भर्खरै :

फर्किन थाले भारतीय मजदुर

भक्तपुर, १६ चैत । सुधामा साहको मन झन्डै साता दिनदेखि अन्योलमा बित्यो । देशभर लक डाउन घोषणा भएसँगै काठमाडौँमा बस्ने अथवा घर फर्किने भन्ने तर्कना उनले मनमा धेरै खेलाए । साता दिन (आइतबार फेरि एक साताको लागि थप्ने नेपाल सरकारले निर्णय गरेको छ) को लागि घोषणा गरेको लक डाउनको समयमा जसोतसो काठमाडौँमा बस्ने अथवा जसोतसो घर फर्किने भन्ने अन्योल पार लगाउँदै उनले आइतबार एउटा निर्णय गरे–जसोतसो गरी घर फर्किने । घर फर्किने निर्णय गर्नुपछाडि उनका केही कारण छन्–पहिलो लक डाउन भएपछि यता आफ्नो व्यवसायका सबै काम ठप्प भएको छ । व्यवसाय ठप्प भएपछि आफूसँग बचतमा रहेको केही पैसा पनि क्रमशः पातलिँदै जान्छ । त्यसकारण भक्तपुरकै विभिन्न ठाउँमा फलफूल बेच्ने आफ्नै गाउँका गाउँलेहरूसँग मिलेर घर फर्किने निधोमा पुगेका हुन् ।
“भारतमा पनि लक डाउन छ । तैपनि अहिले घरतिर खेतीको याम छ । यहाँ त्यत्तिकै बस्नुभन्दा घर गएर केही समय बिताउने निधो गरेँ”, सुधामाले भने ।
बितेका दुई दसकदेखि काठमाडौँ उपत्यकामा कुखुराको चल्लाको व्यापार व्यवसाय गरिरहेका उनलाई अब सकेसम्म चाँडो फर्किने अवस्था बन्ने आशा छ ।
सुधामासँगै घर फर्किने तयारीमा जुटेका छन्, भारत मोतिहारीकै वीरेन्द्र साह । कमलविनायकमा घुम्ती फलफूल बेच्ने उनी आफूसँग बाँकी फलफूल पनि कुहिसकेको र थप फलफूल आउने अवस्था नभएकोले घर जाने विकल्प रोजेका हुन् । सुधामा र वीरेन्द्र अरु झन्डै तीस जना भारतीय मजदुरहरू गाडी रिजर्भ गरेर घर फर्के । उनीहरूलाई रिजर्भ गाडीले वीरगञ्जसम्म पु¥याउनेछ ।
“त्यहाँबाट कुनै न कुनै व्यवस्था गरेर घर पुग्नेछौं”, सुधामाले भन्नुभयो ।
काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसाय गरिरहेका लाखौँ सङ्ख्याका भारतीय मजदुरहरूमध्ये अधिकांश यतिबेला घर फर्किने तरखरमा छन् । कति फर्किसकेका छन् । राजधानीको दैनिक जीवन र व्यवसाय बन्द भएपछि उनीहरू स्वदेश फर्किन थालेका हुन् । सरकारले घर जान चाहने मजदुरहरूको लागि अनुमति प्राप्त गाडीलाई गुड्न दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *