भर्खरै :

कर्णालीका ग्रामीण भेगमा कोभिड–१९ को त्रास

काठमाडौँ, १५ चैत । भारतमा कोरोना भाइरसको त्रासपछि हिमा गाउँपालिका जुम्लाका २४ जना रातारात गाउँ पुगे । नेपालमा भएको ‘लक डाउन’ को कुनै पर्वाह नगरी गाउँ पुगेका उनीहरूलाई गाउँपालिकाले स्थानीय राजदेव माध्यमिक र भानु माध्यमिक विद्यालयमा बनाइएका क्वारेन्टिनमा राखेको छ । क्वारेन्टिनमा बसेकाहरूलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण नदेखिए पनि गाउँलेहरू भने त्रसित छन् ।
भारतबाटै फर्किएका जाजरकोटका ११ जना नेपालगञ्ज क्वारेन्टिनबाट भागेर गाउँ पुगे । क्वारेन्टिनबाट भागेपछि चौतर्फी खैलाबैला मच्चियो । भेरी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा भारतबाट फर्किएकाहरूलाई घरमै क्वारेन्टिनका रूपमा बस्न आग्रह ग¥यो ।
त्यस्तै दैलेखमा बुधबार एकैपटक १० जनालाई उच्च ज्वरो देखियो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थानीयवासीमा त्रास छायो ।
जुम्ला, जाजरकोट र दैलेखका यी केही प्रतिनिधिमूलक घटनाबाट प्रस्ट हुन्छ, सहर–बजारसँगै ग्रामीण भेगमा समेत कोरोना भाइरसको सन्त्रास छाएको छ । कर्णालीबाट बर्सेनि पैसा कमाउन भारतका विभिन्न स्थान जाने सङ्ख्या बढी छ । खेतीबालीको काम सकेर, चाडपर्व मानेर यहाँबाट सयौँका सङ्ख्यामा भारतका विभिन्न स्थानमा मजदुरी गर्न जाने गर्दछन् । भारतमा कोरोना भाइरसले महामारीको रूप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरू फर्कने क्रम सुरु भएको हो ।
छिमेकी मुलुक भारतका साथै अन्य मुलुकबाट फर्किएकाहरूलाई कोरोना सङ्क्रमणको आशङ्का गर्ने गरिएको छ । होटल व्यवसायी सङ्घ कर्णाली प्रदेश संयोजक तर्कबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई उडान बन्द, छिमेकी मुलुकसँगका नाकाहरू बन्द र लक–डाउनमा ढिलाइ हुँदा गाउँ फकिर्नेहरूको सङ्ख्या बढेको बताउनुभयो । गाउँमै स्वास्थ्य परीक्षण, व्यवस्थित क्वारेन्टिन सञ्चालन र सम्भावित बिरामीलाई तत्काल अस्पताल पु¥याउन नसके गाउँमा भयावह अवस्था निम्तिन सक्छ उहाँले भन्नुभयो, “गाउँमा पनि त्रास बढेको छ, वैदेशिक रोजगारीबाट आउनेहरू गाउँ पुगिसकेको अवस्था छ, स्थानीय तहले गाउँ भित्रिने आगन्तुकको निगरानी राख्न सके कोरोना भाइरसविरुद्धको प्रतिकार्य योजना प्रभावकारी हुनसक्छ ।”
प्रदेश सरकारले चैत पहिलो साता भारतमा रहेका कर्णालीवासीलाई १० दिनभित्र फर्कन आह्वान गरेपछि अव्यवस्थितरूपमा भित्रिने क्रम बढेको बताइएको छ । “सरकारले जो जहाँ भए पनि सुरक्षित हिसाबले बस, आउजाउ नगर भन्नुपथ्र्यो, उल्टै बोलाउने काम भयो,” सुर्खेत चेम्बर अफ कमर्शका अध्यक्ष चिन्तामणि शर्माले भन्नुभयो, “प्रदेश सरकारको यही त्रुटिपूर्ण निर्णयले भारतमा रहेका नेपालीहरूमा झन् त्रास फैलियो ।”
क्वारेन्टिन निर्माणमा ढिलाइ हुँदा भारतबाट फर्केकाहरू सरासर गाउँ जान सफल भएको उहाँले बताउनुभयो । “१४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने भए पनि प्रदेश सरकारले आवश्यक तयारी नगर्दा उनीहरू गाउँ पुगे, अहिले गाउँमा त्रासैत्रास छ”, अध्यक्ष शर्माले भन्नुभयो ।
प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार शय्याका क्वारेन्टिन निर्माण गर्न यहाँस्थित नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले शुक्रबारमात्र निर्माण कार्य पूरा ग¥यो । निर्माण ढिलाइले अन्ततः भारतबाट फर्केका १०२ जनालाई होटल अशोका र आत्मनिर्भर समाजको होस्टेलमा राखिएको थियो । होटलमा बसेकालाई आज घण्टाघर, खुलामञ्चस्थित क्वारेन्टाइनमा सारिएको छ । होटल क्वारेन्टिनमा बसेकाहरूलाई अहिलेसम्म ज्वरो रुघाखोकीको समस्या नदेखिएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
कोरोना भाइरसविरुद्ध प्रतिकार्य अभियानअन्तर्गत स्वास्थ्य क्षेत्रको संयोजन गरिरहनुभएका प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सङ्क्रमण फैलिएका मुलुकबाट मानिसहरू रातारात गाउँ फर्किएपछि गाउँ–बस्तीहरूमा पनि जोखिम देखिएको बताउनुभयो । प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमित बिरामी भित्रिन नदिन उच्च सतर्कता अपनाएको उहाँको जिकिर छ । “हामीले सुरुमै नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँचमा कडाइ ग¥र्यौँ”, भारतबाट आउनेलाई समयमै व्यवस्थापन गर्न नसक्दा केही समस्या देखिए पनि अहिलेसम्म कर्णालीमा कोरोना भाइरसका बिरामी फेला नपर्नु सुखद सन्देश हो,” मन्त्री रावलले भन्नुभयो । “विश्वव्यापी महामारीको रूपमा फैलिइरहेकाले मानिसहरूमा केही त्रास छाएको हो ।
भारतबाट फर्केकाहरू धमाधम गाउँ पुगेपछि प्रदेश सरकार कोरोनाविरुद्धको अभियान गाउँ केन्द्रित गर्ने निर्णयमा पुगेको हो । बिहीबार प्रदेश सरकारका मन्त्री र सचिवहरूको संयुक्त बैठकले स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिन निर्माणका साथै शङ्कास्पद व्यक्तिहरूको खोजी गरी तत्काल उपचारको व्यवस्था मिलाउने निर्णय ग¥यो ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भन्नुभयो, “विदेशबाट फर्कर्नेहरूका कारण गाउँमा पनि कोरोना भाइरसको जोखिम बढी रहेको देखियो, त्यही भएर प्रतिकार्य अभियानलाई गाउँँ केन्द्रित गर्ने भएका हौँ ।” प्रदेश सरकारकै निर्देशनअनुसार कर्णालीका हरेक स्थानीय तहले क्वारेन्टिन निर्माणका साथै जनचेतनामूलक अभियानलाई तीव्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *