भर्खरै :

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्यो

लक्ष्मी पोखरेल
धनगढी, २२ चैत । सुदूरपश्चिममा कोरोना भाइरस ( कोभिड–१९) को नयाँ थप तीनजना सङ्क्रमित फेला परेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएको छ । शनिबारमात्र कैलाली र कञ्चनपुर गरी थप तीन जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । सुदूरपश्चिम प्रदेशमा शनिबार यो समाचार तयार गर्दासम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ ।
कैलालीको धनगढीमा कोरोना भाइरस चौथो सङ्क्रमित दुबईबाट फर्किएका पुरुषबाट उनकी ३४ वर्षीया भाउजूमा पनि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । दुबईबाट फर्किएका पुरुषकी भाउजूमा कोरोना भेटिएपछि पहिलोपटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ ।
योभन्दा अगाडि खाडी तथा यूरोपबाट आएका नेपालीहरूमा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीया पुरुष, भारतको मुम्बैबाट फर्किएका कैलालीका २१ वर्षीय युवकमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ ।
केही दिनअघि भारतको उत्तराखण्डबाट फर्किएका वेदकोट नगरपालिका कञ्चनपुरका ४१ वर्षीय पुरुषलाई आज बिहान एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पतालमा ल्याइएको हो । उनलाई यसअघि वेदकोटकै सुन्दरपुर कृषि पाइलट फार्मको क्वारेन्टिनमा राखिएको थियो । आठौँ सङ्क्रमित कैलालीको लम्कीमा भेटिएका कोरोना सङ्क्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट ११ गते लम्की घरमा पुगेका थिए । उनलाई १२ गते लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनको रिपोर्टमा कोरोना भाइरस पोजिटिभ आएपछि एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पतालमा ल्याइएको हो ।
तीनै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ । सङ्क्रमित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
यससँगै देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको उपचार भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर र दार्चुलालगायतका सीमापारि अझै पनि नेपालीहरू अलपत्र परेको खबर आइरहेको छ । यता लामो समय लगाएर पैदल हिँडेर घरसम्म आएका नागरिकहरूको समेत प्रदेश सरकार र स्थानीय सरकारसँग अझै पनि तथ्याङ्क छैन । घरसम्म आएकाहरू पनि क्वारेन्टिनमा नबसी गाउँघरमा घुमफिर गरिरहेका छन्  ।
सरकारले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन र सीमा बन्द गरेको हो । सोही समयमा सुदूरपश्चिम प्रदेशसहित कैलालीका पनि सम्पूर्ण नाका बन्द गरेपछि हजारौँ नागरिकहरू गौरीफन्टा नाकामा एक रात बस्न बाध्य भएका थिए । त्यसको भोलिपल्ट मन्त्रिपरिषद्को बैठकले सीमा नाकामा रोकिएकालाई गन्तव्यमा पठाउने निर्देशनपछि ९ सय ९९ जनालाई गन्तव्यमा पठाइएको थियो । जसमध्ये अधिकांश घर गएका छन् भने थोरैलाई मात्र क्वारेन्टिनमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेशका सीमानाकामा अलपत्र परेका नेपाली नागरिकहरूलाई देशमा ल्याई उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिम प्रदेश अझै कोरोना भाइरसको उच्च जोखिम रहने छ । सङ्क्रमण बढ्दै गर्दा अझ बढी सतर्क हुनुपर्नेमा नागरिकहरूमा लापरबाही देखिन थालेको छ । यसतर्फ सरोकारवाला निकाय जिम्मेवार भई जनतालाई सचेत पार्दै आत्मानुशासन र संवेदनशीलताको सबै क्षेत्रमा आवश्यकता रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *