भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा सजगता अपनाउन आग्रह

भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिकाले विश्वमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड –१९) बाट बच्न आवश्यक सजगता र सचेतता अपनाउन आग्रह गर्दै एक अपिल प्रकाशित गरेको छ ।
कोरोना भाइरस सर्ने तरिका, कोरोना भाइरसका लक्षण र नोवेल कोरोना भाइरसबाट बच्ने तरिकाबारे उल्लेख भएको सो अपिलमा नेपालमा अहिलेसम्म यो रोगबाट ठूलो समस्या देखिएको छैन, तथापि यो रोगको सम्भावित जोखिमबाट जोगिन उपाय अवलम्बन गर्नु बुद्धिमानी हुने उल्लेख गरिएको छ ।
कोरोना भाइरसबारे विभिन्न सञ्चार माध्यमहरूमा भ्रमात्मक तथा नकारात्मक सन्देश दिने समाचारहरू प्रकाशित भइरहेकोमा सर्वसाधारण जनतामा अनावश्यक तनाब बढेको उल्लेख भएको अपिलमा भनिएको छ, सरसफाइ, सन्तुलित खानपान र बानी व्यहोरामा ध्यान दिन सके यो रोगबाट बच्न सकिन्छ । यो रोगबाट सङ्क्रमितहरू उपचारपछि हजारौँको सङ्ख्यामा पूर्ण निको भएर अस्पतालबाट घर फर्केको दैनिकी तथ्याङ्क प्रकाशित भइरहेको छ ।
श्वास प्रश्वास प्रणालीमा असर गर्ने यो रोग बालबालिकादेखि वृद्धवृद्धा सबैमा लागे पनि विशेषतः दमखोकी, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगी तथा मिर्गौलासम्बन्धी रोग लागेका बिरामीहरू यो रोगबाट प्रभावित भएको देखिएको हुँदा रोगबाट जोगिन विशेष सतर्कता अपनाउन जरूरी भएको नपाबाट प्रकाशित अपिलमा उल्लेख छ ।
चीनको उहानमा फैलिएको कोरोना भाइरस हाल युरोप, अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, अफ्रिका, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, भारत आदि देशमा फैलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *