भर्खरै :

कोरोना भाइरस प्रतिरोधमा चीनको अनुभव

 जमिर अहमद अवन
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीस दिनको लागि युरोपका अधिकांश देशबाट संरा अमेरिकामा हवाई उडानमा रोक लगाए । अझै पनि नियन्त्रणमा आइनसकेको कोरोना भाइरसको महामारी रोक्न संरा अमेरिकी सङ्घीय सरकारले गरेका केही महत्वपूर्ण निर्णयमध्ये एउटा यो पनि हो । कोरोना भाइरसले समाजमा निकै दुःख दिएको छ । मानिसहरू आ–आफ्ना घरमा आवश्यक दैनिक उपभोग्य सामान र सरसफाइका सामान जम्मा गर्न थालेका छन् । केही तरकारी पसल खाली हुन थालेका छन् । संरा अमेरिकामा १९ हजार ६२४ जना मानिस भाइरस सङ्क्रमित छन् भने २५९ जना अमेरिकीको निधन भइसकेको छ । संरा अमेरिकाको राजधानी वाशिङ्टन डीसीसहित ४३ भन्दा बढी राज्यमा भाइरसको सङ्क्रमण भएको छ । सबभन्दा चिन्ताको विषय त यसको सङ्क्रमण निकै तीव्रगतिमा फैलिरहेको छ । नयाँ सङ्क्रमण हुनेको सङ्ख्या दिन दुई गुणा, रात चौगुणाको गतिमा फैलिरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) यसअघि कहिल्यै पनि मानिसमा सङ्क्रमण नभएको नयाँ प्रकारको भाइरस हो । अहिलेसम्म यसको कुनै उपचार वा औषधि वा खोपको विकास भएको छैन । भाइरसको कारण श्वासप्रश्वाससम्बन्धी समस्या (रुघाखोकीमा जस्तै) हुने गर्छ । खोकी, ज्वरो र निकै गम्भीर बिरामीमा निमोनिया सङ्क्रमण नै यसका लक्षण हुन् । बारम्बार हात धुने र मुखमा नछोएर यसबाट हामीले आफूलाई जोगाउन सक्छौँ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा वा थुक र सिङ्गानको छिटाबाट यो रोगको सङ्क्रमण हुने गर्छ ।
कोरोना भाइरसको सङ्क्रमित हुनबाट जोगिनु नै एउटै बाटो हो । स्वस्थ खानपिन, सफा जीवनशैली र भीडभाडमा नजानु तथा मानिसको सम्पर्कमा नजानु नै यसका समाधान हुन् । प्रतिरोध क्षमता बढाउने भिटामिन, विशेषतः भिटामिन सी वा अन्य पौष्टिक खानाको सेवन आवश्यक छ । कमजोर प्रतिरोध क्षमता भएका बिरामी र ज्येष्ठ नागरिक नै यसका शिकार भएका छन् । तथ्याङ्कले विशेषतः यो रोगका कारण ज्येष्ठ नागरिकको निधन हुने गरेको छ ।
अहिलेसम्म संसारभरमा २ लाख ८४ हजार ५६६ जना मानिस यो रोगबाट सङ्क्रमित भएका छन् । ११ हजार ८६८ जना मानिसको निधन भइसकेको छ भने ८९ हजार ८९१ जनाभन्दा बढीको उपचार भएको छ । यो तथ्याङ्क प्रत्येक क्षण परिवर्तन भइरहेको छ । यो भाइरसको कारण मर्नेको दर झन्डै तीन प्रतिशत अनुमान गरिएको छ । यो रोग संसारका १७० भन्दा बढी देशमा सङ्क्रमित भइसकेको छ । दुर्भाग्यवश अधिकांश देश यो रोगको प्रतिरोधको लागि तयारी थिएनन् । धेरै देशसँग यसको परीक्षण गरी प्रमाणित गर्ने क्षमताको समेत अभाव छ । यसको सङ्क्रमणलाई विश्वव्यापी खतरा र महामारी घोषणा गरेको छ ।
चीनले कोभिड–१९ माथि लगभग विजय हासिल गरिसकेको छ । त्यहाँ सङ्क्रमणको दर तीव्रगतिमा घटिरहेको छ । दुई महिनाभन्दा लामो समय नोबेल कोराना भाइरसविरुद्ध लगातार लडाइँ लडेको चीनको उहानमा राष्ट्रपति सी चिनफिङले भ्रमण गर्नुभयो । महिनौँसम्म लकडाउनमा रहेको, दसौँ हजार मानिसमा सङ्क्रमण फैलिएको र हजारौँ मानिसको निधन भएको उहान सहरमा सीको भ्रमणले महामारीविरुद्ध चिनियाँप्रतिरोधको आत्मविश्वास अभिव्यक्त भएको छ । सो भ्रमणबाट कोभिड–१९ विरुद्धको लडाइँमा चीन सफल भएको सन्देश सम्प्रेषण गरेको छ ।
चीनले जसरी यो भाइरसलाई पराजित गर्नु निकै प्रशंसनीय कार्य हो । यो पक्कै पनि सहज काम थिएन । सारा देश नेतृत्वसँग एकजुट भएका थिए र महामारीको सङ्क्रमणविरुद्ध हातमा हात जोडेर अघि बढेका थिए । ठूलो परिमाणमा स्रोतसाधनको परिचालन गरिएको थियो । उच्च र अत्याधुनिक प्रविधिको उपयोग गरिएको थियो । स्वास्थ्यकर्मीले यो लडाइँ आफ्नो ज्यानको बाजी लगाएर लडेका थिए । चिनियाँ समाज र प्रशासनको यो शक्ति हो । त्यसले सबै सम्भव काम गर्न सम्भव बनाउने गर्छ ।
चीन महामारीविरुद्ध लडिरहेको बेलामा अन्तर्राष्ट्रिय समुदायले चीनलाई सहायता गरिरहेको थियो । विशेषतः मित्र देशहरूले चीनलाई चिकित्सकीय सामग्री र स्वास्थ्यकर्मी पठाएर सहयोग गरेका थिए । साथै राजनीतिक र नैतिक समर्थन गरेर पनि उनीहरूले चीनलाई सहयोग गरेका थिए । तर, अनपेक्षितरूपमा केही देशले भने चीनको सङ्कटको दिनमा हेला गरेका थिए । चिनियाँ जनतालाई अपमान गरेका थिए । चीनप्रति हेपाहा व्यवहार गरेका थिए । केही सञ्चारमाध्यमले निकै अपरिपक्व र गैरजिम्मेवारीपूर्ण व्यवहार गरेका थिए ।
चीन परिपक्व र जिम्मेवार देश हो । उसको ध्यान महामारीविरुद्धको लडाइँमा मात्र केन्द्रित थियो । चीनको विवेक र प्रतिबद्धताप्रति संसारले प्रशंसा ग¥यो । चीन सक्षम, बलियो र विश्वशक्तिको रूपमा उदाएको छ ।
१७४ भन्दा बढी देशमा महामारी फैलिसकेको र यो क्रम अझ बढिरहेको अवस्थामा अब सम्पूर्ण संसारले चीनको अनुभवबाट सिक्न जरुरी छ । चीन ऐतिहासिक सभ्यताको देश हो । साथै ठूलो हृदयको देश पनि हो । चीनले आफूबाट सहयोग र सल्लाह खोज्ने देशलाई सहयोग र सल्लाह दिन चाहेको छ । चीनले कुनै पनि आवश्यक परेको देशलाई सहयोग गर्नु आफ्नो विश्वव्यापी जिम्मेवारी महसुस गरेको छ । चीनले पाकिस्तान, इटाली र इरानजस्ता विभिन्न सङ्क्रमण प्रभावित देशलाई चिकित्सकीय सामग्री र सेवा पठाएर सहयोग गरेको छ ।
संसारको मानवता जोगाउन चीनको अनुभवमाथि विश्वास गरौँ ।
(लेखक द सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसनका गैरआवासीय अध्येता हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः अनिरव

Leave a Reply

Your email address will not be published. Required fields are marked *