भर्खरै :

ग्यास आपूर्ति अझै सहज भएको छैन

– आकाश भडेल
सरकारले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको फुके पनि ग्यास आपूर्ति अझै सहज भएको छैन । ग्यास पसलहरूमा ग्यास देखिंदैन । एक दुई हप्तादेखि ग्यासको क्युमा राखे पनि उपभोक्ताले ग्यास पाइरहेका छैनन् । आवश्यकभन्दा बढी ग्यास उपभोक्ताले सञ्चय गरेकोले बजारमा ग्यास अभाव भएको बताइएको छ । ग्यास अभाव यथावत भएकोले नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ता तथ्याङ्क राख्ने बताएको छ । ग्यास लाने उपभोक्ताहरूको तथ्याङ्क राख्ने कुरा सार्वजनिक भइरहेको छ । नेपाल–भारत सीमा नाका बन्द हुने हल्लाले पनि उपभोक्ताहरू आवश्यकभन्दा बढी ग्यास सञ्चय गर्न थालेको देखिन्छ । तर, भारतले साविकबमोजिम नियमितरूपमा ग्यास पठाइरहेको बताइएको छ ।
उपभोक्ताको माग र चाहना ग्यास अभाव नहोस् भन्ने हो । ग्यास बिक्री वितरण सहज होस् भन्ने उपभोक्ताको चाहना हो । तर, यस्तो सङ्कटमा कृत्रिम अभाव बनाई महँगोमा लुकीलुकी बेच्ने गरिरहेको अनुभव विगतमा नपाइएको होइन । सङ्कटमा कृत्रिम अभाव बनाएर महँगोमा बेच्ने व्यापारीहरू पनि नभएका होइनन् । तर, सबै व्यापारीहरू त्यस्ता छैनन्, यो पनि सत्य हो । यस्तो बेला ग्यास पाउनेले पाइरहने र नपाउनेले एउटा पनि नपाउने समस्या देखिएको छ ।
ग्यासको मूल्यमा एकरूपता पनि छैन । डिपोहरूले आ–आफ्नै ग्यास मूल्य निर्धारण गरेका छन् । अतः ग्यासको मूल्यमा एकरूपता बनाउन, ग्यास वितरण सहज बनाउन सरकारले नै ग्यास वितरण गर्ने व्यवस्था मिलाउनुपर्छ । कमसेकम जनताका आधारभूत आवश्यकताहरू सरकारले नै वितरण गर्नुपर्छ । सरकारले नै वितरण गर्ने व्यवस्था गरेको भए ग्यास वितरणमा विभेद हुनेछैन या ग्यास वितरण समान हुनेछ र नियन्त्रण गर्न सजिलो हुनेछ । आधारभूत आवश्यकताहरूको व्यवस्था मिलाउने काम सरकारको जिम्मेवारी पनि हो । ग्यास कसले, कसरी, कहाँ, कति वितरण गरिरहेको छ भन्ने थाहा हुन्छ ।
हो, सङ्कटको बेला अनुगमन जरुरी छ । अनुगमनले वास्तविकता थाहा हुन्छ । कसैले ग्यास लुकाए या महँगोमा बेचेको पाए त्यो पनि नियन्त्रण गर्न सजिलो हुन्छ । ग्यासको मूल्यसूची पसल बाहिर राख्ने व्यवस्था गरिएको भए महँगोमा बेचिन पाउने छैन र सर्वसाधारण जनता पनि सुसूचित हुनेछन् । उपभोक्ता ऐन र नियमावलीअनुसार पनि वस्तुको मूल्यसूची सबैले देख्ने गरी राख्नुपर्ने हो । यसले गर्दा ग्यासको मूल्यमा एकरूपता हुन्छ र महँगोमा बेच्न पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *