कोभिड–१९ को महामारीविरुद्धको धुवाँ नउड्ने लडाइँमा लड्ने सिपाहीँ हुन् स्वास्थ्यकर्मी । आज देशैभरिका स्वास्थ्यकर्मी सजगताका साथ यो लडाइँ लड्न तम्तयार छन् । यो लडाइँमा हाम्रो जीत र हार तिनै स्वास्थ्यकर्मीको हातमा छन् । तर, युद्ध मैदानको अग्रमोर्चामा लड्ने सिपाहीँको मनोबलले पनि युद्धको हारजीत निर्धारण हुन्छ । सिपाहीँको मनोबल ऊसँग भएका हतियार, उसलाई प्राप्त हौसला आदि धेरै कुराले निर्धारण गरेको हुन्छ । कोभिड–१९ विरुद्ध मैदानमा उत्रेका नेपालका स्वास्थ्यकर्मी भने आज आफूसँग हतियार नै नभएको र भएको पनि कमसल भएको भन्दै सरकारसमक्ष दुःखेसो पोख्दै छन् । सिमाना नाकाबाट भित्रिने नेपालीको ज्वरो नाप्न तैनाथ स्वास्थ्यकर्मीलाई सरकारले उपलब्ध गराएको ज्वरो नाप्ने यन्त्रसमेत दिइएको श्रव्यदृश्य सार्वजनिक भएका छन् ।

सरकारले चलाएको कुनै पनि अस्पतालको भौतिक पूर्वाधार भरपर्दो देखिएन । निजी अस्पतालले सङ्कटको समयमा पुच्छर लुकाएर जनतालाई धोखा दिएका छन् । सरकारले आफ्ना अस्पताललाई साधनस्रोत सम्पन्न र व्यवस्थित गर्न सकेको छैन । आजसम्मका सरकार वास्तवमा जनताको हितमा बनेका सरकार नभएको यथार्थ यस्तो परिणामले देखाएको छ । कसले के बोल्छ र भन्छ भन्दा पनि उसले के काम गर्छ र त्यसले कस्तो परिणाम दिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । सरकारका गतिविधिको परिणामले यो र यसअघिका सरकारहरू व्यापक जनताको हितमा नबनेको आजको महामारीको समयमा प्रमाणित भएको छ ।

अस्पतालका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मुखमा लगाउने सर्जिकल मास्कलगायत अत्यावश्यक सामग्रीसमेतको अभाव हुँदा अधिकांश स्वास्थ्यकर्मी आज अलमलमा परेका छन् । कोही आशङ्कित बिरामी अस्पताल आइहाले आधारभूत सावधानीका पूर्वाधारको अभावमा चिकित्सक स्वयम् बिरामीबाट भाग्नुपर्ने अवस्था निकै चिन्ताजनक अवस्था हो । यसले कोभिड–१९ विरुद्धको लडाइँमा हाम्रो लडाकूलाई उँचो मनोबल दिनसक्दैन ।
आजसम्म सरकारमा गएका राजनीतिक दल, प्रधानमन्त्री र मन्त्री बनेका मानिसहरू पदासीन भएर अकुत सम्पत्ति थुपारे । राजधानीमा चप्पल लगाएर आएका नेताहरूले आज राजधानीमा अथाह सम्पत्ति जोहो गरिसकेका छन् । तर, जनताको स्वास्थ्यलाई ध्यानमा राखी मास्क, पञ्जा, पीपीईलगायत अत्यावश्यक स्वास्थ्य सामग्री सरकारले देशभित्र उत्पादन गर्ने बन्दोबस्त गर्नसकेनन् । कुनै पनि बेला आउन सक्ने यस्ता विपत्ति र जोखिमपूर्ण घडीमा जनतालाई सुरक्षित राख्ने कुनै बन्दोबस्त गर्न आजसम्मका सरकार असफल छन् ।
आजसम्मका सरकारहरूले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पक्षलाई बेवास्ता गरेको आजको विकराल अवस्थाले पुष्टि गरेको छ । संसार नै महामारीमा फसेको बेला नेपालमा पनि यस्तो हालत हुनु स्वाभाविक हो भन्ने कुतर्क गरेर सरकार आफ्नो कमजोरीबाट छुट पाउन खोजिरहेको छ । तर, अहिलेको विकराल अवस्थाबाट सरकारले आफ्नै बलबुट्टामा जनस्वास्थ्यका आधारभूत प्रणालीसमेत नबनाएको पुष्टि गरेको छ । सरकारले जनस्वास्थ्यमा आजसम्म गरेका काम दातृनिकाय र अन्तर्राष्ट्रिय औषधि व्यापारीलाई खुसी बनाउनमा केन्द्रित भएको देखिन्छ । विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले दिएको रकम खर्च गर्नमात्र केही जनस्वास्थ्यसम्बन्धी कार्यक्रम भएका छन् । औषधिको अन्तर्राष्ट्रिय व्यापारीले उत्पादन गरेका औषधिको परीक्षण गर्नमात्र जनस्वास्थ्य क्षेत्रमा केही काम भएको देखिएका छन् । सरकारले यहाँको आवश्यकता र भविष्यमा आउन सक्ने सम्भावित जनस्वास्थ्य सङ्कटलाई ध्यानमा राखी जनस्वास्थ्यका पूर्वाधार निर्माणको काम भएको देखिएन । ।
सरकारले चलाएको कुनै पनि अस्पतालको भौतिक पूर्वाधार भरपर्दो देखिएन । निजी अस्पतालले सङ्कटको समयमा पुच्छर लुकाएर जनतालाई धोखा दिएका छन् । सरकारले आफ्ना अस्पताललाई साधनस्रोत सम्पन्न र व्यवस्थित गर्न सकेको छैन । आजसम्मका सरकार वास्तवमा जनताको हितमा बनेका सरकार नभएको यथार्थ यस्तो परिणामले देखाएको छ । कसले के बोल्छ र भन्छ भन्दा पनि उसले के काम गर्छ र त्यसले कस्तो परिणाम दिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । सरकारका गतिविधिको परिणामले यो र यसअघिका सरकारहरू व्यापक जनताको हितमा नबनेको आजको महामारीको समयमा प्रमाणित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *