भर्खरै :

‘देश र जनताको हितबाहेक नेमकिपाको अरु स्वार्थ छैन’ – अध्यक्ष रोहित

भक्तपुर, २८ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पार्टीका नेता–कार्यकर्ताहरूले, जनप्रतिनिधिहरूले देश र जनताको हितमा सङ्घर्ष गर्नुबाहेक कुनै व्यक्तिगत र पार्टीगत फाइदा नलिएको स्पष्ट पार्नुभएको छ ।
पार्टीको भक्तपुर नगर निर्वाचन परिचालन समितिद्वारा टौमढी चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष रोहितले नेमकिपाले सुरुदेखि नै भ्रष्टाचारविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दै भ्रष्टाचारमुक्त नगर, गाउँ र जिल्ला बनाउन लाग्दै आएको बताउँदै नेमकिपाका उम्मेदवारहरू विजयी भएपछि भ्रष्टाचार अन्त्य गरेरै छाड्नेछन् भन्नुभयो ।
भक्तपुर नगरलाई सांस्कृतिक नगर बनाउनुपर्ने र भक्तपुरको कला, संस्कृति, विशेष सीप र अनुभवलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने औंल्याउँदै अध्यक्ष रोहितले अब निर्वाचित हुने जनप्रतिनिधिहरूले त्यतातिर विशेष ध्यान दिनेछन् भन्नुभयो ।
महिला हकहितका निम्ति भनपालगायत नेमकिपाका कार्यकर्ताहरू निर्वाचित हुने हरेक स्थानीय तहले शिशुशालाको बन्दोबस्त, साक्षरता शिक्षा, स्वास्थ्य परीक्षण शिविर, स्वास्थ्य केन्द्र र चौकी सञ्चालन, सीपमूलक तालिम र प्रशिक्षण सञ्चालन गर्नेछन्, उहाँले भन्नुभयो ।
विपक्षीहरूले अनेक अपराध गरेर त्यसको दोष नेमकिपामाथि लगाउने दुष्प्रयास विगतमा भएको र आज पनि गर्दै गरेकोले जनताले राम्ररी खोजबिन गरेर सत्य तथ्यबारे अवगत हुन उहाँले आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले भक्तपुरलाई सांस्कृतिक नगर बनाउनुपर्नेमा उल्टो काङ्ग्रेस, एमाओवादीलगायत दलहरूले अत्यन्त झूटा हल्ला फैलाएको बताउँदै तिनीहरू भक्तपुरको विकासका विरोधी हुन् भन्नुभयो ।
कला र संस्कृति संरक्षण र प्रवद्र्धन भएको, शिक्षा र सीपमा अगाडि बढेको, सबै आवश्यकता र पूर्वाधार विकास भएको विश्वबारे जानकारी राख्ने नगर सांस्कृतिक नगर हुने बताउँदै उहाँले विरोधीहरूले सांस्कृतिक नगरलाई ‘चिडियाखाना’ भनेर भक्तपुरकै जनताको अपमान गरेका छन् भन्नुभयो ।
उहाँले नेका–एमाओवादी गठबन्धनको वर्तमान सरकारका परराष्ट्रमन्त्री महतले भारतीय निर्देशनअनुसार नेपाल–चीनबीचको ओबीओआर सम्झौताबाट नेपाल–चीन बीच स्वतन्त्र व्यापार सम्झौता र नेपाली तथा चिनियाँ मुद्रामा व्यापार गर्न सकिने प्रावधान हटाएको र त्यो राष्ट्रघात भएको स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले नेमकिपाले विगतदेखि नै भक्तपुरलाई सफाइ, शिक्षा, कला–संस्कृति संरक्षण, अपराध र भ्रष्टाचारमुक्त नगरको नमुना बनाउँदै आएकोमा त्यसलाई निरन्तरता दिंदै विकासका थप काम योजनाबद्ध रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगत १५ वर्षदेखि स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माण ३०–४० वर्ष पछि परेको उल्लेख गर्दै उहाँले त्यसमा जनआन्दोलनको सफलतापछि स्थानीय तह पुनःस्थापना र निर्वाचन गर्न नचाहेका शासक दलहरू दोषी छन् भन्नुभयो ।
नेमकिपाका उम्मेदवारहरू विजयी भएपछि नेमकिपाको घोषणापत्रअनुसार लागू गर्दै जनताको समस्या समाधान गर्दै जाने उहाँले बताउनुभयो ।
उपमेयर पदका उम्मेदवार रजनी जोशीले नगरको भूमिलाई भूउपयोग नक्सा तयार गरी आवासीय, औद्योगिक, कृषि, सांस्कृतिक आदि क्षेत्र निर्धारण गरी विकास गर्नेलगायत विभिन्न प्रतिबद्धताहरू जनाउनुभयो ।
दसवटै वडाका वडाअध्यक्ष उम्मेदवारहरूको तर्फबाट वडा नं. ७ का उम्मेदवार उकेश कवांले युवाहरूलाई प्राविधिक शिक्षा र सीप दिई स्वरोजगार र रोजगारयुक्त बनाउने, वडावडामा खेलकुद समिति गठन र खेल पूर्वाधार निर्माण गरी खेल क्षेत्र विकास गर्नेलगायत भावी योजनाहरू प्रस्तुत गर्नुभयो ।
सभामा नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले शासक दलहरू जनतालाई झुक्याउन अनेक मीठा मीठा आधारहीन आश्वासन र नारा दिइरहेको बताउँदै त्यसमा नफसी जनताले नेमकिपाका कर्मठ उम्मेदवारहरूलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
सभापतिको आसनबाट नेमकिपा भक्तपुर नगर निर्वाचन परिचालन समितिका संयोजक रवीन्द्र खर्बुजाले नेमकिपाका उम्मेदवार व्यक्ति जोसुकै भए पनि विजयी भएर उसले पार्टीको घोषणापत्र र जनइच्छाअनुसार काम गर्ने स्पष्ट पार्नुभयो । जनसभामा सञ्चालक नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले भक्तपुरमा नेमकिपा एकाधिकारवादी भयो भनी नेका, माओवादी र एमालेलगायतले आरोप लगाउनु आधारहीन भएको बताउनुभयो ।
जनसभामा विनोद विकलगायत कलाकारहरूले जनचेतनामूलक चुनावी गीतहरू प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *