भर्खरै :

सीमा नाकामा किन लापरबाही !

कोभिड–१९ को सम्भावित महामारी प्रतिरोध गर्न नेपाल सरकारले एकपछि अर्को महत्वपूर्ण निर्णय सार्वजनिक ग¥यो । तर, सिंहदरबार र बालुवाटारबाट गरिएका ती निर्णय भने कार्यान्वयनमा आउन सकेको देखिएन । भारतसँगको नेपाली नाका गड्डाचौकीबाट शनिबार सयौँ मानिस बिनास्वास्थ्य जाँच नेपाल प्रवेश गरेका छन् । भारतमा विभिन्न क्षेत्रमा मजदुर गरेका ती नेपालीहरू बिनास्वास्थ्य परीक्षण नेपालमा प्रवेश गर्नुले नेपालमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेको छ । गड्डाचौकीबाट नेपाल प्रवेश गरेका ती नेपालीहरू कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक हुन् । उनीहरू अधिकांशका घर देशका अन्य क्षेत्रको तुलनामा अविकास र असुविधा साथै भौगोलिकरूपमा निकै जटिल क्षेत्रमा छन् । ती क्षेत्रमा जाने ती नेपाली जनतामध्ये कोही भाइरस सङ्क्रमित भएको अवस्थामा विशेषतः दुर्गम र विपन्न क्षेत्रमा कोभिड–१९ भाइरसको सङ्क्रमणको सम्भावना छ । सरकारले देशका सहरी क्षेत्रमा कोभिड–१९ को प्रतिरोध गर्न मनग्य तयारी गर्नसकेको छैन । त्यस अवस्थामा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँमा यो रोग फैलिए परिस्थिति अझ जटिल र नियन्त्रणभन्दा बाहिर जानेछ ।
सरकारले देशका अन्य सीमा नाकामा पनि उचित स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्नसकेको छैन । अधिकांश सिमाना नाकामा राखिएका हेल्थ डेस्क नाममात्रका भएका छन् । पहिलो कुरा, हेल्थ डेस्कमा आवश्यक स्वास्थ्यकर्मी छैन । सिमानापारिबाट आउने सबै मानिसको स्वास्थ्य परीक्षण गर्न तैनाथ जनशक्ति अपुग छ । दोस्रो, उनीहरूसँग आवश्यक पूर्वाधारको अभाव छ । कतिपय स्थानमा हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले उचित तरिकाबाट स्वास्थ्य परीक्षण नै गरेको देखिंदैन । त्यसकारण कोभिड–१९ को प्रतिरोधमा सरकारले जारी गरेको निर्देशनको पालना ‘झाराटार्ने’ हिसाबले मात्र भइरहेको छ । यस्तो चालाले संसारलाई आतङ्कित बनाएको कोभिड–१९ को वास्तविक प्रतिरोध सम्भव हुँदैन ।
सिंहदरबारबाट आदेश दिएको भरमा देश सञ्चालन गर्ने राणाकालीन परिपाटी र चिन्तनबाट आजका शासकहरू पनि मुक्त छैनन् । बालुवाटार र सिंहदरबारमा रातो मसीले हस्ताक्षर गर्दैमा सबै निर्णयको प्रभावकारी कार्यान्वयन हुने होइन । त्यसको निम्ति सरकारले लगातारको अनुगमन गर्न आवश्यक छ । सञ्चारमाध्यममार्फत सम्प्रेषण भइरहेका समाचारकै आधारमा पनि यस्ता घटना दोहोरिन नदिन सरकारले ध्यान दिनुपर्छ । सरकारले स्वास्थ्य क्षेत्रका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उँचो राख्न काम गर्न जरूरी छ । स्वास्थ्यकर्मीको आत्मरक्षाका साथै उनीहरूलाई उचित भावनात्मक प्रोत्साहन महत्वपूर्ण पक्ष हो । साथै स्वास्थ्य परीक्षणका सामग्रीको बन्दोबस्तसहित स्वास्थ्यकर्मीलाई जनताबीच जाने परिस्थिति सरकारले बनाउनुपर्छ ।
सिमाना क्षेत्रमा भएका कमजोरी सच्याउन सरकारले विलम्ब नगरोस् । सुविधा र सेवा सहरी क्षेत्रमा मात्र सीमित नराखियोस् । गाउँ–गाउँका जनतासम्म कोभिड–१९ बाट जोेगिने उपायबारे सचेतना फैलाउनुपर्छ । स्वास्थ्य सेवाको उचित बन्दोबस्त आवश्यक छ । यतिबेला धेरै काम गर्ने सरकारको खाँचो छ, धेरै बोल्ने सरकारको होइन । सरकारले टेलिभिजनको पर्दामा ठूलठूला कुरा गर्ने अनि व्यवहारमा भने हचुवा र सस्तो लोकप्रियता कमाउने खालका गतिविधि गर्नु सर्वथा आत्मघाती हुन्छ । सरकार, सरकारी निकाय र सरकारी कर्मचारी गम्भीरतापूर्वक कोभिड–१९ को प्रतिरोधमा लागौँ । नागरिकले महामारी नियन्त्रण र रोकथाममा सहयोग गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *