भर्खरै :

कोरोनाको कहर ः पछिल्लो अपडेट

जेनेभा, ८ चैत (एएफपी) । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म जोन हप्किन्स विश्वविद्यालयका अनुसार ११ हजार ८६८ जनाको मृत्यु भएको छ र यो सङ्ख्या दिनहुँ बढ्दो क्रममा रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ८४ हजार ५६६ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ८९ हजार ८९१ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।
चीनको हुपेइ प्रान्तको उहान सहरबाट सुरू भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’ (प्यान्डेमिक) को संज्ञा दिएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा तीन हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ३ सय ४ जना सङ्क्रमित भएका छन् ।
चीनले अपनाएको उच्चतम सतर्कता, हुपेइ प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । ज्येष्ठ नागरिकको जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ४७ हजार २१ जना सङ्क्रमित रहेको इटालीमा ४ हजार ४४० जना व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ५ सय ५६ जना व्यक्तिको मृत्यु भइसकेको छ भने २० हजार ६ सय १० जना सङ्क्रमित रहेका छन् । ७ हजार ६३५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ३७५ जना व्यक्तिको मृत्यु भएको छ । हाल २५ हजार ३७४ जना सङ्क्रमित रहेका छन् । शनिबार प्राप्त समाचारअनुसार २ हजार १ सय २५ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ७२ जनाको मृत्यु भएको छ भने २० हजार ७ सय ५ जना सङ्क्रमित रहेका छन् । उपचारपछि २०९ जना घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा २५९ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ६२४ जना सङ्क्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । हाल १२ हजार ४८३ जना सङ्क्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु  भइसकेको छ भने ८ हजार ७९९ जना सङ्क्रमित भएका थिए ।
कोरोना भाइरस सङ्क्रमणका कारण स्वीजरल्यान्डमा ५८ जना, बेलायतमा १७७ जना, नेदरल्यान्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोही पनि ननिस्कन आह्वान गरेको छ ।
दक्षिण एसियाली अन्य मुलुक श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा दुई जना सङ्क्रमित देखिएका छन् ।
नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना सङ्क्रमणको आशङ्का गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन् र नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *