भर्खरै :

कीर्तिपुरमा सहिद दिवस

– नारायण महर्जन
चैत २० गते आज कीर्तिपुरमा सहिद दिवस । ऐतिहासिक जन आन्दोलन २०४६ साल चैत २० गते पञ्चायती निरङ्कुश व्यवस्थाको प्रशासनले ४ जना कीर्तिपुर आमाका सपुतहरूमाथि गोली हानेको थियो । प्रहरीको गोलीबाट लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको हत्या भएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीको रूपमा फैलिरहेको छ । बुधबारसम्ममा २०२ वटा मुलुकमा सङ्क्रमित भइसकेको छ भने ४२ हजारभन्दा बढी मानिसको मृत्यु भइसक्यो । कोरोना भाइरसबाट बच्न र बचाउन नेपाल सरकारले दोस्रोपटक सात दिनको लक डाउन घोषणा गरिसकेको छ ।
देश लक डाउन भएकोले सहिद स्मृति व्यवस्थापन समितिले यो वर्ष हुने चैत २० गतेको सहिद दिवसको अवसरमा गरिने कार्यक्रम नगर्ने सूचना जारी गरेको छ ।
तत्कालीन आन्दोलन कीर्तिपुर प्रहरी चौकीतर्फ
ऐतिहासिक जन आन्दोलन २०४६ फागुन ७ गतेबाट सुरु भएको थियो । फागुन ८ गते भक्तपुरमा आन्दोलनकारीहरूमाथि विश्वमै प्रतिबन्ध गरिएको डमडम गोली हानी ४ जना र पछि दुईजना गरी ६ जनाको हत्या भएको थियो । जुनबेला नेमकिपाका नेताहरू पञ्चायती राज्यस्तरबाट रचित षड्यन्त्रमा जेलमा फाँसीको मुद्दाविरुद्ध सङ्घर्षरत थिए ।
पार्टीका नेता तथा कार्यकर्ताहरूलाई फसाएर जेलमा हालेको विरोधमा पञ्चायती व्यवस्था फाल्न नेमकिपा तथा नेमकिपाका युवा विद्यार्थी सङ्घर्षमा होमिएका थिए ।
पञ्चायती शासकले भक्तपुरका जनतालाई गोली हानेर मारे पनि सङ्घर्ष रोकिएन । सङ्घर्षको आगो देशभर झन् दनदन बल्यो । चैत १७ गते पाटनमा पाटनवासीको आन्दोलनमाथि गोली बर्साइयो र २ जना पाटनका सपुतहरूले ज्यान गुमाए ।
सिङ्गो देश पञ्चायती व्यवस्थाको विरोधमा उठ्यो । चैत २० गते पाटन हत्याकाण्डको विरोधमा उपत्यका बन्द थियो । कीर्तिपुरमा बिहानदेखि नै पञ्चायती व्यवस्थाको विरोधमा जुलुस निस्केको थियो । बिहानैदेखि पक्राउ सुरु भएको थियो । साँझ ४ बजे पक्राउ परेकाहरूको रिहा गर्न माग गर्दै जुलुस कीर्तिपुर खासीबजारस्थित प्रहरी चौकीतर्फ गइरहेको थियो । तर, आन्दोलनकारीको मनसाय चौकी आक्रमण गर्नु थिएन । शान्तिपूर्वक चौकीबाट समल जाने तरखरमा अगाडि बढेको थियो । चौकी पुग्नै लाग्दा हेलिकप्टर कीर्तिपुर वरिपरि आकाशमा उड्दै थियो । त्यहीँ हेलिकप्टरबाट गोली गठ्ठा फालेको र टियर ग्यास छोडेको थियो । चौकी नपुग्दै प्रहरीले एक्कासि गोली हान्न थाल्यो । राजमान माली र राजेन्द्र महर्जन चौकी खासीबजारमै ढलेका थिए भने लनबहादुर महर्जन र हिराकाजी महर्जनलाई कुटुझोलमा गोली हानी हत्या गरिएको थियो । गोली हानी हत्या भएका मध्ये ३ जना प्रहरीको कब्जामा लियो भने राजमान मालीलाई जनताको कब्जामा राखेको थियो ।
जनताको कब्जामा रहेका सहिद मालीको चैत २१ गते शवयात्रा गरी स्थानीय देवढोकामा अन्त्येष्टि गरिएको थियो । शोकलाई शक्तिमा बदल्ने अठोटका साथ आन्दोलनमा जनताको सहभागिता भएपछि कर्फ्यु तोड्दै देशभर जनता आन्दोलित भए । चैत २६ गते राति निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएको घोषणा र २७ गते खुला मञ्चमा विजय दिवस मनाइएको थियो ।
कीर्तिपुरको योगदान अविस्मरणीय
ऐतिहासिक जन आन्दोलन सफल पार्न संयुक्त वाम मोर्चा र नेपाली काङ्ग्रेसको आह्वानमा भएको कार्यक्रममा कीर्तिपुरका जनताको योगदान अविस्मरणीय थियो । फागुन ७ गतेदेखि चैत २६ गतेसम्म कीर्र्तिपुरमा आन्दोलन उत्कर्षमा पु¥याउन आन्दोलनकारी शक्तिहरूले सहयोग गरेका थिए ।
आन्दोलनकारीले फागुन ८ गते नै कीर्तिपुर चौकीमा रहेका प्रहरीलाई भगाएको, थाना तोडफोड र जालसाजी डकुमेन्ट जलाएको, प्रहरीसँग मुठभेड, बत्ती निभाउ अभियान (Black Out), मसाल जुलुस, प्रहरी अवरोध गर्न रुख ढाल्ने र बाटो खाल्डो खन्ने, पक्राउ र प्रहरीको हैरानीविरुद्ध पर्चा पम्प्लेटि· आदि कार्यले पञ्चायती व्यवस्था अन्त्यको लागि बल पुगेको थियो ।
अबको आन्दोलन
०४६ सालको आन्दोलन भएको ३० वर्ष पूरा भएको छ । पञ्चायती व्यवस्थाको अन्याय अत्याचारको विरोधमा उठेका शक्तिहरू पटक–पटक सत्तामा छन् । तर पनि आन्दोलनको भावनानुसार जनताको हितमा काम नगरेको, नभएको हामी सबैलाई थाहा छ ।
देशमा अहिले पञ्चायती व्यवस्थामात्र होइन राजतन्त्रको अन्त्य भएर हामी गणतन्त्रमा छौँ । परिवर्तन हुनु आफैँमा खुसीको कुरा हो । तर, परिवर्तनका लागि सहादत प्राप्त सहिद र घाइते योद्धा तथा आन्दोलनकारीको हितमा काम गर्न सकेको भए आन्दोलनको मर्मले स्पर्श पाउँथ्यो । सामन्तवादको अन्त्यपछि र पँुजीवादी गणतन्त्रपछि पनि नेपाल र नेपाली हितमा नभएको अहिले प्रस्टिँदै छ । अर्को आन्दोलनको माग भइरहेको छ । साँचो जनताको प्रजातन्त्रको लागि समाजवादी आन्दोलन अगाडि बढ्नेछ, सहिदको भावना पूरा हुनेछ ।
कीर्तिपुरका सहिदहरूको सङ्क्षिप्त जीवनी
सहिद हिराकाजी महर्जन
इतिहासमा स्वर्ण अक्षर लेखाउन धेरै त्याग, तपस्या र बलिदान चाहिन्छ । स्वर्ण अक्षरले लेखाउन सफल एक सहिद हुनुहुन्छ हिराकाजी महर्जन । उहाँले ऐतिहासिक जनआन्दोलन २०४६ मा पञ्चायती व्यवस्थाको अन्त्यको लागि भएको सङ्घर्षमा चैत २० गते कीर्तिपुरमा सहादत प्राप्त गर्नुभएको थियो । वि.सं. २०२२ साल कुटुझोलमा जन्मनुभएका हिराकाजी महर्जन बुबा हिरालाल महर्जन र आमा ज्ञानी महर्जनको कोखका एक्लो छोरा हुनुहुन्थ्यो । साधारण परिवारमा जन्मनुभएका हिराकाजी महर्जनको परिवार किसान पेशाबाट धानेको थियो । २२ वर्षे हिराकाजी महर्जन मिलनसार र आँटिलो हुनुहुन्थ्यो र हरेक अप्ठ्यारा र गाह्रो काममा सहयोगी हुनुहुन्थ्यो ।
जन आन्दोलनको दौरानमा जुलुुुसमा सहभागी हुन आफ्नै घरबाट निस्केको केही समयपछि नै उहाँ गोली लागी कुटुझोलमै ढल्नुभएको थियो । शान्तिपूर्णरूपले अगाडि बढेको जुलुसलाई अश्रुग्यास र हवाई फायरले पनि छेद नलागेपछि अन्यायपूर्वक गोली चलाइएको थियो । यसरी एक वीर सपुतले प्रजातन्त्रको लागि आफूलाई बलिदान दिनुभयो । नेपालका सम्पूर्ण प्रजातन्त्रप्रेमी जनताको हकहित र मानव अधिकार प्राप्तिका लागि आफू जन आन्दोलनमा समर्पित हुनुभयो ।
सहिद लनबहादुर महर्जन
२०४६ सालको ऐतिहासिक जन आन्दोलनमा देश र जनताको लागि कुर्वाणी गर्नुहुने वर्ष ४० का सहिद लनबहादुर महर्जन एक होनहार युवक हुनुहुन्थ्यो । देश र समाजको हितको लागि सधैँ सक्रिय हुने लनबहादुर महर्जनको २००६ सालमा पिता लालमोहन महर्जन र स्व. आमा मानकुमारी महर्जनका छोरा हुनुहुन्छ । कुटुझोल टोलमा जन्मनुभएका सहिद लनबहादुर महर्जन प्रजातान्त्रिक विचारधारा राख्ने शील स्वभावका व्यक्ति हुनुहुन्थ्यो । उहाँले आनन्दकुटी मावि स्वयम्भूबाट एसएलसीसम्म शिक्षा हासिल गर्नुभएको थियो । स्कूल जीवनदेखि नै विभिन्न खेलकुदमा रुचि राख्नुहुने लनबहादुर महर्जनले फूटबल, व्याटमिन्टनमा पुरस्कारसमेत पाउनुभएको थियो । आफ्नो जीविकोपार्जनको लागि उहाँ हिमाल सिमेन्ट कम्पनी चोभारमा कार्यरत हुनुहुन्थ्यो । जन आन्दोलनको क्रममा निडरताका साथ लाग्नुभएका लनबहादुर महर्जनले आफ्नै जन्मस्थल कुटुझोल टोलमा छातीमा गोली थाप्नुभयो । प्रजातन्त्रको निम्ति आफ्नो बलिदान दिनुभयो ।
सहिद लनबहादुरका श्रीमती शरण महर्जन हुनुहुन्छ । जुनबेला उहाँका दुई छोराहरू सशिन्द्र महर्जन र सुनिल महर्जन तथा दुई छोरीहरू ममिता महर्जन र सुनिता महर्जन हुनुहुन्छ ।
सहिद राजेन्द्र महर्जन
ऐतिहासिक जनआन्दोलनको क्रममा कीर्तिपुरमा उठेको जनताको जुझारु सङ्घर्षमा आफ्नो जीवन बलिदान गर्ने ४ जना सहिदमध्ये कान्छो सहिद वर्ष १८ का राजेन्द्र महर्जन हुनुहुन्थ्यो । कीर्तिपुर वडा नं. २ देवढोकामा वि.सं. २०२८ सालमा बुबा इन्द्रलाल महर्जन र आमा ज्ञानीमाया महर्जनको कोखबाट जेठा छोराको रूपमा जन्मनुभएको थियो । देवढोकाका राजेन्द्र महर्जन कीर्तिपुरमा निस्केको जुलुसमा सहभागी हुने क्रममा अश्रुग्यासको परवाह नगरी प्रजातन्त्र ल्याउँछौँ, ल्याउँछौँ, पञ्चायती व्यवस्था फाल्छौँ, फाल्छौँ भनी गगनभेदी नारा लगाइरहेको बेला गोली चलाउँदा निधारमा गोली लागी खासीबजारमा ढल्नुभएको थियो । गोली लाग्नासाथ आन्दोलनकारी साथीहरूले उपचारको लागि वीर अस्पतालमा पु¥याएका थिए र एक घण्टापछि उहाँको निधन भयो । शव प्रहरीको कब्जामा लिई पशुपतिमा दाहसंस्कार गरियो ।
सहिद राजेन्द्र महर्जनले कालीमाटीस्थित जन प्रभात माविमा कक्षा ९ सम्मको अध्ययन पूरा गर्नुभएको थियो । परिवारमा जेठा छोरा भएकोले परिवारको हेरचाह र व्यवस्था गर्न उहाँ सिकर्मी पेशा गर्दै रहनुभएको थियो । साथीहरूमा मित्रभाव राख्ने सहयोगी स्वभावका राजेन्द्र महर्जनले देश र जनताको हितको लागि आफ्नो प्राणको आहुति दिनुभयो । देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि अतुलनीय योगदान दिनुभयो । हामी पेशाले जुनसुकै स्थानमा रहेको भए पनि देश र जनताको लागि योगदान दिन सकिन्छ भन्ने पाठ राजेन्द्र महर्जनबाट सिक्न सकिन्छ । राजेन्द्रका एक भाइ सुरेन्द्र महर्जन र एक दिदी कान्छीमाया महर्जन हुनुहुन्छ ।
सहिद राजमान माली
पञ्चायती तानाशाही व्यवस्थाको अन्त र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाको लागि भएको २०४६ सालको जन आन्दोलनमा कीर्तिपुरमा सहादत प्राप्त गर्नुहुने वर्ष २३ को लक्का युवा सहिद राजमान माली हुनुहुन्थ्यो । कीर्तिपुरमा सहादत प्राप्त गरेका ४ सहिदमध्ये तीन जनालाई प्रहरीले आफ्नो कब्जामा लिई अन्यत्र नै दाहसंस्कार गरेका थिए भने राजमान मालीको शव जनताको कब्जामा नै राखी चैत २१ गते हजारौँ जनताले जय जयकार गर्दै शोकलाई शक्तिमा बदल्ने अठोटका साथ कीर्तिपुर क्षेत्रमा शवयात्रा गरेका थिए र आफ्नै परम्परागत ढ·ले देवढोकामा दाहसंस्कार गरिएको थियो ।
सहिद राजमान माली वि.सं. २०२४ सालमा बुबा धनसुन्दर माली र आमा राममाया मालीको कोखबाट कीर्तिपुर वडा नं. ५ समलमा साइला छोराको रूपमा जन्मनुभएको थियो । चैत २० गते सङ्घर्षको दौरानमा प्रहरीले चलाएको गोली उहाँको घाँटीमा लागी कुटुझोलमा ढल्नुभएको थियो । जुन बेला उहाँकी धर्मपत्नी ६ महिनाको सुत्केरी हुनुहुन्थ्यो । कुनै पनि राजनैतिक पार्टीमा प्रत्यक्ष संलग्न नभए पनि प्रगतिशील विचारधाराबाट प्रभावित हुँदै अन्याय अत्याचारको विरुद्ध परिवर्तनका बाटोमा अग्रसर हुनुहुन्थ्यो । उहाँको त्याग र बलिदानले हामीले प्रजातान्त्रिक वातावरण र राजनैतिक र मौलिक हक अधिकार पाएका छौँ । उहाँका दुई दाजु धर्मबहादुर माली र सन्तबहादुर माली र तीन भाइहरू गंगामान माली, सूर्यमान माली र राजेन्द्र माली हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *