भर्खरै :

कोभिड–१९ का मृतकको सम्झनामा तीन मिनेट

पेइचिङ, २२ चैत । छिमेकी देश चीनमा हरेक वर्षको अप्रिल ४ लाई आफ्ना पितापुर्खालाई सम्मान प्रकट गर्ने दिनको रूपमा मनाउने परम्परा छ । यो दिन चिनियाँहरू आफ्ना मृतक पुर्खाको चिहान सरसफाइ गर्छन् । पितापुर्खाप्रति आदर र सम्मान प्रकट गर्छन् ।
यो वर्षको अप्रिल ४ भने चिनियाँ जनताको लागि विशेष रह्यो । चीन भर्खरै झन्डै तीन महिना लामो युद्धमा विजयी भएको छ । तङ्ग्रिंदै गरेको चीनले यो वर्षको अप्रिल ४ लाई नोवेल कोरोना भाइरसमाथिको युद्धमा जीवन गुमाएका सबैप्रति सम्मान व्यक्त गर्ने दिनको रूपमा उपयोग ग¥यो ।
शनिबार बिहान चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खस्याङ, चिनियाँ कम्युनिस्ट पार्टीका अन्य वरिष्ठ अधिकारीहरूदेखि चीनभरिका सबै सर्वसाधारणले तीन मिनेट उभिएर कोभिड–१९ को कारण निधन भएकाको सम्मानमा मौन धारण गरेका थिए । राष्ट्रपति सीलगायतका वरिष्ठ अधिकारीहरू पेइचिङस्थित झोङनानहाई कार्यालय परिसरमा उभिएर तीन मिनेट मौन धारणा गर्नुभएको थियो । उहाँहरू सबैले आफ्नो छात्तीमा सेतो फूल सिउरिनुभएको थियो । कोभिड–१९ को कारण जीवन गुमाएका सबैप्रति श्रद्धा व्यक्त गर्न चीनका सबै सरकारी र अन्य कार्यालयमा राखिएका चिनियाँ राष्ट्रिय झन्डा आधा तल झारिएको थियो । विदेशस्थित चिनियाँराजदूतावासमा पनि झन्डा आधा तल झारिएको थियो ।
बिहान दस बजेबाट तीन मिनेट चिनियाँहरू आफू जहाँ भए पनि उभिएर मौनधारणमा सहभागी बनेका थिए । सडक पेटीमा हिँडिरहेका, मेट्रो स्टेसनमा उभिएका, घरमा बसेका सबै चिनियाँ पनि तीन मिनेट उभिएर कोभिड–१९ को युद्धमा मारिएका मानिसप्रति श्रद्धा व्यक्त गरेका थिए । सडकमा गुडिरहेका सबै गाडी, कार, रेल र जहाज पनि सो अवधिमा रोकी हर्न बजाएर मृतकप्रति सम्मान व्यक्त गरेका थिए ।
कोभिड–१९ बाट सबभन्दा बढी प्रभावित हुपै प्रान्तमा पनि विशेष समारोह आयोजना गरिएको थियो । हुपैका अधिकांश सार्वजनिक चोक, अस्पताल, समुदाय र अन्य स्थानमा श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिएको थियो ।
सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भए यता डिसेम्बरदेखि फैलिन सुरु भएको कोभिड–१९ को महामारी सबभन्दा बढी मानिस प्रभावित भएको र नियन्त्रणमा लिन सबभन्दा कठिन भएको घटनाको रूपमा लिइएको छ ।
चिनियाँहरू नयाँ वर्षको भव्य स्वागत गर्ने तरखरमा लाग्दै गर्दा मध्य चीनको हुपै प्रान्तको उहान सहरबाट फैलिएको सङ्क्रमणले झन्डै तीन महिना सम्पूर्ण चीन लगभग गतिहीन बन्यो । अनपेक्षितरूपमा फैलिएको यो प्राणघातक भाइरसलाई पराजित गर्न चीनलाई हम्मेहम्मे प¥यो । तीन हजारभन्दा बढी मानिसको प्राणपखेरु भाइरसले हरण ग¥यो । तीमध्ये कति त हनोहार चिकित्सक र सामाजिक कार्यकर्तासमेत थिए । सङ्क्रमितमध्ये ७६ हजार ७५५ जना निको भएर घर फर्किसकेका छन् । मुख्यभूमि चीनमा विगत २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या १९ रहेको छ भने चार जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *