भर्खरै :

काठमाडौँ उपत्यकामा ५००० क्षमताको क्वारेन्टाइन स्थल बनाउने तयारी

काठमाडौँ, ९ चैत । सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकामा कम्तीमा पाँच हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्कालै निर्माण गर्ने भएको छ । कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबार पहिलो बैठकले उक्त क्वारेन्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने र सो स्थललाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको हो । उपत्यकाका होटल, विद्यालय, रङशालालगायत स्थानमा त्यस्तो क्वारेन्टाइन बनाइनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा पर्यटन मन्त्रालयमा भएको बैठकले सार्वजनिक क्वारेन्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा तयार गरी आइतबार साँझ ६ बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधि (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने निर्णय गरेको छ ।
उक्त टोलीको प्रतिवेदन÷मस्यौदा आएपश्चात् सोबमोजिम आवश्यक पर्ने स्रोतसाधन÷बजेट व्यवस्थापन योजनासम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिको टोलीले सोमबार बिहान १० बजे हुने बैठकमा पेश गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले नेपाल होटल सङ्घ र होटल व्यवसायी महासङ्घसँग समन्वय गरी कम्तीमा दुई हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थानसहितको विवरण तयार गरी भोलिको बैठकमा पेश गरिनेछ ।
काठमाडौँका प्रजिअले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी पेश गर्ने, शैक्षिक अगुवा संस्थाहरू निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनलगायत अगुवा शैक्षिक संस्थाको समन्वयमा कम्तीमा दुई हजार व्यक्ति क्षमताका होस्टेल÷स्कूलको स्थानसहितको विवरण तयार गरी भोलिको बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौँ, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता यकिन गरी पेश गर्ने निर्णय भएको छ ।
कोभिड सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसमक्ष विभिन्न क्षमताका क्वारेन्टाइन प्रयोग गर्नसक्ने गरी तयार गर्न प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन हुन सिफारिस गरी पेश गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
निर्णयअनुरुप प्रत्येक प्रदेशले कम्तीमा दुई हजार क्षमताका, प्रत्येक महानगरपालिकाले कम्तीमा दुई हजार क्षमताका, उपमहानगरपालिकाले कम्तीमा दुई हजार क्षमताका, सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले कम्तीमा हिमाली क्षेत्रको हकमा छ सय व्यक्ति, पहाडी क्षेत्रको हकमा एक हजार व्यक्ति र तराई क्षेत्रको हकमा दुई हजार व्यक्ति क्षमताका क्वारेन्टाइन स्थल बनाइनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *