– सरोजराज गोसाई

भाइरल रोगको उपचार
कोभिड १९ को कुनै औषधि पत्ता लागेको छैन । कुनै पनि भाइरसविरुद्ध आजसम्मको चिकित्सा विज्ञानले कुनै बुटि भेट्टाएको छैन पनि । त्यस्तो ओखति बनेको भए एचआईभीलगायत सार्स, मार्स, इन्फ्लुयन्जा, रेविज आदि विभिन्न भाइरल रोगबाट लाखौँले जीवन गुमाउनु पर्दैनथ्यो होला ।
भाइरसलाई कुनै जीव नै होइन भन्ने तर्क पनि गरिन्छ । भाइरस आफै वृद्धि हुनसक्दैन, कुनै जिवित कोष (होस्ट सेल) भित्र नछिरेसम्म भाइरस निर्जिव अवस्थामै रहन्छ । होस्ट सेलमा छिरिसकेपछिमात्र भाइरस सक्रिय हुन्छ । एउटा जीवित कोषमा हुनुपर्ने न्यूनतम संरचनाहरू जस्तो न्युक्लियस, सेल मेम्वे्रन आदिसमेत हुँदैन भाइरसमा । भाइरसमा आणुवंशिक सामग्री डीएनए (डीअक्सिराइबोन्युक्लिक एसिड) वा आरएनए (राइबोन्युक्लिक एसिड) र त्यसलाई ढाक्ने प्रोटिन र लिपिड (चिल्लो पदार्थ) मात्र हुन्छन् । भाइरस कुनै अर्को जीवित कोषविना हुर्कन वा वृद्धि हुनसक्दैन । यस मानेमा भाइरस जहिलेसुकै परजीवि हुन्छ । भाइरसको कुनै स्वतन्त्र जीवन हुँदैन ।
भाइरस एक सूक्ष्म जीव हो । सामान्य सूक्ष्मदर्शक यन्त्रबाट यसलाई देख्न सकिन्न । भाइरस हेर्न इलेक्ट्रोन माइक्रोस्कोपकै सहारा लिनुपर्छ । भाइरस घरघरमा प्रयोग हुने खानेपानीको फिल्टरले छान्न सक्दैन । आकारको हिसाबमा भाइरस व्याक्टेरियाभन्दा अत्यन्तै सानो हुन्छ । खानेपानीको फिल्टरले व्याक्टेरियामात्र छान्न सक्छ । हेपाटाइटिस भाइरसको साइज ४५ नानोमिटर (१ मिटरको एक अरब भागको एक भागलाई एक नानोमिटर भनिन्छ) । यसबाट भाइरसको सूक्ष्मता अनुमान गर्न सकिन्छ । एउटा भाइरस यदि सामान्य सुटकेश बराबर भए व्याक्टेरिया माइक्रोभ्यान बराबर हुन्छ । संरचनाको हिसाबमा व्याक्टेरिया भाइरसभन्दा जटिल हुन्छ । त्यस हिसाबमा व्याक्टेरियामा विभिन्न शारीरिक प्रक्रिया (फिजियोलोजिकल फङ्सनहरू हुन्छन् र ती प्रक्रियामा अवरोध खडा गर्न सकिए व्याक्टेरियाको वृद्धि रोक्न सकिन्छ । भाइरस व्याक्टेरियाभन्दा सानो र कम जटिल हुने भएकोले पनि त्यसलाई निस्क्रिय पार्ने औषधि बनाउन वैज्ञानिकलाई चुनौती बनेको हो ।
भाइरस मानिस वा अन्य जीवको कोषमा सजिलै रजगज गर्नसक्छन् । कति जीवको कोषले नै भाइरसलाई स्वागत गरिरहेको हुन्छ, मानौँ भाइरस आफ्नै शरीरको एक भाग हो । जसरी ट्रोजन हर्सलाई विपक्ष सेनाले तानेर आफ्नो देशभित्र लगेका हुन्छन् त्यसरी नै जीव कोषले भाइरसलाई स्वागत गर्छ । अन्तमा जसरी ट्रोजन हर्सभित्रका सेनाले स्वागत गर्ने सेनालाई नै सिध्याएर आफ्नो साम्राज्य स्थापित गर्छ त्यसरी नै भाइरसका आणुवंशिक सामग्री (डीएनए वा आरएनए) वृद्धि हुन्छन्, ती प्रत्येक टुक्रा डीएनए वा आरएनएबाट हजारौँ नयाँ भाइरस बन्छन् । अन्तमा कोषलाई काम नलाग्ने बनाइदिन्छ । सबै भाइरसहरू सङ्क्रमित कोष फुटाली बाहिर निस्किन्छन्, नयाँ कोषहरू आक्रमण गर्न ती तयार हुन्छन् र यो क्रम जारी रहन्छ ।
रोगप्रतिरोधी क्षमता एकै उपाय
कसैमा भाइरस सङ्क्रमणको प्रभाव कस्तो हुन्छ भन्ने कुरा त्यस व्यक्तिको रोग प्रतिरोधी क्षमतामा निर्भर हुन्छ । सामान्यतः मानिस निरन्तररूपमा अनेक व्याक्टेरिया, भाइरस, प्रोटोजोवा वा अन्य बाह्य तत्वविरुद्ध लडिरहेकै हुन्छ र धेरै हदसम्म सफलता पनि पाइरहेको हुन्छ । तर, कहिलेकाहीँ रोग निम्त्याउने कीटाणु (प्याथजेन) आक्रमण यति कडा वा सघन हुन्छ कि त्यस्ता सङ्क्रमणको प्रतिरोध गर्न शरीर असक्षम हुन्छ । सङ्क्रमणको मात्रा र शरीरको प्रतिरोधी क्षमताको सन्तुलन मिल्न नसक्दा मानिसमा रोगका लक्षण देखापर्छन् ।
मानिसको शरीरले रोगविरुद्ध अनेक किसिम र क्षमताका ‘सेना’ परिचालन गरेको हुन्छ । आँखाले नदेख्ने जीवाणु शरीरभित्र नपसून् भनी शरीर छालाले ढाकिएको छ । सामान्यतः छाला छिचोलेर जीवाणु मानिसको शरीर भित्र छिर्न सक्दैन । छालामा कुनै घाउ भएमा भने जीवाणुले मानिसको शरीरमा प्रवेश पाउन सक्छ । आँखामा रहेको लाइसोजाइम, मुखको एन्टिसेप्टिक, आन्द्राको म्युकस आदिले पनि व्याक्टेरिया वा भाइरसलाई रोक्ने प्रयाश गर्छन् । तर, जसरी विभिन्न सुरक्षा घेरा तोडेर आक्रामक सेना अगाडि बढ्छ, त्यसरी नै अनेक किटाणु वा विषाणु मानिसको शरीरभित्र छिर्छन् ।
शरीरमा रोगका कीटाणु प्रवेश गरेपछि सेतो रक्तकोष (ह्वाइट ब्लड सेल्स वा डब्लुबीसी) ले तिनलाई निस्तेज गर्ने प्रयास गर्छन् । डब्लुबीसीका विभिन्न प्रकार हुन्छन् । तीमध्ये कतिले बाह्य कीटाणुलाई निलेरै सकाइदिन्छन् भने कतिलाई टुक्राटुक्रा पारिदिन्छन् । साथै शरीरभित्र पसेका कीटाणुविरुद्ध हुने एउटा प्रतिरोध युद्धको नाम हो एन्टिजेन–एन्टिबडी रियाक्सन । यसमा पनि मानिसको एन्टिबडीले बाह्य कीटाणु (एन्टिजेन) सँगको युद्धमा सफलता प्राप्त गरेमा मानिस स्वस्थ हुन्छ । त्यस्तै शरीरको कुनै भाग वा अङ्गमा कुनै कीटाणुले आक्रमण गर्दा त्यो भाग रातो हुन्छ, केही सुनिन्छ वा तातिन्छ, यसलाई वैज्ञानिक भाषामा इन्फ्लामेसन भनिन्छ । इन्फ्लामेसन पनि मानिसको रोग प्रतिरोधको उदाहरण हो । यस्ता प्रतिक्रिया देखिएनन् भने मानिसमा रोग प्रतिरोध भइरहेको छैन भन्ने बुझ्न सकिन्छ ।
कुनै रोगको सङ्क्रमण हुँदा मानिसमा ज्वरो पनि आउँछ । ज्वरो आफैमा कुनै रोग नभई रोगको लक्षण हो । ज्वरो कुनै पनि व्याक्टेरिया, भाइरस वा प्रोटोजोवाको सङ्क्रमण भएपछि देखिने लक्षण हो । ज्वरो शरीरको एक प्रतिक्रिया पनि हो । सामान्यतः रोगका कीटाणुहरू मानिसको सामान्य तापक्रम (३७ डिग्री सेल्सियस) मा सबभन्दा राम्रो वृद्धि हुन्छ । शरीरको तापक्रम बढ्नुको अर्थ ती कीटाणुको वृद्धिलाई कम गर्नु हो । त्यसैले ज्वरो आउँदैमा धेरै आत्तिनु आवश्यक छैन । कुनै सङ्क्रमणको कारण ज्वरो आएमा शरीरको रोग प्रतिरोधी क्षमताले काम गरेको भन्ने सम्झनु उपयुक्त हुन्छ । तर, उच्च तापक्रमले शरीरका विभिन्न फिजिअलोजिक फङ्कसनहरूले काम गर्न नसक्ने भएकोले शरीरको तापक्रम नियन्त्रणमा राख्नु आवश्यक छ । उच्च तापक्रमले मानिसलाई अचेत बनाउन पनि सक्छ ।
कति भाइरस इन्फेक्सको स्मरण डब्लुबीसीमा रहेको हुन्छ र पछि कुनै समय फेरि उही कीटाणुको सङ्क्रमण भएको खण्डमा तत्कालै ती भाइरसलाई निस्तेज पार्न शरीर सफल हुन्छ । जस्तो हाँडे एक पटक लागेपछि फेरि लाग्दैन । त्यही प्रतिरक्षा प्रणालीका कोषहरूको ‘स्मरण’ ले पछिका सङ्क्रमणमा काम गरेको हुन्छ ।
भ्याक्सिन र रोगप्रतिरोधी क्षमता
भ्याक्सिनले पनि रोग प्रतिरोधी क्षमता बढाउन सक्छ । भ्याक्सिन ‘फलामले फलामलाई काट्छ’ भन्ने सिद्धान्तअनुसार बनाइएको हुन्छ । कुनै रोगविरुद्ध भ्याक्सिन बनाउन त्यही रोगको कारक कीटाणुलाई नै प्रयोग गरिएको हुन्छ । तर, भ्याक्सिनमा कुनै रोगको कारक कीटाणुलाई कमजोर बनाइएको हुन्छ वा मृत्त कीटाणु प्रयोग गरिएको हुन्छ वा कीटाणुको कुनै एउटा अंशमात्र भ्याक्सिनमा राखिएको हुन्छ । भ्याक्सिन दिइएपछि मानिसको शरीरले त्यो साँचो कीटाणु सजिलै चिन्छ कुनै बेला त्यस्तोे बाह्य वा हानिकारक तत्व मानिसको शरीरभित्र पसेमा तीमाथि आक्रमण सुरु हुन्छ । भ्याक्सिको डोज एक पटक पूरा भएपछि जिन्दगीभर सम्बन्धित रोगविरुद्धको एन्टिबडी तयार भएर बसेका हुन्छन् । परिणामस्वरूप मानिस स्वस्थ हुन्छ ।
कोरोना भाइरसबाट मानिस सङ्क्रमित भइहालेमा रोग निको पार्ने कुनै औषधि बनेको छैन, न त कोभिड १९ को कुनै भ्याक्सिन नै बनेको छ । मानिसले प्राकृृतिकरूपमा प्राप्त गरेको रोग प्रतिरोधी क्षमताले नै भाइरसलाई निस्तेज पार्ने हो । जसको रोग प्रतिरोधी क्षमता कमजोर छ, तिनलाई सञ्चो हुन गा¥हो हुन्छ नत्र सामान्य भाइरस इन्फेक्सेनमा जस्तै मानिस निको हुन्छ । कतै भाइरस इन्फेक्सनको उपचार नभएकै कारण मानिस मरेको पनि पाइन्छ । खासमा कोभिड १९ रोगबाट बच्न मानिसले आफ्नो प्रतिरोधी क्षमता बढाउनुबाहेक कुनै उपाय छैन ।
रोग प्रतिरोधी क्षमता बढाउन के गर्न सकिन्छ त ? आराम र पर्याप्त सुत्नु आवश्यक भएको विज्ञले सुझाएका छन् । शरीरको एन्टिबडी प्रोटिनबाट बन्न भएकोले भटमास, सिमी, चना, केराउजस्ता गेडागुडी, दाल, माछामासु तथा दूध खानु उपयुक्त हुन्छ । तनावले मानिसको रोग प्रतिरोधी क्षमता घट्ने सम्भावना हुन्छ । रोग प्रतिरोधी क्षमता वृद्धिको लागि सन्तुलित आहार आवश्यक छ । यसको निम्ति शारीरिक व्यायाम सकारात्मक छ । पर्याप्त पानी सेवन उपयुक्त मानिएको छ । लामो लामो सास फेर्नु पनि फाइदाजनक मानिएको छ । भिटामिन डी पनि पर्याप्त चाहिन्छ, त्यसको निम्ति कम्तीमा १५ मिनेट बिहानी घाम ताप्न चिकित्सकले सुझाव दिएका छन् ।
कोभिड १९ को कारण नेपाल पनि लकडाउन छ । घर कोठामै बस्ने भएकोले शक्ति प्रदान गर्ने भात, रोटी, मकै, आलुजस्ता कार्वोहाइड्रेटयुक्त खाना सामान्त्न्दा कम खानु उपयुक्त हुन्छ । चिल्लो खानेकुरा पनि कम गर्नु उपयुक्त हुन्छ । नत्र मोटोपन बढेर थप समस्या आउन बेर हुन्न । यसबेला नअतालिई सही सूचनाको भर गरी व्यवहारमा परिवर्तन गर्नुपर्ने विज्ञको सुझाव छ । राम्रा पुस्तक अध्ययन गर्ने, राम्रा चलचित्र हेर्न, आफ्नो जीवनको अनुभव लेख्ने, विभिन्न शब्द खेल वा पजलहरूमा व्यस्त हुने आदिले मानसिक तागत दिन्छ । मानसिक तागत सबभन्दा शक्तिशाली हुन्छ ।


(लेखक ख्वप कलेज, प्राणीशास्त्रका अध्यापक हुन् –सम्पादक)