भर्खरै :

सांसद सुरेन्द्रराज गोसाईको सन्देश

कोरोना भाइरस कोभिड–१९ को महामारीको कारण विश्व नयाँ खालको सड्ढटमा छ । यतिखेर मानव जातिको एकता, सहयोग, सहकार्य र ऐक्यबद्धता सबभन्दा बढी आवश्यक अनुभव गरिइँदै छ । धैर्य, साहस, उच्च मनोबल, प्रबल इच्छाशक्ति र सामूहिक हितको भावना आजको तड्कारो आवश्यकता हो । यही माध्यम या उपायबाट कोरोना भाइरस महामारीविरुद्ध हामीले लड्न सक्नेछौँ र विजय हासिल गर्न सफल हुनेछौँ ।
आजसम्ममा विश्वभरि ७० हजारभन्दा बढीको मृत्यु भइसकेको र लाखौँ सङ्क्रमित भइसकेको अत्यन्त संवेदनशील घडीमा हामी छौँ । हाम्रा सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, ज्येष्ठ नागरिक र हाम्रा प्यारा बालबच्चालाई यो सङ्क्रमणबाट जोगाउनु र जोगिनु आजको एउटैमात्र साझा सवाल हो । तसर्थ, हामी सबै होशियारीपूर्वक, अत्यन्त अनुशासित हुँदै दैनिक जीवनयापन गर्न प्रतिबद्ध होऔँ ! सङ्क्रमण फैलिन नदिनु आजको हाम्रो साझा दायित्व एवम् जिम्मेवारी हो । यसको निम्ति समाजका शिक्षित समुदाय तथा युवा समुदायको सक्रियता, सशक्त भूमिका अति आवश्यक छ । उच्च सतर्कता एवम् तदारुकता अझ बढी आवश्यक छ । त्यसको निम्ति पनि आदरणीय सम्पूर्णमा हार्दिकतापूर्वक अपिल गर्दछु ।
आदरणीय दाजुभाइ, दिदीबहिनी तथा युवा साथीहरू, कोरोना भाइरस महामारीसँग लड्दै गर्दा समयको सही उपयोग, रचनात्मक गतिविधि, सृजना यात्रा, अध्ययन–लेखन, सेवा कर्मले आफूलाई परिष्कृत एवम् सुसंस्कृत बनाऔँ ! सबैले सही सूचना तथा जानकारी सम्प्रेषण गरी व्यापक जनताबीच चेतना फैलाऔँ ! अन्धपरम्परा र अन्धविश्वासलाई निरुत्साहित पारौँ ! आपसी सम्मानभावको विकास गरौँ ! 
यो महामारी एउटा मानवजातिको निम्ति महासङ्कटमात्र होइन महापरीक्षा पनि हो । यसमा सबै उत्तीर्ण हुन प्रतिबद्ध बनौँ ! हिजोका महामारीझैँ यो कोरोना भाइरस महामारीमाथिको विजय पनि सम्भव छ । विश्वमा भइरहेका खोज–अनुसन्धान र प्रयोगले चाँडै सम्भव बनाउने विश्वास व्यक्त गर्दछु ।
आउनुहोस्, मानव जातिको रक्षा, यो समाज, यो देशको भविष्यको निम्ति आ–आफ्नो ठाउँबाट आ–आफ्नो विवेक, आ–आफ्नो शक्ति प्रयोग गरी कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा साहसपूर्वक लडौँ ! हाम्रो अभूतपूर्व एकताले महाविपत्तिलाई निमिट्यान्न पारौँ ! धन्यवाद !
सुरेन्द्रराज गोसाई
बाग्मती प्रदेशसभा सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *