भर्खरै :

समृद्ध परम्परा जोगाउन थाती राखौँ

भैरव रिसाल
विश्व ढुक्कसँग बसेको थियो । पारमाणविक शक्ति एउटै राष्ट्रको, एउटै शक्तिको मात्र कब्जामा नभएर विकेन्द्रित हुँदा सन् १९४५ मा जस्तो एक ठाउँमा परमाणु आक्रमण गरेर संसारलाई नै कब्जा गर्न सकिने युग छैन आज । तसर्थ संसारका साना देश, यहाँसम्मकि टापु राष्ट्रहरूको विपन्न मुलुकहरू पनि गरिखाएकै थिए । तेस्रो विश्व युद्ध हुन्छ कि भनी आशङ्का गर्नेहरू थिए छन् पनि । तर पनि पारमाणविक शक्ति साना राष्ट्रसँग समेत भएकोले आफ्नो दुनियाँ सन् १९४५ को जस्तो एउटा परमाणु राष्ट्रले हलाउन सक्ने स्थितिमा थिएन संरा अमेरिका, चीन, भारतजस्ता विशाल राष्ट्र पनि बुर्किनाफासो, माल्दिभस, हैटी, कार्लाउस, जमैका, डोमिनिकन रिपब्लिकजस्ता साना नितान्त साना मुलुक पनि आ–आफ्नै किसिमले गरिखाएका थिए । तर, अकस्मात् आकस्मिकरूपले कोरानाको यो विषाक्त किटाणु भाइरस–कोभिड पनि बितेका तीन महिना करिबको अन्तरालमा एउटा नयाँ रूपमा आएको महामारीले १६ हजारभन्दा बढीको ज्यान लिइसक्यो । यसबाहेक तीन लाखभन्दा बढी मान्छेलाई झम्ट्यो । तीमध्ये दुई लाख व्यक्ति अझै पनि थला परेकै छन् भने ८९ हजार ८९१ जना उपचारत नै छन् । यो रोग १८९ राष्ट्रमा पसिसकेको छ । यसले संसारलाई त्रस्त पारेको छ, विश्व नै टक्क अडेजस्तो भएको छ । भोलि के हुने विलखबन्द छ विश्व नै ।
त्यस्तो नेतृत्व पो नेतृत्व
यो भयावह महामारी हाम्रो यो हिमाली मुलुकमा पसिसकेको छैन । साना–ठूला गरी १९६ मुलुक छन् यो भूगोलमा । १८९ मुलुकमा प्रवेश गर्दा पनि नेपालमा प्रवेश नगर्नु के–को प्रताप हो भन्न सकिँदैन । एक त हामी नेपाली संसारकै ४९ वटा अल्पविकसित देशभित्र परे पनि हामी नेपालीमा रोग प्रतिरोधी क्षमता बढी छ । हामी नेपाली पाएसम्म चिल्लो खान्छौँ, पिरो खान्छौँ, नून पनि टाठै खान्छौँ । भोगटे साँधेर खान्छौँ । त्यसैले होला नेपालीमा रोग पचाउन सक्ने क्षमता धनी, सम्पन्न राष्ट्रका नागरिकमा भन्दा हामीमा बढी छ । यसो भनेर गरिबी र विपन्नता रोजेको अर्थ नलागोस् । नियमित जीवन उत्तम हो । परन्तु सधैँ यो फर्मुला लागू हुँदोरहेनछ । यसपालि कोरोनाका विषाणु नेपालीले पचाएकै हो त ¤ छिमेकी मित्रराष्ट्र चीनको हुपेइ प्रान्तको उहान सहरबाट यो महामारी सुरू नै भयो । त्यहाँ ३ हजार २५५ जनाको त ज्यान नै लियो भने सङ्क्रमित ८१ हजार ३०४ पुग्यो । तर, चीन सरकार आत्तिएन बरू हुपेइको राजधानी उहानसहित सम्पूर्ण प्रान्तभरि नै आवतजावत पूरै प्रतिबन्ध लगायो एकातिर भने अर्कोतिर तत्कालै उपचार सेवा सघनरूपमा सञ्चालन ग¥यो । त्यस्तो आपतकालीन व्यवस्था बडो सावधानीसँग ग¥यो चीनले । सो कोरोनाले सङ्क्रमणविरूद्ध सिङ्गो चीन नै क्रियाशील रह्यो । यो महामारीलाई शत्रु राष्ट्रको आक्रमणभन्दा पनि चर्कोरूपमा लियो । राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रथम पुरूष सी चिन फिङको नेतृत्व पूर्ण सफल रह्यो । सी आफैँ पनि गई हेरे । जनता ढुक्क भए ।
कस्तो जोधाहा रोग रहेछ ?
अब अहिले यो कोरोनाका विषाणुयुक्त आक्रमणलाई कोभिड–१९ पनि भन्न लागिएको छ । यसले स्वास्थ्यमा पूर्ण सचेत र आर्थिक मामलामा सम्पन्न युरोप पस्यो । प्रतिव्यक्ति आय नै धेरै धेरै भएका युरोपका मुलुकहरू प्रायः सबै नै कोरोनाबाट आक्रान्त छन् । स्वीजरल्यान्डजस्तो देशमा समेत गत शनिबारसम्म ५८ जनाको ज्यान लिइसक्यो कोभिड–१९ ले । नेदरल्यान्डमा १०६ जना, बेलायतमा १७७ जना, बेल्जियममा ३७ जनालाई खाइसक्यो । अहिले उग्ररूप लिएको छ कोरोना इटालीमा । चैत ८ गते शनिबारसम्म ४ हजार ३२ जना मरिसके । त्यसरी मर्नेमा ज्येष्ठ नागरिकको सङ्ख्या ठूलो छ रे । इटालीमा दैनिक मृत्यु दर नै बढी छ । बढीमात्र हो र कहालीलाग्दो पो छ त । इटालीमा उपचारमा ४७ हजार २१ जना रहेछन् । उपचारपछि ४ हजार ४४० जना सञ्चो भएर घर फर्के रे । तर मर्ने भने ४ हजार ३२ । घर फर्कने र मर्ने झण्डै उस्तै । मर्नेभन्दा बाँच्ने आठ जनामात्र बढी ¤ यो कोरोनाले मध्यपूर्व पनि छोडेन । इरानमा यसको सङ्क्रमण डरलाग्दो अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठन भन्छ, इरानमा एक हजार ५५७ जना मरिसक्यो रे । ३० हजार ६१० जना सङ्क्रमित रहेछन् । सात हजार ६३५ जना उपचारपछि घर फर्के । कोरोनाले चिसो मुलुक, तातो मुलुक कसैलाई पनि छोडेन । कस्तो जोधाहा रोग रहेछ ¤
सम्पन्न विपन्न केही भनेन
जर्मनी पनि सम्पन्न देश । यहाँ पनि छोडेन कोरोनाले । ७२ जना मरिसके रे । सङ्क्रमित नै २० हजार ७०५ जना उपचारमा रे । २०१ जना भने उपचारपछि घर फर्के रे । अर्को युरोपीय मुलुक स्पेन यहाँ पनि एक हजार ३७५ जनालाई लगिसकेछ कोभिड–१९ ले सङ्क्रमित नै २५ हजार ३७४ जना उपचाररत रे । दुई हजार १२५ रोगी उपचार सफल भई घर फर्किसकेका छन् । अब पसौँ संरा अमेरिकातिर । त्यहाँ पनि २५९ कोरोना भाइरसको आक्रमणबाट मरिसकेछन् । सङ्क्रमित पनि १९ हजार ६२४ जना । उपचारपछि घर फर्केका १४७ जना अमेरिकाजस्तो आफूलाई मै हुँ भन्ने मुलुकमा कोरोनाको झम्टाइबाट मर्ने २५९ जना, निको भई घर फर्कने १४७ जना । के यो एक प्रकारको विडम्बना नै भएन र ? जति फूर्ति गरे पनि अस्पतालबाट घर फर्कनेभन्दा मर्ने ११२ जना बढी । फ्रान्समा कोरोनाले ४५० जनालाई लगिसकेछ । १२ हजार ४८३ जना सङ्क्रमित छन् रे । ती उपचारमै होलान् । विकसित मुलुकहरू, प्रतिव्यक्ति आय सरदरमा उच्च । तर रोग धान्न भने नसक्ने । रोग भनेको वास्तवमा रोग नै हो । पैसाले रोग निको पार्ने भए संसारमा धेरै पैसा हुनेहरू कोही मर्दैनथे । पैसा नहुने गरिब कोही बाँच्दैनथे । तर यो कोरोनाले धनी र गरिब भनी पक्षपात गरेजस्तो छैन । सम्पन्न–विपन्न सबैजसो मुलुकमा पस्यो कोरोना ।
नेपाल सुरक्षित नै रहोस्
कोरोनाले जापान पनि छोडेन छ । जापानमा ३५ जना मरिसकेछन् । दक्षिण कोरियामा कोरोनाबाट मर्ने १०२ जना । कसरी नियन्त्रण ग¥यो दक्षिण कोरियाले सिक्नु जाती होला । यसो हेरौँ भारत पनि ठूलो मुलुक, जनसङ्ख्या पनि धेरै, भूगोल पनि ठूलो । सबै जनता सम्पन्न पनि नभएको मुलुक । आफू एउटा छाप्रोसम्म पनि नभएका करोडौँ भारतीय आज पनि रेलवे स्टेशनमै जन्मने, त्यहीँ हुर्कने र युवा अवस्था पनि रेलवे स्टेशनमै, हनिमुन त्यही मनाउनेहरू लाखौँ छन् । त्यस्तै समुद्रको किनारामा डुङ्गामै जन्मेदेखि मर्नेसम्मका सबै जीवन बिताउने सङ्ख्या पनि सानो छैन । तर त्यत्रो विशाल मुलुकमा पनि कोरोना भाइरसले ठूलो प्रहार गरेको छैन । अस्ति आइतबारसम्ममा २७० जनामा मात्र देखिएको छ । मृत्यु हुने सङ्ख्या पनि ७ जनामात्र रे । भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कोरोनालाई गम्भीररूपमा लिएर आइतबार ‘जनता कफ्र्यु’ आफ्नै घरमा बस्ने बाहिर ननिस्कने अभियान प्रस्ताव गरेर एउटा महान अभियान थाल्नुभएको छ । यसरी आइतबार एक दिनमात्र पनि ‘जनता कफ्र्यु’ लगाउन सकियो भने ठूलो काम हुनेछ । दक्षिण एसियाका अरू मुलुक श्रीलङ्कामा ७३ जना, अफगानिस्तानमा २४ जना, बङ्गलादेशमा २० जना, माल्दिभ्समा १३ जना र भुटानमा २ जना कोरोना भाइरस सङ्क्रमित पाइएको छ । नेपालमा एक जनामा सङ्क्रमणको आशङ्का गरिएको थियो जो उपचारपछि घर फर्किसकेका छन् । यो पङ्क्ति लेखुञ्जेलसम्म नयाँ सङ्क्रमित भेटिएका छैनन् । यो उत्साहजनक अवस्था हो ।
एकीकृत सहकार्य आवश्यक
विश्व स्वास्थ्य संस्था भन्छ, अस्ति आइतबार विश्वभरि नै गरी तीन लाख ६ हजार मान्छे कोभिड–१९ सङ्क्रमित बिरामी भए । यो कोभिड–१९ बारे जेनेभामा उक्त संस्थाका सङ्कटकाल कार्यक्रम जिम्मेवार स्कार्ट माइकल पार्नले उहानमा सङ्क्रमण शून्यमा झर्ने आशाको सूचना हो भने । यो बृहद् कामका लागि समाज पूरै प्रयासको श्रृङ्खला रोकिन नहुने प्रसङ्ग कोट्याउँदै समाजको सक्दो प्रयास, एकीकृत सहकार्य, साहसी स्वास्थ्यकर्मीले मात्र पर्याप्त हुँदैन । सामान आपूर्ति व्यवस्था प्रभावकारी हुनैपर्छ । साँच्चै भन्ने हो भने आजको विश्वमा सुरक्षा उपकरणको अभाव छ । चिनियाँ आपूर्तिकर्ताले विश्व स्वास्थ्य संस्थालाई उपकरण र सामग्रीहरू आपूर्ति गर्नेबारेमा अन्तिम निर्णायक छलफल भइरहेको रहेछ । यो कोभिड–१९ को प्रभाव विश्वव्यापीरूपमा परिरहेको छ । पर्यटन उद्यम र व्यवसायमा त झनै चोटिलो प्रहार सावित भएको छ । विश्व अर्थतन्त्रमाथि यो कोभिड–१९ एउटा बज्रपात भएको छ । चीनले यो कोभिड–१९ को महामारीबाट बच्न जुन प्रतिरोध ग¥यो, त्यो सान्दर्भिक भएको उल्लेख गर्यो । तर, कोरोना भाइरसको गतिविधि रोक्नका लागि आर्थिक मन्दीको आशङ्का व्यक्त गरिएको छ । चीनले मझौला र सानाभन्दा साना उद्यम एवं कमजोर समूहको समर्थनमा जुन कदम चालेको थियो त्यो कदमको पनि अन्तर्राष्ट्रिय मुद्राकोषले प्रशंसा गरेको छ । यो आजको विश्वव्यापी समस्यालाई सम्बोधन सानो मन र आँटले हुनेवाला छैन । यसमा कसैको विमति नहोला ।
लौन हो राहदानी प्रथा सुरू गरौँ
नेपालमा स्वदेशमै युवाहरूलाई रमाएर काम गर्ने वातावरण कहिलेसम्म बनाउँछौँ या बनाउँदैनौँ ? बनाए कसले बनाउला ? देश युवाविहीन हुने दिशातिर गइरहेको छ । युवा रित्तिए भने नयाँ पुस्ता जन्मदैन । अनि देश कसरी जीवन्त रहला । खोइ ¤ यस्तो गम्भीर मुद्दातिर सरकारको, नेता र नेतृत्वको ध्यान गएको ? यहाँ नेता भनेर राजनीतिक नेतालाई मात्र सङ्केत गरेको होइन । नेताको मेरो तात्पर्य समाजका सबै क्षेत्रका अगुवाहरूलाई हो । गर्नुपर्ने खासमा राजनीतिक नेताले, नेतृत्वले । तर त्यताबाट नभएपछि नागरिक समाजका, साहित्य र संस्कृति फाँटका अगुवाहरूले अगुवाइ गर्नुपरेन ? अहिले एउटा सङ्ख्या आएको छ कति युवा विदेशमा छन् ? भारतमा १५ लाख रे, तेस्रो मुलुकमा ३५ लाख रे । जम्मा ५० लाख रे । तेस्रो देशमा गएकाको सङ्ख्या ठिक्कै होला किनकि तेस्रो मुलुक जान राहदानी भिसा चाहिन्छ । तर भारत आउन–जान कुनै कागतपत्र नचाहिने भएकोले त्यो १५ लाख पत्याउने नपत्याउने कुनै आधार छैन । तसर्थ बानी नलागुञ्जेल कष्ट भए पनि राहदानी प्रथा लागू गर्नु जरूरी छ । यस्तो कोरोना सङ्कट परेको बेला कति उपयोगी हुन्थ्यो राहदानी पद्धति भएको भए । लौन हो सरकारहरू– नेपाल–भारत यही मौका पारी दुई देशबीच राहदानी प्रथा प्रारम्भ गरौँ ।
महिला नै बढी परिचालन राम्रो
कोरोनाले भेटेपछि त झम्ट्यो झम्ट्यो । तसर्थ त्योभन्दा पहिले नै बचाउ गर्नु बुद्धिमानी हुनेछ । यस्तो सावधानी र बचाउ जो जो, जहाँ जहाँ छ त्यही त्यहीँबाटै थालिहाल्नुप¥यो । भक्तपुर नगरपालिकाले यसअघि पनि, विभिन्न महामारीको सम्भावना देखा पर्दापर्दै आम जनतालाई सजग, सतर्क र सावधान हुन सक्रिय रहने गरेको परम्परा नै छ । अस्ति ९ चैत आइतबार नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विपद् व्यवस्थापन समितिको बैठक बस्यो । यो कोभिड–१९ को सम्भावित आक्रमणबाट बच्न नगरपालिका, वडा कार्यालय र अन्तर्गतका कार्यालयमा प्रवेश गर्दा साबुन पानीले हात धुनैपर्ने, स्यानिटाइजर प्रयोग गर्नैपर्ने निर्णय गरिसकेको छ । यस अतिरिक्त नगरपालिकाभित्रका चोक–गल्ली र सडकहरू सफा राख्ने र प्रभावकारी बनाउने ठहर गरेर आफ्नोपनको पुनः परिचय दिएको छ । भक्तपुर नगर क्षेत्र सामान्यतः नेवारप्रधान बस्ती हो । नेवार जात संस्कृति र परम्परामा सा¥है समृद्ध जाति हो । अब यो कोरोना मान्छे मान्छेको संसर्ग, श्वास–प्रश्वास, ¥याल आदिबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा हाम्रा ती अद्वितीय एवं दुर्लभ थिति पनि थमौती गर्नुपर्ने दिन आए । यस्ता परम्परामा अझ बढी त महिलाहरू क्रियाशील हुने हुँदा यो प्रयास महिला समाजप्रति बढी केन्द्रित गर्नु राम्रो होला । यसमा महिला वर्गलाई बढी परिचालन गर्नु झन् बढी प्रयोजनीय हुने देख्छु । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *