भर्खरै :

कोरोनाले देखाएको वर्गभेद

अनुदीप
कोभिड–१९ ले संसारकै महाशक्ति राष्ट्र संरा अमेरिकालाई पनि हायलकायल बनाएको छ । यो लेखुञ्जेलसम्म सवा दुई लाख सङ्क्रमित र पाँच हजारभन्दा बढी नागरिकको मृत्यु व्यहोरिसकेको संरा अमेरिकामा पाठकले पढ्ने बेलासम्म कति तथ्याङ्क बढ्ने हो ठ्याक्कै भन्न कठिन छ । बेलायती राजकुमार चाल्र्समात्र होइन, सरकारका कार्यकारी प्रमुख जर्मनीका चान्सलर एन्जेला मर्केलसमेत कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, स्पेनका उपप्रधानमन्त्री कार्मेल काल्भो, इरानका महिला तथा पारिवारिक उपराष्ट्रपति, ब्राजिलका राष्ट्रपतिसमेत सङ्क्रमित व्यक्तिहरूको चर्चामा थिए । १० वर्षदेखि जर्मनीको हेस्सी प्रान्तमा अर्थ राज्यमन्त्री थोमस साफरले जिम्मेवारीबारे चिन्तित भएर आत्महत्या गरे ।
त्यसैले महामारी वा प्राकृतिक प्रकोपले धनी–गरिब, महिला–पुरूष, जातजाति, देशी–विदेशी कोही चिन्दैन, कसैलाई विभेद गर्दैन । महाविपत्तिको अगाडि कोही कसैको सम्पत्ति, शक्तिको धाक, रवाफ चल्दैन, कोही ठूलो–सानो हुँदैन भन्ने चलन छ । यी वाक्य सुन्दा मीठो लाग्नसक्छ, सहीजस्तो लाग्नसक्छ । तर, पूर्णतः सत्यवचन होइन भन्ने कोभिड–१९ को महामारीले थप पुष्टि गरेको छ ।
दक्षिण एसियामै कोरोना सङ्क्रमित पहिलो व्यक्ति नेपालमा पत्ता लाग्यो । हालसम्म दक्षिण एसियामै नेपालमा सबैभन्दा थोरै ९ जना सङ्क्रमित व्यक्तिमात्र छन् । भुटानमा जस्तै नेपालमा कोरोना भाइरसकै कारण कसैको ज्यान गएको प्रमाणित भएको छैन । तथापि, नेपालमा कोरोना सङ्क्रमणको महामारी टरिसकेको छैन । बरु कोरोना सङ्क्रमणको त्रासले मनोवैज्ञानिकरूपमा ठूलो क्षति पु¥याइसकेको छ । यही मनोवैज्ञानिक भयकै कारण बुटवल, काठमाडौँ, पाटन र विराटनगरमा उचित उपचारविना कोरोना शड्ढास्पदको नाममा सङ्क्रमित नभएका मानिसको ज्यान गएको छ ।
यतिबेला नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएको छ । लकडाउनको यो सड्ढटमा शासकहरू झन्झन् स्वच्छन्द र निरङ्कुश बन्दै गएका छन् । लकडाउनमा जनता सडकमा आउँदैनन् भन्ने मनसायले शासकहरूले घमण्ड देखाइरहेका छन् । स्वतन्त्र पत्रकारहरू स्थलगत रिपोर्टिङमा आउन सक्दैनन् भन्ने दृष्टिकोणबाट नै शासकहरू स्वयम् गलत सूचना प्रवाह गर्दै छन् । पूर्वाधारविना नै कोरोना विशेष अस्पतालको हल्ला गरेर वा कोरोना सङ्क्रमण उपचार सामग्रीमा अवाञ्छित चलखेल गरेर शासक र शाषितबीचको सम्बन्धमा झन् सन्देह बढाइँदै छ ।
कोरोना भाइरसको यो महामारीले धनी र गरिबको दुरी झन् बढाएको छ । धनी जो सङ्क्रमित भए, तिनीहरूले उचित उपचार पाए । बिनाउपचार कोही धनी मर्नु परेन । तर, गरिबहरूको हालत बयान गरी साध्य छैन । उनीहरुले उचित स्याहार पाएका छैनन् । बिनाउपचार मरिरहेका छन् । कोरोना सङ्क्रमित नै नभए पनि शड्ढाकै भरमा छन् । बुटवलमा लाश उठ्न बाँकी नवराज थापाको शवले सोधिरहेको होला, “सत्तामा पहुँच नहुने र गरिब या गरिखाने जनताले उपचारसम्म पाउने अधिकार छैन ?” जनता घर–घर बस्न बाध्य भएको बेला सरकारलाई जवाफ दिन कसले बाध्य पार्ने ?
मानिसबाट मानिसमा सर्ने भएको हुँदा कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि लकडाउन नै आवश्यक पाइला हो । लकडाउनलाई कतिले रचनात्मक उपयोग पनि गरेका होलान् । धनीहरूको लागि त परिवारका सदस्यहरूसँगै बस्ने अवसर मिलेको छ । दिनदिनै चाडबाडमा जस्तै फरक – फरक परिकार पाकेको छ । तर, गरिब मजदुरको लागि परिवारका सदस्यहरूसँगै बसेर हाँसखेल गर्ने होइन, परिवारका सदस्यलाई कसरी खुवाउने र बचाउने भन्ने चिन्ताले सताएको छ । घरबाहिर जाऔँ कोरोनाले मार्ने डर, घरभित्रै बसे भोकै मरिने डरको दोसाँधमा गरिब मजदुरका परिवार जीवन बिताउँदै छन् ।
केही धनीहरूले दयापूर्वक गङ्गाजल छरेजस्तो खाना बाँडे पनि वा सरकारले राहत दिन्छ भने पनि व्यापक मजदुरको पेट भरिने सुनिश्चितता छैन । त्यसैले ३५–४६ डिग्रीको तापक्रममा पनि सयौँ किलोमिटर हिँडेर भारतमा मजदुरी गर्ने नेपालीहरू फर्केका छन् । भारतको मोदी सरकारले पूर्वतयारीविनाको ‘लकडाउन’ ले नेपाली मजदुरमात्र होइन, भारतीय मजदुरहरू पनि सामाजिक दुरी कायम गर्ने अनुरोधलाई बेवास्ता गरी हिँड्दै छन् । कर्मचारीहरूलाई जस्तै मजदुर र ज्यामीहरूलाई पनि एक महिनाको खर्च दिएर सेलहाट पठाउनुपर्ने विनाखर्च र रेल सेवा बन्द गर्दा बाटो–बाटोमा आज चार–पाँच दिनसम्म एक गेडा अन्न पेटमा नपरेको भन्दै रुने मजदुरहरूको भीड लागेको छ । कोरोना भाइरसको नाममा लकडाउनमा बस्ने धनीहरू मिष्ठान्न परिकार खाँदै छन् भने अर्कोतिर गरिबहरू भोकभोकै टन्टलापुर घाममा जिन्दगी लतार्दै छन् । यसकारण, कोभिड–१९ को महामारीले समाजमा व्याप्त वर्गभेदलाई ह्वाङ्गै देखाएको छ । उत्पादनका साधनहरूलाई शोषणको माध्यम बनाई आर्थिक असमानता कायम गरिराखेकोले आज गरिब मजदुरहरू भोकभोकै मर्नुभन्दा कोरोना भाइरससँग लडेर बाँच्नको लागि भौतारिरहेका छन् । हिँड्दा हिँड्दै यी गरिब मजदुरले रोग र भोकबाट बच्नको लागि वर्गसङ्घर्ष उठाउनुपर्ने बुझेपछि संसारको रूप कस्तो देखिने होला ? कति त पानीसमेत खान नपाएर हिँड्दा हिँड्दै मरे । कोरोना भाइरसले होइन सरकारको पूर्वतयारीको अभावमा ! मोदीले जनतासँग माफी मागेर भोकै मरेका मानिस फेरि उठ्ने होइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *