भर्खरै :

भारतमा आप्रवासी मजदुरको लामो काराभान

नयाँ दिल्ली
भारत सरकारले देशभरि लक डाउन घोषणा गरे पछि दिल्लीमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका लाखौं मजदुरहरू समस्याको ठूलो चपेटामा परेका छन् । दैनिक ज्यालादारी गरेर जीवन चलाइरहेका मजदुरहरूको रोजगारी सरकारले लक डाउन घोषणा गरेसँगै खोसियो । गोजीमा खर्च भएसम्म उनीहरूले केही दिन हातमुख जोडे । २१ दिनको लक डाउनमा दिल्लीमा टिक्न नसकिने भए पछि दिल्लीबाट लाखौं लाख मजदुरहरू आ–आफ्नो गृहनगरतिर यात्रा गरिरहेका छन् । लक डाउनमा बस, रेललगायत सबै सार्वजनिक यातायातका साधन समेत बन्द भए पछि उनीहरू पैदल आफ्नो घरतिर लागेका हुन् । यसरी घर फर्किने मजदुरहरू कम्तीमा सय किलोमिटरदेखि सात सय किलोमिटरसम्म पैदल यात्रा गर्दैछन् ।
लक डाउन घोषणासँगै दिल्लीमा दैनिक अत्यावश्यक सामानको मूल्य अचाक्ली बढ्यो । दैनिक रोजगारी खोसिएपछि आफू बस्दै आएको कोठाको भाडा समेत तिर्न सक्ने अवस्था रहेन । सरकारले केही स्थानमा निःशुल्क खाना वितरण गरेको छ । तर, लाखौं लाख मानिसलाई सरकारले यसरी निःशुल्क खाना पु¥याउन सकेन । खाना पाउन पनि दैनिक घण्टौं लाइन बस्नुपर्ने अवस्था आयो । फलतः कोभिड–१९ को संक्रमणबाट जोगिन भन्दा पनि भारतका जनता भोकबाट जोगिन घर घर फर्केका छन् ।
द टाइम्स अफ इन्डियाले शनिबार प्रकाशित गरेको एक समाचारअनुसार दिल्लीबाट मध्यप्रदेशतिर झण्डै दुई किलोमिटरको यात्रा गरे घर जाँदै गरेका एक ३९ वर्षका व्यक्तिले बीच बाटोमै प्राण त्याग गरेका छन् । उनी दिल्लीको रेस्टुराँमा डेलिभरी ब्वायको काम गर्थे । रेस्टुराँ बन्द भए पछि उनले त्यो काम पाएनन् । उनी बाध्य भएर फर्किनुप¥यो । घर पनि पुग्न नपाई उनी संसारबाट बिदा भए । मुस्किलले पानीको भरमा सयौं किलोमिटरको यात्रा गरिरहेका अरु पनि लाखौं मानिस यसरी यात्रा गरिरहेका छन् । केही सञ्चारमाध्यमले यसलाई ‘लङ काराभान अफ इन्डिया’ अर्थात् भारतको लामो लर्कोको संज्ञा दिएका छन् ।
कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणको लागि भारतले लक डाउन गर्दा आप्रवासी र दैनिक ज्यालादारी मजदुरहरूको उचित व्यवस्थापन भने सरकारले गर्न सकेको देखिएन । लाखौं मानिस एकै चोटी यसरी लामो यात्रामा निस्कँदा भारतमा संक्रमणको सम्भावना र जोखिम बढेको छ । भारतमा पछिल्लो समय कोभिड–१९ भाइरसबाट संक्रमितको संख्या बढेको छ । हालसम्म भारतमा संक्रमितको संख्या १ हजार २४ पुगेको छ । मर्नेको संख्या १९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *