भर्खरै :

रोग लुकाउनु मूर्खता हो

नेपालमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका तीनै जना बिरामी विदेशबाट फर्केका नेपालीहरू हुन् । नेपालभित्रै सङ्क्रमण भएको हालसम्म कुनै पुष्टि भएको छैन । स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रेस नोटमा हालसम्म सरूवा रोगसम्बन्धी प्रयोगशालामा गरिएका ६ सय वटा परीक्षणमध्ये तीनबाहेक सबै निगेटिभ आएको जनाएको छ । यद्यपि विभिन्न जिल्लामा क्वारेन्टिनमा बस्ने नागरिकको सङ्ख्या एकाएक बढेको छ । जिल्ला–जिल्लामा उच्च ज्वरोका बिरामी बढेको समाचारस्रोतहरूले बताएका छन् । त्यसको अर्थ ज्वरो वा खोकी आउँदैमा कोही पनि बिरामीलाई कोभिड–१९ को सङ्क्रमित भनिहाल्न मिल्दैन । कोभिड–१९ को परीक्षण गर्ने किटमा प्रयोगशाला परीक्षणपछि नै मात्र सङ्क्रमित भएको–नभएको पुष्टि गर्न मिल्छ ।
तर, कसैलाई ज्वरो आएको छ र कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण आफूमा पनि देखिएको छ भने परीक्षण गराउन अनकनाउनु वा डराउनु हुन्न । कोभिड–१९ जो कोहीलाई पनि लाग्नसक्ने रोग हो । कोभिड–१९ बाट सङ्क्रमित हुनेबित्तिकै मानिसको निधन हुने होइन । कोरोना भाइरसका अन्य थरीभन्दा कोभिड–१९ भाइरसको मृत्युदर न्यून छ । त्यसकारण सङ्क्रमितमध्ये ९३ प्रतिशत मानिस पूर्णतः निको भएर घर फर्केका छन् । कुनै पनि रोगबाट मुक्त हुने उपाय भनेको रोगको उपचार नै हो । आफूलाई रोग लागेको छ भने उपचारमा जानु नै सबभन्दा बुद्धिमानी हो । रोग लुकाएर रोगको उपचार हुनसक्दैन ।
कोभिड–१९ बाट सङ्क्रमित व्यक्तिलाई आफू सो रोगबाट सङ्क्रमित भइसकेको थाहा नहुन सक्छ । दुई सातासम्म सङ्क्रमणको कुनै लक्षण नदेखिन सक्छ । तर, त्यो व्यक्तिले अर्को व्यक्तिलाई अनजानमै सङ्क्रमण गरिरहेको हुनसक्छ ।
हालसम्म पुष्टि भएका सङ्क्रमण विदेशबाट फर्केका मानिसमा नै देखिएको हुनाले स्वभावतः विदेशबाट हालसालै फर्केका नेपालीहरूले यसमा सावधानी अपनाउन जरूरी छ । विदेशमा फर्केका नेपालीमा हाल कुनै रोगका लक्षण नदेखिए पनि पूर्वसावधानीवश क्वारेन्टिनमा बस्न जरूरी छ । आफ्नो परिवार, छरछिमेक, देश र सिङ्गो विश्वका मानिसको निम्ति यो कदम आवश्यक छ । थोरै लारबाहीले पनि धेरै क्षति भोग्नुपर्ने अवस्था आउनसक्छ । युरोपेली देशहरूले सुरूमै सावधानी नअपनाउँदा ठूलो क्षति भोग्नुप¥यो । त्यो अवस्था संसारका अरू कुनै पनि देशमा आउन दिनुहुन्न । तसर्थ रोगलाई लुकाउनु वा डराउनु आत्मघाती हुन्छ ।
विडम्बना ¤ केही अस्पतालमा स्वास्थ्यकर्मीहरूले सुरक्षाका साधन नभएकोले ज्वरो वा रूघाखोकीका बिरामीको उपचार गर्न अनकनाइरहेका छन् । तसर्थ सरकारले तत्काल स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक सबै सामग्री उपलब्ध गराउनुपर्छ । विदेशबाट ती सामान आउने प्रतीक्षा नगरौँ । स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाउन सकिने सामग्रीको उत्पादन नेपालमै गरौँ । विभिन्न क्षेत्रमा क्रियाशील असल मानिसहरूको साथ सहयोग सरकारले यतिबेला माग्नुपर्छ । संसारले महाविपत्ति भोगिरहेको यो बखत विदेशको मुख ताकेर बस्नु उचित होइन । त्यसको निम्ति नागरिकसमक्ष आवश्यक सहयोगको लागि सरकारले आग्रह गरोस् । यो साझा लडाईँमा नागरिकले राज्यप्रति र राज्यले नागरिकप्रति सहयोगको परिस्थिति बन्नुपर्छ । राज्यले जनतालाई झुक्याउने वा सूचनाबाट विमुख राख्ने गल्ती नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *