भर्खरै :

पाँचौँ अधिवेशन अन्त्य गर्नु जरूरी

काठमाडौँ, ८ चैत । विश्व महामारीको रूपमा देखिएको कोभिड–१९ को उच्च जोखिममा नेपाल पनि रहेको छ । सरकारले नेपालमा एकजनामात्र कोभिड–१९ पोजिटिभ देखिएको र उनी स्वस्थ भइसकेको बतायो । सङ्क्रमित नयाँ नदेखिए पनि उच्च जोखिममा परेको हुँदा नेपाल–भारत खुला सीमा नियमित गर्नु दुवै देशको हितमा छ ।
कोभिड–१९ सङ्क्रमण रोक्न चैत ७ गतेको लागि निर्धारित प्रतिनिधिसभाको बैठक सूचना प्रकाशित गरी चैत १३ गते स्थगित गरियो । राष्ट्रियसभा चैत ६ गतेसम्म चालू रह्यो र चैत ७ गते भनिएको राष्ट्रियसभाको बैठक पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गरियो । चैत ६ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध विधेयकबारे छलफल गर्ने कार्यसूची थियो । नेकाका सांसद दिलेन्द्र बडूले २५ जनाभन्दा बढी मानिस भेला नहुने सरकारको अपिल भएको हुँदा बैठक बस्न नहुने प्रस्ताव राखेपछि समितिको बैठक स्थगित भएको थियो ।
नेपाल सरकारले कोभिड–१९ नियन्त्रण गर्न चैत ९ गतेदेखि नेपालीलाई अति आवश्यक काममा बाहेक घरबाट ननिस्कन सूचना जारी ग¥यो । तर, भारतको खुला सीमाबाट घर फिर्ता भइरहेका नेपालीहरूलाई सरकारले स्वास्थ्य परीक्षण राम्रोसँग गर्न नसकेको समाचार छ । कोभिड–१९ लाई नियन्त्रण गर्न सरकारले मानिसको आवतजावत सीमित गर्ने र हात धुने साबुन तथा पानी सहज बनाउनु आवश्यक छ । तर, काठमाडौँमा नै खानेपानीको हाहाकार छ ।
तीस वर्षयता बहुदलीय व्यवस्थाको सरकारमा गएका पार्टी र नेताहरूले देशको सन्तुलित विकास नगरेको हुँदा कोभिड–१९ भाइरस फैलिने डरले लाखौँ मानिस काठमाडौँ उपत्यका छोडेर आ–आफ्नो घर गए । सरकारका मन्त्री, संसद सदस्य र सरकारी कार्यालयका हाकिमहरूले नै काठमाडौँ उपत्यकामा घरजम गरेको हुँदा सन्तुलित विकास पछि परेको हो । देशको सन्तुलित विकास गरिए कोभिड–१९ लगायत सरूवा र महामारी रोग रोकथाम गर्न सहज हुनेतर्फ सरकारले अहिले भए पनि शिक्षा लिनु आवश्यक छ । चैत १३ गते अगाडि नै सङ्घीय संसद्को अधिवेशन पनि अविलम्ब अन्त्य गर्नु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *