भर्खरै :

पुँजीवादी र समाजवादी समाजका महिला

८ मार्चको दिन विश्वभर श्रमिक महिला दिवस मनाइयो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण ठूला सभा तथा सम्मेलन र प्रदर्शन भएनन् । तर, महिलाको स्वतन्त्रताबारे अनेक बहस भने चालू नै छ । विगतजस्तै यो वर्ष पनि महिला दिवस दुई किसिमले मनाएको देखियो, पुँजीवादी र समाजवादीखाले । पुँजीवादी विचार राख्ने महिलाले मनाउने महिला दिवस र समाजवादी दृष्टिकोण राख्ने महिलाले मनाएको दिवसमा के फरक छ त ? यसको सैद्धान्तिक तथा व्यावहारिक बहस अगाडि बढाउनुपर्ने देखिन्छ । महिला मुक्तिको प्रश्न अझै किन टड्कारो छ त ? वास्तविक महिला मुक्ति कसरी हुनसक्छ भन्नेबारे व्यापक अन्तरक्रिया हुनु आवश्यक छ ।
विश्व महिला आन्दोलनले धेरै सङ्घर्षमा जित हासिल गर्दैआएको छ । सन् १९११ मा दुईवटा देशका महिलाले मात्र मताअधिकार पाएका थिए । आज विश्वका अधिकांश देशमा महिलाले मताअधिकार पाएका छन् । तर, विश्वभर महिलाले वास्तविक समानता पाए त ? निश्चय पनि केही युद्धहरूमा विजय प्राप्त भएको छ तर अन्तिम जित हासिल गर्न अझ धेरै बाँकी छ । महिला आन्दोलनले अझ ठूलठूला विजय र सफलताको निम्ति सक्रिय हुनुपर्ने खाँचो विभिन्न तथ्यले इङ्गित गर्छन् ।
प्रतिक्रियावादी, प्रतिगमनका पक्षपाति, सामन्तवादी एवम् पुँजीवादी बन्दोबस्तका पृष्ठपोषकहरूले श्रमिक महिला आन्दोलनलाई दबाउने वा कमजोर पार्ने प्रयास गरिरहेका छन् । विश्वमा साम्राज्यवादको जगजगी कायमै हुँदा शोषितपीडित श्रमिकवर्गका महिला झन् बढी उत्पीडित हुँदै छन् । पुँजीपतिवर्ग र पितृसत्ताको दोहोरो मारमा परेका श्रमिक महिला नयाँनयाँ शोषणमा परिरहेका छन् ।
विश्वमा महिलाको स्थिति
महिला आन्दोलनकै परिणामस्वरूप महिलाले अवश्य पनि केही अधिकार पाएका छन् । आज विश्वका करिब ७० देशका कानुनमा महिलालाई समान ज्याला दिनुपर्ने प्रावधान छ । विश्वका सवा सयजति देशले सुत्केरी बिदा सुनिश्चित गरेका छन् । यी सकारात्मक तथ्य भए पनि विश्वका गरिब तथा अशिक्षित मानिसमध्ये अहिले पनि महिला नै बढी छन् ।
के पुँजीवादी औद्योगिक देशका महिला स्वतन्त्र छन् ? के तिनीहरूले रोजगारीको समान अवसर पाउँछन् ? के तिनीहरू केटाकेटी जन्माउन र त्यसपछि निरन्तर काम गर्न स्वतन्त्र छन् ? यी प्रश्नको जवाफ सकारात्मक आउँदैन । विकसित भनिएका पुँजीवादी देशहरूमा महिला र पुरुषको पारिश्रमिक बराबर छैन । मध्यपूर्वमा ३० प्रतिशतभन्दा कम महिला रोजगार छन् । ती देशमा यौनहिंसा क्रम रोकिएको छैन । मानव बेचबिखनमा ८० प्रतिशत महिला पर्छन् । हरेक वर्ष ६ करोड केटीहरूको जबरजस्ती बालविवाह हुन्छ । अत्यन्तै सभ्य ठानिने युरोपका विकसित देशमा ४० देखि ५० प्रतिशत महिला आफ्नो कार्यस्थलमै यौन शोषणको सिकार हुन्छन् । मानवअधिकार र महिला स्वतन्त्रताको पहरेदार ठान्ने संरा अमेरिकामा हरेक ९ सेकेन्डमा एक महिला पुरुषको यातनाको सिकार हुन्छिन् ।
पुँजीवादको खराब विशेषता भन्नु नै यौन स्वच्छन्दता, झिलिमिली, तडकभडक, पैसा कमाउ प्रवृत्ति र शोषण मान्न सकिन्छ । ‘वेश्यावृत्ति’ पुँजीवादी समाजको विशेषता बनेको छ । पुँजीवादी समाजले नै महिलालाई देहव्यापार गर्न बाध्य बनाएको पाइन्छ । रोजगारीको व्यवस्था नहुँदा वा व्यक्तित्व विकासको अवसर नपाउँदा वा ‘बाँच्नको निम्तिको सङ्घर्षमा’ मानिस आफ्नो शरीर बेच्न बाध्य हुन्छन् । महिलालाई मानिसको रूपमा नलिई वस्तुको रूपमा लिने पुँजीवादी मानसिकताको कारण पनि यौन व्यापारले व्यापकता पाएको छ । आज खुलमखुला यौन व्यापार हुँदा पनि शासकहरू देख्यानदेख्यै वा मौन समर्थन गर्छन् । प्रत्येक दिन एक अर्ब महिलामाथि हिंसा र प्रत्येक चार सेकेन्डमा एक महिला बलात्कृत हुँदा पनि पुँजीवादी शासकहरू निर्लज्जतापूर्वक मुस्कुराइरहेका भेटिन्छन् ।
सामन्ती समाजको भाग्यवादी चिन्तनलाई पुँजीपतिवर्गले नाफा कमाउने माध्यम बनाएको छ । ईश्वर र भगवानजस्ता काल्पनिक धारणालाई मलजल गर्न पुँजीपतिवर्ग कम्मर कसेर लागिरहेको भेटिन्छ । धर्मलाई पनि व्यापारको माध्यम बनाउन पुँजीपतिहरू घम्साघम्सी गरिरहेका छन् । धार्मिक युद्ध एवम् द्वन्द्वको कारणसमेत महिला अपमानित, बलात्कृत तथा पीडित भएका उदाहरण बग्रेल्ती भेटिन्छन् ।
महिला मुक्ति कसरी सम्भव छ ?
श्रमिक महिलाका समस्या वर्गीय समस्यासँग जोडिएको हुन्छ । वर्गीय समस्याको समाधान नभई महिलाको मुक्ति सम्भव छैन । वर्गमा विभाजित समाजमा उपल्लो वर्गले तल्लो वर्गमाथिको शोषण कायम नै राखेको हुन्छ । जसको लाठी उसको भैँसी भनेझैँ, उत्पादनका साधन जसको हातमा छ, उसैले कानुन, नीति तथा नियम बनाउँछ । उत्पादनका साधन र उत्पादन सम्बन्धले नै संस्कृतिको निर्माणसमेत हुने गर्दछ । यस मानेमा सम्पत्तिमा निजी स्वामित्वको ठाउँमा सामूहिक स्वामित्वको व्यवस्थाबाट वर्गीय भेदभाव हट्दै जान्छ । उत्पादनका मुख्य–मुख्य साधनको सामाजिकीकरण भएपछि पितृसत्ताका समस्या पनि समाधान हुन्छन् । महिलाले पनि आत्मस्वाभिमानका साथ जिउन पाउँछन् ।
समाजवादी व्यवस्थाले महिलालाई स्वतन्त्र बनाउँछ । राजनीतिक नेतृत्व तहमा पुग्ने महिलाको हैसियतबाट तिनको चेतना तथा सक्रियताको मापन गर्नसकिन्छ । सन् २०११ डिसेम्बरमा गरिएको एक अध्ययनअनुसार राष्ट्रियसभामा महिलाको प्रतिनिधि प्रतिशतको आधारमा समाजवादी क्युवा तेस्रो स्थानमा पर्छ । अमेरिकी महादेशमै संरा अमेरिका ७८ औँ स्थानमा छ । संरा अमेरिकाको तल्लो सदनमा १६.८ प्रतिशत र सिनेटमा १७ प्रतिशत महिला सांसद छन् ।
पश्चिमा सञ्चारमाध्यमले चिनियाँ महिलाको स्थितिबारे जतिसुकै भ्रम फैलाए तापनि उनीहरूको अवस्था उच्चतर भएको तथ्यले स्पष्ट पार्छ । चीनको संसद्मा २२ प्रतिशत महिला छन् । सन् २०१० अक्टोबरको तथ्याङ्कअनुसार चीनमा १ अर्ब ३७ करोड मजदुर महिला छन् (यो सङ्ख्या कुल मजदुरको ४२.७ प्रतिशत हो) । जब कि सन् १९४९ को चिनियाँ क्रान्तिताका यो सङ्ख्या ६ लाख १० हजार (७.५ प्रतिशत) थियो । चिनियाँ क्रान्तिले महिलाको आयुदर ७५ वर्ष पु¥याएको छ, सन् १९५० मा त्यसको आधामात्र थियो ।
सन् १९५९ को क्रान्तिपूर्व ल्याटिन अमेरिकामात्र होइन बाँकी विश्वका महिलाजस्तै क्युवाली महिला सामन्तवादी एवम् पितृसत्तात्मक समाजबाट पीडित थिए । महिला दोस्रो दर्जाकै नागरिक बन्न विवश थिए । क्युवाको श्रमशक्तिमध्ये ६६ प्रतिशत महिला छन्, ७० प्रतिशतभन्दा बढी महिला व्यवसायमा लागेका छन् । शिक्षण पेशामा महिलाको सङ््ख्या बढी छ । ७२ प्रतिशत शिक्षक महिला नै छन् । क्रान्तिपूर्व २ हजार जनामात्र नर्स थिए भने अहिले त्यो ७९ हजार सङ््ख्या छ । ५१ प्रतिशत डाक्टर, ४३ प्रतिशत वैज्ञानिक, ३३ प्रतिशत प्रबन्धक, ७० प्रतिशत बैङ्क कारिन्दा महिला हुनुले समाजवादी क्रान्तिको उपादेयतालाई प्रस्ट पार्छ ।
शिक्षाको क्षेत्रमा क्युवाली महिला कुनै पनि अतिविकसित पुँजीवादी देशभन्दा कम छैनन् भन्ने तथ्याङ्कबाट देखिन्छ । ६२ प्रतिशत विश्वविद्यालय विद्यार्थीमा महिला छन् । ४९.५ प्रतिशत महिला स्नातक उत्तीर्ण छन्, विज्ञान सङ््कायमा ५० प्रतिशत महिला छन् भने समाजशास्त्र, मानविकी, चिकित्सा विज्ञान र शिक्षाशास्त्रमा ७० प्रतिशत विद्यार्थी महिला छन् ।
राजनीतिक क्षेत्रमा पनि महिलाको शक्ति कम आँक्न सकिँदैन । क्युवाको राष्ट्रियसभामा महिलाको उपस्थितिको हिसाबले विश्वमै पाँचौँ स्थानमा छन् – क्युवाली महिला । ३६ प्रतिशत सांसद राष्ट्रियसभामा उपस्थित छन् । १८ प्रतिशत मन्त्रिमण्डलमा, २३ प्रतिशत सहायकमन्त्री स्तरका महिला छन् । प्रान्तीयसभामा ३१ प्रतिशत महिला प्रतिनिधि छन् । ६२ प्रतिशत वकिल, ४९ प्रतिशत न्यायाधीश र सर्वाेच्च अदालतमा ४७ प्रतिशत महिला न्यायाधीश छन् । क्युवाली सैन्यशक्तिमा २० प्रतिशत महिला अधिकृत तहमा छन् । परिवार नियोजनलाई महिलाको मौलिक अधिकार मानिन्छ । ७७ प्रतिशत क्युवाली महिला कुनै न कुनै प्रकारको परिवार नियोजनका साधन प्रयोग गर्छन् तर संरा अमेरिकामा ७६ प्रतिशतमात्र छ । ल्याटिन अमेरिकामै सबभन्दा बढी आयुदर क्युवाली महिलाकै छ ।
नेपालको परिप्रेक्ष्यमा महिलाको जिम्मेवारी
हामी शिक्षित कहलिएका महिला अन्याय र शोषणको कुरा गर्छाैँ तर एकजुट हुन हच्किन्छौँ । समान कामको निम्ति समान ज्याला चाहियो, सुत्केरी बिदा चाहियो, दसौँ वर्षदेखि हामी अस्थायी छौँ, ज्यालादारीमै जागीरको जीवन बित्ने भयो, सुत्केरी भएपछि जागिरबाटै हात धुनुप¥यो, महिलाको कामको मूल्याङ्कन गरिएन, महिलालाई मुख्य जिम्मेवारी दिइएन, कार्यालयमै हामीलाई तल्लो स्तरको दुव्र्यवहार भयो, घरको जिम्मेवारीका कारण हामीले पढ्नेलेख्ने अवसर गुमायौँ आदि आवाज हामी महिला समयसमयमा उठाउँछौँ तर आफ्नो हकअधिकार स्थापित गर्न अग्रसर हुँदैनौँ ।
महिला सङ्घसङ्गठन भनेपछि हामी आफै नाक खुम्च्याउँछौँ, जुलुस–प्रदर्शनमा सहभागी हँुदैनौँ, आफ्नो कार्यालय वा कारखानाका समस्याबारे आवाज उठाउँदैनौँ, बैठक वा सभा–समारोह हुँदा हामी आफै भागीभागी हिँड्छौँ वा फुर्सद नभएको बहाना बनाउँछौँ, महिलाले नै महिलालाई हेलाहोचो गर्छाैँ, अनि हामी दुःख भयो भनेर आफै कराउँछौँ । अब हामी आफ्नो कमजोरीको गम्भीर समीक्षा गरौँ । महिलाको हकअधिकार अरूले ल्याइदिने होइन, महिलाकै पहल वा सक्रियता आवश्यक छ । पुँजीवादी एवम् सामन्तवादी शोषणका सम्पूर्ण हत्कण्डा हटाउन राजनीतिकरूपमा सचेत र सङ्गठित भई महिला वर्गीय मुक्ति आन्दोलनलाई अगाडि बढाउँदै लैजानु आजको एउटै विकल्प हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *