भर्खरै :

हामी जितेको खण्डमा घोषणापत्रलाई कार्यान्वयन गर्नेछौं– सुनिल प्रजापति

(बिहीबार नेमकिपाले भक्तपुरको टौमढीमा टोलमा आयोजना गरेको चुनावी सभामा मेयर प्रत्यासी उम्मेदवार सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्य–सम्पादक)
नेपाल मजदुर किसान पार्टी कामदार वर्गको पार्टी हो । नेपाल मजदुर किसान पार्टीले वैदेशिक हस्तक्षेपविरुद्ध देशको सार्वभौमिकता रक्षाको निम्ति निरन्तर आवाज उठाउँदै आएको छ ।
संविधान निर्माणको बेला भारतीय हस्तक्षेपको विरोधमा होस् या भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत सीमा मिचेको अवस्थामा होस् नेपाल मजदुर किसान पार्टीले सडक र सदनमा सङ्घर्ष गर्दै आयो । साम्राज्यवादी देशहरूले एक स्वतन्त्र देशमाथि आक्रमण वा हस्तक्षेप गरेको बेला नेमकिपाले न्यायप्रेमी जनताको पक्षमा ऐक्यबद्धता जनाउँदै अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्दै आएको छ ।

साम्राज्यवादी र विस्तारवादीहरू नेपालमा कुनै पनि तहको निर्वाचन हुन नदिने पक्षमा छन् । निर्वाचन नगराउन शासक दलहरूलाई विभिन्न नाउँमा उचालिरहेका छन् । आफ्नो अनुकूलतामा मात्रै निर्वाचन गर्नेे पक्षमा रहेका दलहरू विभिन्न वाहानामा निर्वाचनलाई पछाडि धकेल्न खोज्दै थिए र छन् । नेपालको राजनैतिक अस्थिरतामा आफ्नो स्वार्थ पूरा हुने देख्नेहरू अहिले पनि निर्वाचन चाहिरहेका छैनन् । विदेशीको इसारामा चल्ने दलहरूले नेपालमा १५ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन बनाए । जनप्रतिनिधि नहुँदा जनताले धेरै दुःख पाए । तैपनि शासक दलहरू आफूलाई निर्लज्जतापूर्वक लोकतन्त्रवादी र प्रजातन्त्रवादी दावी गर्छन् । १५वर्ष जनप्रतिनिधि खाली हुनु भनेको जनप्रतिनिधिहरूको तीन कार्यकाल हो । देशको विकास ३०।४० वर्षपछि प¥यो । एक कार्यकालमा करिब दुई लाख जनप्रतिनिधिहरूले विकास निर्माणमा काम गर्ने अवसर पाउँथे । करिब छ लाख युवाहरू विकास निर्माणको काममा सहभागी हुनबाट वञ्चित भए । ती युवाहरू अहिले विदेशमा गएर विदेशीको दास बन्न बाध्य छन् । शासक दलहरू नै यसका दोषी छन् ।
नेपाल मजदुर किसान पार्टीले प्रतिगमनविरोधी आन्दोलनकै बेलादेखि स्थानीय निकायको पुनःस्थापनाको विषय उठाएको थियो । आन्दोलनको बलले प्रतिनिधिसभा पुनःस्थापना भयो तर स्थानीय निकाय पुनःस्थापनातर्फ शासक दलहरूले ध्यान दिएनन् । नेमकिपाका अध्यक्ष का. रोहितले पुनःस्थापित संसदमा स्थानीय निकाय पुनःस्थापनाको प्रस्ताव दर्ता गराउनुभयो तर त्यसलाई छलफलमा ल्याइएन । १५ वर्षसम्म तीन शासक दलहरूले स्थानीय निकायको बजेट भागबण्डा गरेर ब्रम्हलुट गरेर खाए ।
संविधान निर्माणको बेला स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन हामीले जोड दियौं । स्थानीय तह भनेको हामी जनताको नजिकको सरकार हो । स्थानीय निकाय बलियो भए जनता बलिया हुन्छन्, जनता बलियो भए प्रजातन्त्र बलियो हुन्छ । हामीले त्यसकारण संविधान निर्माणको क्रममा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन जोड दिएका थियौं ।
शासक दलहरू संविधानले स्थानीय तहलाई दिएको अधिकार पनि खोस्न खोज्दैछन् । संविधानले स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई राष्ट्रिय सभाका सदस्यहरूलाई मतदान गर्ने अधिकार दिएको छ । तर नेका, माओवादी र मधेसी दलहरू संविधान संशाधन गरेर जनताका प्रतिनिधिहरूको त्यो अधिकार खोस्न खोज्दैछन् । जन प्रतिनिधिहरूको अधिकार खोसिनु भनेको जनताको अधिकार खोसिनु हो । त्यो कुनै हालतमा हामीलाई स्वीकार्य छैन ।
प्रदेशको सिमाना हेरफेर गर्न प्रदेशको सहमति लिनुपर्ने संवैधानिक वन्दोबस्त छ । तर अहिले सहमति नाउँमा प्रदेशसँग परामर्श लिए पुग्ने व्यवस्था गर्न खोजिंदै छ । यो आपतिजनक विषय हो । हामीले बनाएको संविधान कार्यान्वयनविना भारतको इसारामा पटक पटक संशोधन गर्नु देशघाती काम हो ।
हामी स्थानीय तहको निर्वाचनको संघारमा छौं । यति खेर हामी भक्तपुुर नपाको प्रमुख, उपप्रमुखलगायत विभिन्न पदमा उम्मेदवारी दिएर तपाईंहरूसँग मत माग्दैछौं । विगतका दिनहरूमा भक्तपुरका जनताले हामीलाई विश्वास गरी पटक पटक जिताउनुभयो । हामी निर्वाचनमा जिते पनि वा हारे पनि जनताको बीचमा थियौं र छौं ।
तपार्इंहरूले आ–आफ्नो मत दिएर पटक पटक नगरपालिकामा पठाउनुभयो, संसद र संविधान सभामा गएर देशको संविधान निर्माण र कानुन बनाउने अवसर पनि दिनुभयो । हामी जहाँ गयौं त्यहाँ जनताको पक्षमा लड्यौं ।
अहिले नेपाल मजदुर किसान पार्टीले हामीलाई प्रमुख उपप्रमुखको उम्मेदवार बनाएको छ । हाम्रो उम्मेदवारी कुनै ब्यक्ति विशेषको उम्मेदवारी होइन । नेपाल मजदुर किसान पार्टीको उम्मेदवारी हो । हामी पार्टीको नीति र निर्देशनमा चल्दै आएको छौं र चल्दै जानेछौं ।
यसअघिका जनप्रतिनिधिहरूले सुरु गर्नुभएका राम्रा राम्रा जनहितका कार्यहरूलाई हामीले निरन्तरता दिनेछौं र नयाँ नयाँ कामहरूको प्रारम्भ गर्नेछौं । भक्तपुरलाई सफा, स्वच्छ र सुन्दर नगर बनाउने हाम्रो प्रयास रहनेछ । त्यसमा तपाईंहरूको साथ, सहयोग र समर्थन रहने हाम्रो विश्वास छ ।
ख्वप विश्व विद्यालय स्थापना भक्तपुरका जनताको माग हो । लामो समयदेखि जनताले माग गरेपनि अहिलेसम्म त्यो पूरा भएको छैन । विश्वविद्यालय स्थापना गरी मेडिकल कलेज खोलेर जनताका छोराछोरीहरूलाई सस्तो सुलभ तरिकाले मेडिकल शिक्षाको पहुँच पुयाउने हाम्रो प्रयत्न रहनेछ ।
भक्तपुर सरसफाइमा उदाहरणीय बनेको, कला संस्कृतिको संरक्षित जीवित सङ्ग्राहालयको रुपमा रहेको भक्तपुरलाई अझ ब्यवस्थित र भ्रष्टाचारमुक्त नगर बनाउने हाम्रो प्रयास हुनेछ ।
हालै २५ वेदको स्वीकृति प्राप्त ख्वप अस्पताललाई सुविधा सम्पन्न र स्तरीय अस्पताल बनाइ जनताको सेवामा लगाइने छ । संविधानले रोजगारीको सुनिश्चितता नगरेको कारण कैयौं युवाहरू रोजगारीको निम्ति विदेश पलायन भइरहेका छन् । ती युवाहरूलाई प्राविधिक शिक्षा दिएर आत्मनिर्भर हुन सिकाइने छ ।

भक्तपुरलाई पर्यटकहरूको गन्तव्य स्थलको रुपमा विकास गर्नें हाम्रो प्रयास हो । त्यसको लागि पर्यटकहरूसँग सम्बन्धित विभिन्न कुटिर उद्योगहरू सञ्चालनमा जोड दिइनेछ र युवाहरूलाई विभिन्न भाषाका तालिमहरू दिने बन्दोबस्त गरिनेछ । भूकम्प पीडितहरू अहिले पनि टहरामा बस्न बाध्य छन् । भूकम्प पीडितहरूलाई पुनः निर्माणको विशेष योजना तयार गरिने छ । नक्सापास गरी वा मापदण्ड पूरा गरेरमात्रै घर निर्माण गर्न नगरवासीहरूलाई उत्साहित गरिनेछ ।
खेलकुदलाई जीवनको अभिन्न अ·को रुपमा विकास गर्न टोल टोलमा खेलकूद समितिहरूलाई सकृय बनाइने छ । राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरू तयार गर्न खेलकुदको पुर्वाधारहरू तयार गर्न विशेष ध्यान दिइने छ ।
वृद्ध वृद्धाहरू उचित स्याहारको निम्ति नगरपालिका स्वयंले आदर निकेतनको व्यवस्था गर्ने प्रयास गर्नेछ ।
किसानहरू बाहुल्य भएको भक्तपुर नगरमा किसानहरूको हितको निम्ति नयाँ नयाँ बीउ विजन, कटिनाषक औषधिबारे र कृषिसम्बन्धी नयाँ नयाँ तालिमहरू सञ्चालन गरी उत्पादकत्व बढाउने काममा जोड दिइनेछ ।
हनुमन्ते खोलाको फोहरको कारण अहिले हामीलाई समस्या छ । भक्तपुरमा रहेका दुईवटा उपचार पोखरीहरू पुनः प्रयोगमा ल्याउने कोशिश गरिने छ । अथवा फोहर ढल सिढै खोलामा नमिसाई स–साना उपचार पोखरीको बन्दोबस्त गरी उपचारपश्चात पानी खोलामा पठाउने व्यवस्था मिलाउन जोड दिइनेछ ।
हामीले घोषणापत्रमा यी नै कुराहरू उल्लेख गरेका छौं । हामी नेमकिपाका प्रतिनिघिहरूजितेर गएको खण्डमा घोषणापत्रलाई कार्यान्वयन गर्नेछौं । घोषणापत्र हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिवद्धता पूरा गर्नको निम्ति नेमकिपालाई जिताउन अनिवार्य छ । नेमकिपा देश र जनताको पक्षमा समर्पित पार्टी हो । नेमकिपा अहिले चुनावी मैदानमा उभिरहेको छ ।
निर्वाचन एक वचारिक सङ्घर्ष हो । यो एक वर्गीय सङ्घर्ष पनि हो । नेमकिपाले कामदार वर्गको प्रतिनिधित्व गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *