भर्खरै :

चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

काठमाडौँ, ९ चैत । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आइतबार बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ ।
तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक लाख ९४ हजार रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेकोमा शनिबार दुई लाख छ हजारले राजधानी छाडेका छन् । आइतबार बिहान १० बजेसम्म मात्रै ५६ हजारले छाडिसकेका छन् । सरकारले चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालको लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो ।
कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै मुलुकमा आइतबारदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा पनि बन्द गरिएको छ । यस्तै चैत १० गतेदेखि लागू हुने गरी केही अवधिको लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गर्ने यसअघि नै निर्णय गरिसकिएको छ । यस्तै आइतबारदेखि लागू हुने गरी चैत १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई यातायात सञ्चालनमा सरकारले रोक लगाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नभए पनि बढ्दो जोखिमको कारण शैक्षिक संस्था, अत्यावश्यक सेवाबाहेकका सेवा बन्द भएको र आर्थिक तथा पर्यटन क्षेत्र प्रभावित हुँदा राजधानी छाड्ने यात्रुको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । महाशाखाका अनुसार चैतको ६ देखि ८ गतेसम्ममा ४५ हजार ६८२ गाडीमा एक लाख ९४ हजार ७२२ यात्रु भित्रिएका छन् भने राजधानीबाट ६४ हजार ७३२ गाडीमा चार लाख ४५ हजार ६१९ यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार आइतबार बिहानमात्रै राजधानी छाड्ने यात्रुको सङ्ख्या ५६ हजार ६४७ छ । उक्त अवधिमा नौ हजार यात्रु राजधानी भित्रिएको महाशाखाले जनाएको छ ।
त्यसअघि चैत ५ गतेको तथ्याङ्क हेर्दा राजधानीबाट बाहिरिनेभन्दा भित्रिने सङ्ख्या बढी थियो । त्यस दिन १८ हजार १८० गाडीमा ९८ हजार ९३४ यात्रु भित्रिएका र १७ हजार ४४१ गाडीमा ९५ हजार २४७ यात्रु बाहिरिएका ट्राफिक प्रहरी महाशाखाको अभिलेखमा उल्लेख छ ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन सरकारले यसअघि नै सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई आगामी वैशाख १८ गतेसम्मको लागि बन्द गरिसकेको छ । अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन पनि सरकारले रोक लगाएको छ ।
बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भीड बढी देखिएको छ । यसतर्फ सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भीड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले गाडीमा बढी यात्रु चढ्न नदिने, बढी भाडा लिनेलाई कारबाही गर्ने, जबरजस्ती चढ्न खोज्ने यात्रुलाई सम्झाउने तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्ने गरी ट्राफिक प्रहरीले सचेतना अभियान चलाएको जानकारी दिनुभयो ।
सरकारले यसअघि नै भीडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि सर्वसाधारणमा आह्वान गरिसकेको छ । द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष तथा मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाले अहिलेको जस्तो अवस्थामा मानिसमा चिन्ता हुने, आत्तिने, डराउने, तर्सने, रिस उठ्नेलगायतका लक्षण आउनु स्वाभाविक भएकोले त्यसतर्फ विशेष ख्याल गर्दै स्व–हेरचाहका विधि अपनाउनुपर्ने बताउनुभयो । नआत्तिई संयम भएर स्वास्थ्यको ख्याल गर्दै आफैँले उचित सावधानी अपनाउन उहाँले सुझाव दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *