भर्खरै :

अन्धविश्वासले परिवार लथालिङ्ग

– आरके श्रेष्ठ
चितवन, ५ चैत । धादिङ जिल्ला, बेनिघाट रोराङ गाउँपालिका चरौदीका विष्णुमाया चेपाङ र पम्फामाया नगरकोटी सासु बुहारी हुन् । दुई वर्ष अघि विष्णुमायाका ससुरा बाको निधन भयो । ससुराको निधन पछि विष्णुमायाको घरमा बालबच्चासहित आफू पनि बारम्बार बिरामी पर्न थाले । उपचारको लागि उनले धामी गुहारिन् । धामीले ‘मृतक ससुरा बाले दुःख दिइरहेको, बाउको आत्माले शान्ति नपाएकोले घरमा अशान्ति भएको, चालिस–पचास हजार खर्च गरे परिवारमा शान्ति हुन्छ’ भनी सल्लाह दिए । धामीको सल्लाहमा विष्णुमायाले विश्वास गरिन् । त्यही विषयमा सासु बुहारीबीच मनमुटाव भयो । बुधबार विष्णुमाया आफ्नी बुढी सासुबाट अलग बसेकी छिन् ।
अनपढ विष्णुमाया चेपाङको हुर्काइ अन्धविश्वासी समाजमा भयो । उनले पनि समाजमा भएका अन्धविश्वास सिकिन् । ससुराको निधनपछि उनले सासुलाई समेत अरुको लहलहैमा बोक्सीको आरोप लगाइन् । श्रीमतीको कुरा सुनेर विष्णुमायाका पतिले पनि आमाबाट अलग बसे ।
गत फागुन महिनामा विष्णुको काखको बच्चा बिरामी भयो र काठमाडौँ लगेर उपचार गराइन् । छोरो बिरामी भएको हप्ता दिनपछि उनी आफैं पनि बिरामी परिन् । रातारात एम्बुलेन्समा भरतपुर अस्पताल पुगिन् । चिकित्सकले ग्यास्ट्रिकको औषधि दिए । यसरी बेला बेलामा बिरामी पर्दा उनले धामी पनि देखाउने गर्छिन् । विष्णुले चिकित्सकभन्दा धामीको नै विश्वास मान्थिन् । अस्पतालको उपचारले निको भए पनि उनलाई धामीझाँक्रीले निको बनाएको महसुस हुन्थ्यो । ‘मनकामना माईको भाकल’ बुझाएकोले बिरामी छोरा र आफू निको भएको विष्णुमायालाई लागेको छ ।
पाँच वर्ष उनी इसाई धर्ममा लागिन् । त्यसयता भने उनलाई धामीझाँक्रीभन्दा पनि परमेश्वर येशुप्रति विश्वास लागेको थियो । त्यहाँ पनि आफूले सोचेजस्तो नभएपछि उनको मन फेरि धामीझाँक्रीमा फर्केको छ । अन्धविश्वासमा हुर्केका उनी अन्धविश्वासमा नै रुमलिरहेकी छिन् । त्यसैकारण उनी घरपरिवारबाट अलग बसेकी छिन् । एक्लो वृद्धालाई आफ्नै अन्धविश्वासले थप दुःख भएको छ ।
समाजमा अन्धविश्वासमा लाग्ने विष्णुमाया जस्ता धेरै मानिस छन् । अन्धविश्वास समाजमा आपराधिक घटनाको स्रोत बनेको छ । बोक्सीजस्ता आरोपमा अनेक अमानवीय हिंसा र अकालमा जिउधन समेत गुमाउनु परेको छ । कुसंस्कार र अन्धविश्वासका कारण समाजले दिनहुँ झैं झगडा, कलह अशान्ति खेप्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *