भर्खरै :

भ्रष्टाचारको कुही गन्धले गन्हाएको नेकपा

प्रधानमन्त्रीको सीधा आदेशमा आपत्कालीन सामान खरिद गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सरकारले कोभिड–१९ को प्रतिरोधको लागि देशभरका स्वास्थ्य केन्द्रमा आवश्यक आपत्कालीन सामान खरिद गर्ने पहिलो पहलमै भ्रष्टाचार भएको पुष्टि भएसँगै सरकारले सेनामार्फत खरिद प्रक्रिया अघि बढाएको हो । सरकारले ओम्नी कम्पनीमार्फत किन्न खोजेको सामान नक्कली भएको, बजार मूल्यभन्दा बढी मूल्यमा सामान खरिद गरिएको र तोकिएको समयमा ती सामान नेपाल ढुवानी गर्न नसकेको कारण ऊसँगको सम्झौता रद्द गरेको हो । सरकारले सरकार–सरकार (जी–टु–जी) सम्बन्धमार्फत सामान खरिद र ढुवानीको लागि नेपाल सेनालाई जिम्मेवारी दिएको हो ।
ओम्नीमार्फत सामान खरिद प्रक्रियामा उपप्रधानमन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारका छोराहरूको संलग्नता रहेको खुलासाकै प्रधानमन्त्रीले सेनामार्फत सामान खरिद प्रक्रियाको निर्णय गरेको देखिन्छ ।

वास्तवमा नेकपा आज भ्रष्टाचारीहरूको सञ्जालको कल्स्टर बनेको छ । अधिकांश नेताहरू भ्रष्टाचारीहरूको नाइके बनेका छन् । सत्ताको आडमा भ्रष्टाचार गर्न पाइने भएकोले नेकपाभित्र ‘कम्युनिष्ट’ बनेका धेरै छन् । उनीहरूले सरकारी कोषमाथि गर्ने भ्रष्टाचारमा नेकपाका नेताहरूको संरक्षण हुने गरेको छ ।

केही सञ्चारमाध्यमले प्रधानमन्त्री आफ्ना वरपरका विश्वासिला मानिसबाट भएको धोखाधडीको कारण आक्रोशित भएको समाचार प्रकाशित गरे । घटनाक्रमले प्रधानमन्त्री वरपरका लोभीपापीहरू यतिबेला निकै सक्रिय भएको देखिन्छ ।
जनतालाई विपद् पर्दा शासक दलका केही नेता–कार्यकर्ता र सरकारी अधिकारीलाई भने ‘दसैँ’ लाग्ने गर्छ । आपतकालको नाममा प्रचलित प्रक्रियासमेत नमानी सामान खरिद गर्न पाउने र विशेष भत्ता पाइने भएकोले ती नेता र कर्मचारीहरूलाई आपत्काल ‘सुनको अण्डा दिने कुखुरा’ समान छ । नेपालको राजनीतिमा बेलाबेला ‘बालुवाटार र सिंहदरबार ठगहरूको घेरामा रहेको’ बारे चर्चा चल्छ । संसार आज कोभिड–१९ विरुद्ध जीवनमरणको सङ्घर्ष गरिरहेको बखत सरकारका निकटवर्तीबाटै देशको ढुकुटीमा ब्रह्मलुट गर्न खोजिएबाट प्रधानमन्त्री ठग र भ्रष्टाचारकै चङ्गुलमा फसिसकेको सङ्केत गरेको छ । प्रधानमन्त्रीले ‘भ्रष्टाचारीको मुखै नहेर्ने’ सार्वजनिक अभिव्यक्ति दिए पनि भ्रष्टाचारीको पहुँच उनको शैयनकक्षसम्म नै रहेको छर्लङ्ग भएको छ ।
वास्तवमा नेकपा आज भ्रष्टाचारीहरूको सञ्जालको कल्स्टर बनेको छ । अधिकांश नेताहरू भ्रष्टाचारीहरूको नाइके बनेका छन् । सत्ताको आडमा भ्रष्टाचार गर्न पाइने भएकोले नेकपाभित्र ‘कम्युनिष्ट’ बनेका धेरै छन् । उनीहरूले सरकारी कोषमाथि गर्ने भ्रष्टाचारमा नेकपाका नेताहरूको संरक्षण हुने गरेको छ ।
नेकपाभित्र बसेर भ्रष्टाचारबाट अछुतो रहने कुरा अब कल्पना बाहिरको कुरा हो । कोभिड–१९ को महामारीविरुद्ध सारा देश एकजुट भएर लडिरहेको समयमा सत्तासीन नेताहरूकै जानकारीमा भएको भ्रष्टाचारले त्यो दलका कतिपय नेता–कार्यकर्ताले व्यक्तिगत स्वार्थसिद्ध गर्न न्यूनतम सुझबुझसमेत गुमाइसकेको देखापर्दछ । कम्युनिष्ट घोषणापत्रमा कार्ल माक्र्सले पुँजीवादी व्यवस्थामा पुँजीपति वर्ग नाफाको लागि न्यूनत्तम सामाजिक नियमसमेत उल्लङ्घन गर्न पछि नपर्ने आशयको कुरा लेख्नुभएको छ । आज माक्र्सले भन्नुभएको लोभीपापी पुँजीपति वर्ग ‘कम्युनिष्ट’ नाम जोडिएको नेकपाभित्र मनग्य छन् । त्यसबाट अब नेकपा कम्युनिस्ट पार्टी हो वा होइन भन्ने बहस नै निरर्थक बनाएको छ । भ्रष्टाचारको कुही गन्धले गन्हाउन थालेको नेकपाले अब एउटा राजनीतिक दलले पालना गर्नुपर्ने न्यूनतम मर्यादासमेत पालना गर्नसक्नेमा विश्वास गर्ने ठाउँ रहेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *