भर्खरै :

‘तत्काल कर्णालीमा खाद्य अभाव नहुने’

सुर्खेत, १६ चैत । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कर्णालीका जनतामा खाद्य समस्या हुने हो कि भन्ने चिन्ता थपिएको देखिन्छ । खाद्य अभाव एवम् सङ्कट हुनेमा तत्काल कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेत कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख भीमबहादुर थापाले अढाई महिनासम्म कर्णालीमा खाद्य सङ्कट नहुनेमा ढुक्क रहन नागरिकलाई आग्रह गर्नुभयो । कार्यालय प्रमुख थापाले भन्नुभयो, “हामीसँग हाल ४४ हजार ७८३ क्विन्टल खाद्यान्न सञ्चित छ । यसले कर्णालीको करीब १८ लाख जनसङ्ख्यालाई दुई महिना १५ दिन पुग्छ । यही परिमाणको चामल निजी क्षेत्रसँग पनि छ ।” सुर्खेत कम्पनीले जिरा मसिनो, जापानी, सोना र मोटो चामल रहेको र ती चामलको क्रमश प्रतिकेजी रु. ५५, ५१.५०, ४५ र ४२ मा नागरिकलाई उपलब्ध गराउँदै आएको उहाँले जनाउनुभयो ।
लकडाउनकै अवधिमा मुगुको कालैमा ४४०, पुलुमा १०० र डोल्पाको जुफामा १११ क्विन्टल चामल निर्यात गरिएको उहाँको भनाइ छ । त्यस्तै डोल्पामा एक हजार २००, हुम्लामा ५००, मुगुमा एक हजार ५००, जुम्लामा तीन हजार ५०० र कालीकोटमा तीन हजार ५०० गरी जम्मा १० हजार ५०० क्विन्टल चामल साबिकको कर्णालीको निजी क्षेत्रसँग रहेको उहाँले अवगत गराउनुभयो ।
यता उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले सुर्खेतमा मात्र २५ हजार क्विन्टल बढी चामल रहेको र बाँकी खाद्यान्नको तथ्याङ्क सङ्कलन गर्न थालिएको बताउनुभयो । अध्यक्ष रावतका अनुसार एलपी ग्यासको हालसम्म अभाव नभएको र अब भने ७.१ केजीको ग्यास सिलिन्डर उपलब्ध गराइनेछ ।
खासगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रसँग भएको चामललाई हिसाब गर्दा कर्णालीमा चारदेखि छ महिना पुग्ने खाद्यमा विशेषगरी चामलको अभाव नहुने कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार व्यापार कम्पनीमा रहेको ६३ क्विन्टल सिमी र ५८ क्विन्टल फापर क्रमशः रु. १२० र ५० मा बिक्रीवितरण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *