सुनिता गाइसी

मानिस सामाजिक प्राणी हो । समाजमा रहेका चालचलन र संस्कारसँग मितेरी साइनो जोड्दै उसको जीवन चलेको हुन्छ । समाजमा व्याप्त कतिपय नराम्रा कुराहरूमा पनि मानिस जानी नजानी फसेको हुन्छ । त्यस्तैमध्ये धूमपान पनि एक हो । अधिकांश मानिसहरू यसको कुलतमा फसेका हुन्छन् । यसको नकारात्मक असरबारे थाहा पाउँदा पाउँदै पनि यसबाट छुट्कारा पाउन सकेको हुँदैन । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकका ७२ प्रतिशत घरमा न्यूनतम एक जनाले धूमपान गर्ने गरेको पाइएको छ । नेपालका महिला सुर्तीसेवनमा विश्वका महिलाहरूमा प्रथम स्थानमा छन् भने पुरुषहरूमा दक्षिण कोरिया प्रथम स्थानमा छ । भौगोलिक क्षेत्र र परिवेशअनुसार धूमपान गर्ने महिलाको सङ्ख्या फरक फरक हुने गरेको छ ।
नेपालको सन्दर्भमा तराईको तुलनामा पहाडमा र पहाडको तुलनामा हिमाली क्षेत्रका महिलाले बढी धूमपान गर्ने गरेको पाइन्छ । गाउँघरमा अशिक्षा, गरिबी, बेरोजगारी, आनन्द उठाउने विकल्पको रूपमा पनि यसलाई लिइन्छ । गाउँतिर खेतीपाती, मेलापातको काममा महिलाहरू संलग्न हँुदा थकाइ मार्न पाउने हुनाले पनि धेरै महिलाहरू धूमपानका शिकार हुने गरेका छन् । यस्तै गरेर सहरमा रात्रि मनोरञ्जन स्थलमा काम गर्ने, मनोरञ्जन गर्न आउने, डान्सबार, डिस्को, क्लव, पार्टीहरूमा बढी सहभागी हुने महिलाहरू धूमपानको कुलतमा फस्ने गरेको देखिन्छ । आधुनिकताको नाउँमा आफ्नो सुन्दर जीवनलाई नै दाउमा राख्नु कतिको सही हो ? विचार गर्नुपर्ने बेला भइसकेको छ । किशोरीहरूमा चुरोटको लत लाग्नुको पछाडि विभिन्न कारणहरू रहेका छन् । पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत, साथी सङ्गत, बढ्दो पाश्चात्य संस्कृतिप्रति आकर्षण तथा कतिपय मानसिक तनावको कारण हुने गरेको छ ।
आजकल युवाहरूमा धूमपान फेसनको रूपमा चलेको छ । आफूलाई आधुनिक देखाउन पनि धूमपान गर्ने गरेका छन् । धूमपान गर्नाले सबैमा नराम्रो असर पार्दछ । सुर्तीजन्य वनस्पति टोवाकमको पात सुकाएर विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी विभिन्न चुरोट, सुर्ती, पराग, गुट्खा इत्यादि बनाइन्छ । हाल आएर शैक्षिक संस्थाहरूमा पनि यसको असर देखापर्न थालेको छ । बिहानी कक्षा सञ्चालन हुने कलेजहरूको वरपरका चिया पसलमा सबेरैदेखि चियासँगै चुरोट तान्नेहरूको जमातै भेटिन्छ । कक्षा सकेपछि पनि फेरि चिया पसल पसेर चुरोट तान्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको कुरा चिया पसलका सञ्चालकहरू बताउँछन् । यसरी धूमपान गर्नेमा पहिला केटाहरूको सङ्ख्या बढी हुन्थ्यो भने हाल आएर केटीहरू पनि उत्तिकै हुने गरेको उनीहरू बताउँछन् । व्यस्त जीवन शैलीका कारण आमा बुबाले आफ्ना छोरा छोरीलाई समय दिन नसक्नु र उनीहरूको हरेक इच्छा पूरा गर्नाले पनि यस्ता समस्याहरू बढ्दै गएको पाइन्छ । कतिपय पारिवारिक समस्याबाट मुक्त भइन्छ भनी धूमपान गर्न थालेको भन्छन् । हालै गरिएको अनुसन्धानले पुरुषको तुलनामा महिलाहरूमा धूमपान गर्दा २ गुणा बढी फोक्सोको क्यान्सर हुने खतरा देखाएको छ । चुरोट, सुर्तीमा भएका हानिकारक तत्वले शरीरभित्र पसेपछि मुटु, रक्तनली, श्वासप्रश्वास प्रणाली र मानसिक असरहरू गर्दछ ।
धूमपानका विभिन्न नकारात्मक असरहरू छन् । धूमपानकै कारण महिलाहरूको प्रजनन क्षमतामा असर गर्दछ र उनीहरू कहिल्यै आमा बन्न पाउँदैनन् । चुरोट, सुर्ती सेवन गर्ने महिलाहरू दम रोगको शिकार हुन्छन् । धूमपान गर्ने महिलाहरूको महिनावारीमा गडबडी हुन सक्दछ । धूमपान नगर्ने महिलाभन्दा धूमपान गर्ने महिला धेरै रिसाहा, डाहा गर्ने, एकैपल्ट हतास हुने, सधँै तनावमा रहने, अरुबाट असुरक्षित रहेको ठान्ने गर्दछ । चुरोट, सुर्तीमा रहेको निकोटिनले महिलाको हर्मोन्स निर्माण गर्ने ग्रन्थिहरूमा नकारात्मक प्रभाव पार्दछ । फलस्वरूप महिलाहरूमा विभिन्न यौन समस्या र बाझोपन हुनसक्ने कुरा स्त्रीरोग विज्ञहरू बताउँछन् । त्यसैले हरेक महिलाले आफ्नो खानपान र जीवन शैलीमा विशेष ध्यान दिन जरुरी छ । हरेक महिलाको चाहना वा सपना आमा बन्ने हुन्छ तर युवा अवस्थामा गरेको गल्तीले जीवनभरि पछुताउनुपर्ने हुनसक्छ ।
चुरोट नपिउने महिला चुरोट पिउने महिलाभन्दा ५० प्रतिशतले बढी आकर्षक र सुन्दर देखिन्छन् । महिलाले आफ्नो सौन्दर्यलाई कायम राख्न पनि यस्ता कुराहरूबाट टाढै रहनुपर्दछ । धूमपानले पुरुषको तुलनामा महिलालाई बढी असर पार्दछ । कम उमेरमै चाउरीपन देखिन्छ । विश्वका १२ प्रतिशत महिला, त्यसमा पनि विकसित देशमा २४ प्रतिशत र विकाशील देशमा ७ प्रतिशत महिलाहरूले धूमपान गर्ने गरेका छन् । धूमपानको कुलतबाट एकैपल्ट बाहिर निस्कन सकिँदैन । प्रयास गरेमा नसकिने पनि होइन । मानिसले चाहेको खण्डमा धूमपानबाट मुक्ति पाउन सक्छ, एकै पटक चुरोट छोडन गा¥हो हुन्छ । त्यसैले दिनदिनै चुरोट वा सुर्तीको सङ्ख्या वा मात्रा कम गर्दै यसबाट छुट्कारा पाउने कुरा धूमपानको कुलतबाट सुध्रिएकाहरू बताउँछन् । यसका लागि उसले आफूलाई विभिन्न सृजनात्मक काममा लगाउने र आफूलाई व्यस्त राख्ने गर्नुपर्दछ । यस्ता कुलतबाट समयमै सबै सचेत रहनुपर्दछ । अभिभावकहरूले आफ्ना बालबच्चाहरूलाई सकेसम्म बढी समय दिने र उनीहरूको कुरा सुन्ने गर्नुपर्दछ ।

सुनिता गाईसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *