भर्खरै :

शिक्षामन्त्रीलाई लाज…!

‘अङ्क बढाउन विद्यार्थीमाथि अत्याचार’ आफ्नो विद्यालयले उत्कृष्ट नतिजा ल्याउँछ भनेर विज्ञापन गर्ने होडमा लागेका छन् विद्यालय, प्रताडित भइरहेका छन् बालबालिका, (नयाँ पत्रिका–२६ फागुन २०७६)
‘नयाँ पत्रिका’ ले ‘यातनाका शृङ्खला’ मा उल्लेख गरेको छ–
बैतडी–पिँडुलामा लठ्ठी बज्रिँदा विद्यार्थी चिच्याए, झन् ठोक्छु भनेपछि रुन सकेनन्,
पोखरा – गृहकार्य नगरेको भन्दै बिरामी विद्यार्थी कुटे शिक्षकले, पीडितले स्कूल छाडे,
रौतहट – विज्ञान शिक्षकसँग विद्यार्थीले नजानेको प्रश्न सोध्दा बीचमा किन बोलेको भन्दै शिक्षकले विद्यार्थीको आँखामै मुक्का हाने,
रुपन्देही –विद्यार्थीलाई लठ्ठीले कुट्दा आँखामा चोट लाग्यो, अदालतबाट धरौटीमा छुटेका शिक्षक सोही विद्यालयमा पढाउँदै,
कञ्चनपुर – अनुशासन सिकाउने भन्दै कुट्दा विद्यार्थीको मृत्यु, शिक्षकलाई १० वर्ष कैद,
विराटनगर – परीक्षामा विद्यार्थी फेल भएपछि शिक्षकले सुम्ला बस्नेगरी पाइपले हाने,
सिराहा – नेपालीको गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचियो ।
काठमाडौँमा कम अङ्क ल्याउने भन्दै शिक्षिकाले ३४ विद्यार्थीलाई हात चिर्न लगाइन् र
रोल्पामा –प्रार्थनामा ढिलो आएको भन्दै शिक्षिकाले कुर्सीको खुट्टाले प्रहार गर्दा १४ विद्यार्र्थी घाइते, पाँचको हात भाँचियो ।
पत्रिकाले विद्यालयको नाम, महिना, साल र शिक्षकशिक्षिका तथा विद्यार्थीको नामसमेत लेखेको छ, केही पीडित छात्र छात्राहरूको तस्वीर पनि छापेको छ ।
ती विद्यालयहरूका घटनाहरू छापामा आएका थिए र छन्, साथै अपराध गर्ने शिक्षक र शिक्षिकाहरूलाई सजाय पनि भएको छ तर घटनाहरू भइरहेकै छन् किन ?
के अपराधको सजाय हुँदैमा अपराध घटेको छ ? छैन । यसबारे शिक्षामन्त्रीको भनाइ के हो र अब के गर्ने हो भन्नेबारेमा पाठकहरू मन्त्रीको जवाफ पर्खिरहेका छन् । यी मन्त्रीहरू पञ्च र काङ्ग्रेस पार्टीका सदस्य होइनन् बरु एमाले र एमाओवादी भन्ने ‘कम्युनिस्ट’ पार्टीका अर्थात् प्रजातन्त्र र गणतन्त्रका मन्त्रीहरू हुन् । तिनले जनताको सामुन्ने खडा भएर उत्तर दिनु आवश्यक छ – जिम्मेवार पदमा बसेका हुँदा ।
विद्यालयमा पढाउनु घरको काम गर्नु होइन, देशको भविष्य बनाउने जिम्मेवारी लिएर शिक्षक बनेका छन् । ती शिक्षकलाई शिक्षामन्त्री वा सरकारले के – के सिकाएका छन् ? त्यसबारे जनता र पाठकहरू सुन्न र पढ्न चाहन्छन् । के ती विद्यालयका शिक्षक– शिक्षिकाहरूलाई के – कसरी उमेरअनुसारको शिक्षा दिनेबारे र बाल मनोविज्ञानबारे जानकारी दिइएको छ ?
ती शिक्षकहरूलाई आ–आफ्नो विषयको राम्रो जानकारी छ छैन भन्नेबारे परीक्षा लिइएको छ ? शिक्षकको लाइसेन्सको नाममा शिक्षा अधिकारीदेखि शिक्षामन्त्रीसम्म घूसको रकम पुगेको हो कि होइन ? राम्रो परीक्षाफल ल्याउने राम्रा – राम्रा विद्यालयका योग्य शिक्षकहरूलाई घूस नदिएको र घूस दिएकालाई ‘पास’ गराएका धेरै उदाहरणबारे व्यापक चर्चा चलेकै हो । के मन्त्रीको आफ्नो पार्टीका कार्यकर्तालाई शिक्षक बनाउन ‘परीक्षा’ र ‘लाइसेन्स’ को षड्यन्त्र गरिएको हो ? होइन भने यस्ता घटना शिक्षकहरूबाटै कसरी भए ? के ती शिक्षकहरूको मानसिक स्वास्थ्यबारे चिकित्सकसँग पनि सल्लाह लिने गरिएको छ ? होइन भने पागलखानामा राख्नुपर्ने वा मानसिक रोगको उपचार गर्नुपर्ने शिक्षकलाई जेलमा राखेर अन्य विद्यालयका मानसिक रोग भएका शिक्षिक शिक्षिकाबाट हुने यस्ता अप्रिय घटनाहरू कसरी रोक्न सकिएला ? बाल मनोविज्ञान र विद्यार्थीको भावनामा चोट पुग्ने व्यवहार शिक्षकहरूबाट हुनुहुन्न भन्नेबारे तालिमको बन्दोबस्त गर्ने काम शिक्षामन्त्रीको हो । विद्यालयहरूकै विषयमा अन्योल हुने शिक्षामन्त्रीलाई विश्वविद्यालयको बारे अन्योल हुनु स्वाभाविक छ । तर, हेर्नेलाई लाजको स्थिति ल्याउनु उचित मान्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *