– तारानाथ आचार्य
बलेवा, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् ।
कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा छन् । स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीईको व्यवस्थापनमा सक्रियता बढाइएको छ भने प्राथमिक स्वास्थ्य चौकी र केन्द्रलाई तयारी अवस्थामा राखिएको नगर कार्यपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेका बेला जैमिनी नगरपालिकाले कुनै पनि तयारी गरेको छैन । सङ्क्रमित देखापरेमा राख्नुपर्ने क्वारेन्टिन, बिरामी पुष्टि भएमा चिकित्सकको निगरानीमा राख्नुपर्ने आइसोलेसनलगायतका कुनै पनि पूर्वाधारको तयारी नरहेको नगर कार्यपालिकाले जनाएको छ । जैमिनी नगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयोे, “शान्ति माविलाई क्वारेन्टिन बनाउने भन्ने छ । आवश्यक परे नजिकका विद्यालय प्रयोग हुन्छन् ।” जानकारीको अभावले तयारी गर्न नसकिएको उहाँले बताउनुभयो । सम्बन्धित विषयका विज्ञ नगरमा नरहेको र हल्लाका भरमा तयार भएका पूर्वाधारले काम नदिने उहाँको तर्क छ । हामीसँग ज्वरो नाप्ने सेन्सर थर्मोमिटरसमेत छैन, खरिदका लागि खोजेको धेरै भयो तर बजारमै पाइँदैन । उहाँले भन्नुभयो, “जो कोहीले उपलब्ध गराए भुक्तानी गर्न तयार छौँ ।”
लकडाउनको समयमा बाहिर ननिस्कन, कोरोनाका कारण हुनसक्ने क्षति, लक्षण र सावधानीका उपायको विषयमा भने प्रचारप्रसार गरेर चेतना फैलाउने काममा लागिएको उहाँले बताउनुभयो । जैमिनीमा अत्यावश्यक औषधिको भने अभाव नरहेको र मास्क तथा सुरक्षा सामग्रीको प्रबन्ध भइरहेको उहाँको दाबी छ ।
बरेङ गाउँपालिकाले आवश्यक औषधिको तयारी थालेको छ । विपद् व्यवस्थापनका लागि भन्दै रु. १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाले सोही रकमले औषधि, मास्क, स्यानिटाइजर तथा सुरक्षा सामग्रीको प्रबन्ध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । गाउँपालिकाले बाटाकाचौरमा रहेको जनता प्राविमा २५ जना अट्न सक्ने क्वारेन्टाइन बनाएको छ ।
कृषि कर्मबाट नै बरेङका सर्वसाधारणको दैनिकी चल्ने भएकाले पाँच जनाभन्दा धेरै जम्मा भएर खेतबारीको कामसमेत नगर्न आग्रह गरिएको थापाले बताउनुभयो । गाउँमा मल
(गाईभैँसीको गोबर) बोक्ने बेला भएको छ । थापाले भन्नुभयो, “हुँद्धा (समूहमा गरिने काम) लगाउँदा समेत पाँच जनाभन्दा धेरै नहुन भनेका छौँ । सहरबजारमा फैलिएको कोरोना त्रासका कारण गाउँ फर्किएका युवालाई लकडाउनमा सम्हाल्न बरेङलाई धौधौ भएको छ । २०÷२५ जना जम्मा भएर पिकनिक खान खसी डो¥याएर हिँडेको देखेपछि रोक्यौँ । उहाँले भन्नुभयो, “सुरक्षाकर्मी नै परिचालन गरेर वनभोज खाने, धेरै जम्मा भएर तास खेल्नेजस्ता क्रियाकलाप बन्द गर्न लगाएका छौँ ।”
यस्तै बडिगाड गाउँपालिकाले जिल्ला समन्वय समितिको भवनमा क्वारेन्टिन निर्माणको तयारी थालेको छ भने ताराखोलाले हिल स्वास्थ्य चौकीलाई क्वारेन्टिन बनाएको छ । ताराखोलाका पाँच वडाका स्वास्थ्य संस्थामा कम्तीमा चार शय्याको आइसोलेसन बनाउने तयारी पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । निसीखोलाले गाउँकार्यपालिका नजिकै रहेको एक विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताउनुभयो । तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाले पनि आवश्यक तयारीका लागि छलफल चलाइरहेको जनाएका छन् ।
लकडाउनपूर्व नाकामा हेल्थ डेक्स र १० जनाभन्दा धेरै जम्मा नहुन आग्रह गर्दै आएको गल्कोट नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनको तयारी गरिरहेको जनाएको छ । काठेखोला गाउँपालिकाले आठ वटै वडालाई आइसोलेसनसहित क्वारेन्टाइन व्यवस्थापन गर्न भनेको छ । वडा नं ४ तङ्ग्राम र ८ लेखानीले स्थानीय विद्यालयमा क्वारेन्टाइन बनाएको जनाएका छन् भने बाँकी वडाले खाली रहेका र बस्तीदेखि टाढा रहेका विद्यालयलाई प्रयोगमा ल्याउने जनाएका छन् । ‘ज्वरो नाप्ने मेसिन त छैन के क्वारेन्टाइन बनाउनु खै’ वडा नं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भन्नुभयोे, “वडाले सक्नेजति सबै तयारी भइरहेकै छन् ।” गाउँपालिकाले कार्यपालिका नजिकै रहेको भीमसेन माविमा क्वारेन्टाइन निर्माण गर्न सकिने जनाएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *