रममा उहाँले पटक पटक हिरासत जीवन बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीको मादल चिन्हमा छाप लगाई पार्टीको तर्फबाट प्रमुख पदका उम्मेदवार न्हुछेभक्त फोजूलगायत सम्पूर्ण उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी बनाऔं ।
Leave a Reply