न्युयोर्क, ८ चैत । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी सुरूवात भएको थियो अन्त्य पनि त्यस्तै भयो अर्थात् शेयर बजारमा कोरोना भाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुतगतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो ।
कोरोनाको महामारी फैलिन नदिने उपायस्वरूप अमेरिकी सङ्घीय र राज्य सरकारले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो ।
एसियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९०० अङ्कले घट्यो । सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ । पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा शेयर सूचकाङ्कमा लगातार गिरावट आएको छ ।
ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोगसम्बन्धी घोषणाबाट एक दिन थामिएको शेयर बजारमा अरू दिन भुइँचालो नै गएको थियो । सन् २००८ को वित्तीय सङ्कटको कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो ।
लगानीकर्ता कोरोना भाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरूलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन् । प्रकोप फैलिन नदिन सरकारले अबलम्बन गरेको नीतिले अर्थव्यवस्थामा कठिनाइ आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन् ।
केन्द्रीय बैङ्क र सरकारले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रम घोषणा गरिरहेका छन् । तर, यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ । मानिस विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगलाई ट्रम्प प्रशासनले अर्बौँ डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन् ।
“कोरोना भाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदै छ,” एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले बताउनुभयो । यहीबीच, तेलको माग घटे पनि उत्पादन बढाइएको कारण तेलको मूल्यमा कमी आएको छ । “यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो ।”
न्युयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो । क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिनपछि न्युयोर्कले यो घोषणा गरेको थियो । न्युयोर्क र क्यालिफोर्नियामा अब रेस्टुरेन्ट, खुद्रा बिक्रेता र अन्य व्यवसाय बन्द गरिएका छन् ।
यी उपायले पनि खनिज तेलको माग घटाउने छ । अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रति ब्यारेल २० डलरभन्दा तल पुगेको छ ।
लगानीकर्ता बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोना भाइरसको नयाँ सङ्क्रमण रोकिनुको विकल्प नरहेको बताउँछन् ।
वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भन्नुभयो “हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो । अन्य देशमा जस्तै सङ्क्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ ।”
विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ११ हजार ८६८ भन्दा बढी पुगिसकेको छ । विश्वव्यापीरूपमा दुई लाख ८४ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । यीमध्ये करिब ८९ हजार मानिस निको भएका छन् ।
अधिकांश व्यक्तिमा कोरोना भाइरसको हल्का वा मध्यम लक्षण निम्त्याएको पाइन्छ, जस्तैः ज्वरो र खोकी लाग्नु । तर हल्का बिरामी भएका करिब दुई हप्तामा निको भएको पाइएको छ । विशेषगरी वृद्ध र पहिल्यैदेखि स्वास्थ्य समस्या भएका व्यक्तिमा निमोनियालगायतका गम्भीर अवस्था देखिन सक्छ र यस्तो परिस्थितिमा स्वास्थ्यलाभका लागि कम्तीमा ६ हप्ता लाग्नेछ ।(रासस÷एपी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *