भर्खरै :

बढ्दो मानव बेचबिखन नियन्त्रणमा के सरकार गम्भीर छ ?

–माया लामा, काभ्रे
नेपालमा वैदेशिक रोजगारलगायत विभिन्न नाममा मानव बेचबिखन हुने गरेको र त्यसरी बेचबिखन हुने घटना दिनप्रतिदिन बढ्दै गएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार २०७५÷०७६ सालमा १७५ वटा मानव बेचबिखनसम्बन्धी उजुरीहरू प्रहरीमा दर्ता भएका थिए । तर, सोही समयावधिमा नेपालका समस्याग्रसित ४२ जिल्लामा ५ हजार १७३ जना हराए । यस अवधिमा देशभरिबाट १ हजार २५७ जना बालबालिकाहरू हराएको आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा जनाएको छ । तर, प्रतिवेदनले हराएका व्यक्तिहरूमध्ये अधिकांश बेचबिखनमा परेको हुनसक्ने आँकलन गरेको छ । मानव बेचबिखनलाई जनमानसले सामान्य तवरमा अन्तरदेशीय र यौन व्यापारसँग जोडेर हेर्ने हुनाले बेचबिखनको मुद्दाको सङ्ख्या थोरै देखिएको कुरा उक्त प्रतिवेदनमा लेखिएको छ ।
विभिन्न नेपाली र विदेशी अनुसन्धानकर्ताहरूले नेपालमा गरेको अनुसन्धानमा भने यस्तो मानव बेचबिखन अन्तरदेशीयमात्र नभएर देशभित्रै पनि भइरहेको देखिएको छ । मानव बेचबिखन महिला हिँसासँग मात्र जोडिएको नभई पुरुषसमेत बेचबिखनमा परेको अनुसन्धानबाट देखिएको छ । नेपालमा मानव बेचबिखन अन्तरदेशीयमात्रै हुन्छ भन्नेखाले विश्वास हावी छ । तर, नेपालभित्रै आन्तरिक बेचबिखन एकदमै बढ्दै गएको अवस्था छ । धेरैजसो अभियानहरूले प्रायः अन्तरदेशीय बेचबिखनबारे मात्रै सचेतना गराउने हुँदा धेरै मानिसहरूले आन्तरिक बेचबिखनबारे थाहा पाउँदैनन् । यो कारणले गर्दा मानिसहरू आफूलाई असुरक्षित बनाउने कुराहरूमा ध्यान दिँदैनन् । नेपाल र भारतमा मृगौला, कलेजो, मुटुलगायत मानव अङ्ग प्रत्यारोपणको सम्भावना बढेपछि मानव अङ्ग निकालेर बेचबिखनका लागि समेत मानव बेचबिखनजस्तो घृणित अपराध बढेकोमा कुनै शङ्का छैन । बेचबिखनमा नपर्न व्यक्ति, परिवार र समुदायको सतर्कता त जरुरी नै छ तर बेचबिखन नियन्त्रण गर्नमा सरकार र समग्र राज्य नै गम्भीर र चनाखो हुनुपर्छ । राज्यका निकायको गम्भीरता र सक्रियता भएमा मानव दलाल र तस्करहरूको मनोबल आजको जस्तो उठ्ने छैन । बढ्दो मानव बेचबिखन नियन्त्रणमा के वर्तमान सरकार गम्भीर छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *