भर्खरै :

भारतमा ७५ जिल्लामा ‘लक डाउन’

नयाँँदिल्ली, ९ चैत । भारतमा आइतबार कोभिड–१९ को कारण थप दुई जनाको निधन भएको छ । अब भाइरसको कारण भारतमा मर्नेको सङ्ख्या छ पुगेको छ । भारतको स्वास्थ्यमन्त्रालयले दिएको जानकारीअनुसार मर्ने दुईजनामध्ये एक जना मुम्बई र अर्को पटनाका छन् । भारतमा कोभिड–१९ बाट ३४१ जना मानिस सङ्क्रमित भएका छन् । भारतमा बितेका केही दिनयता कोभिड–१९ को सङ्क्रमण ह्वात्तै बढेको छ ।
यसैबीच कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्ने हेतुले आइतबार सम्पूर्ण भारत १४ घण्टा लक डाउन रह्यो । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको सो बन्दलाई ‘जनता कफ्र्यु’ भनिएको छ । यसले भारतमा नोबेल कोरोना भाइरसको सङ्क्रमण उल्लेख्य रूपमा नियन्त्रण गर्न मद्दत हुने विश्वास गरिएको छ । ‘जनता कफ्र्यु’ को समापनमा स्थानीय समयअनुसार साँझ ५ बजे दिनभरि घरमा बसेका नागरिकले आ–आफ्ना दैलोमा निस्केर ‘ताली र थाली’ बजाएका थिए । प्रधानमन्त्री मोदीले लगातार महिनौंदेखि कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनमा बसेर जनताको स्वास्थ्यको लागि लडिरहेका स्वास्थ्यकर्मीहरूलाई हौसला प्रदान गर्न ताली बजाउन आह्वान गरेका थिए । जनताले पाँच मिनेट यसरी ताली बजाएका थिए ।
दिल्लीमा त्यहाँको सरकारले साँझ ९ बजेपछि मानिस जम्मा हुन नपाउने नियम लागू गरेको छ ।
यसैबीच भारतको सबभन्दा नियमित मानिने यात्रुवाहक रेल सेवा समेत ३१ मार्चसम्मको लागि बन्द गर्ने निर्णय भएको छ । त्यस्तै मेट्रो रेल पनि ३१ मार्चसम्मको लागि बन्द गर्ने घोषणा गरेको छ । एक प्रान्तबाट अर्को प्रान्तमा जाने यात्रुलाई पनि ३१ मार्चसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।
७५ जिल्लामा लक डाउन
भारतको केन्द्र सरकारले आइतबार विभिन्न प्रान्तका ७५ वटा जिल्ला लक डाउन गर्नुपर्ने जनाएको छ । त्यसको लागि सम्बन्धित प्रान्तको सरकारलाई केन्द्र सरकारले आग्रह गरेको छ । अवस्था हेरी समयान्तरमा लक डाउन गर्नुपर्ने जिल्लाको सङ्ख्या बढाउनुपर्ने हुन सक्ने बताइएको छ । तथापि सरकारले ती जिल्लाको नाम भने सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *