निकोलस माडुरो मोरोस
विश्वका जनताको नाममा
म यहाँहरूमा प्रेमपूर्ण अभिवादन गर्दछु । भेनेजुयलाको शान्ति र स्थिरताविरुद्ध भइरहेका कयौँ घटनाहरूको निन्दा गर्दै म यहाँहरूलाई सम्बोधन गर्ने स्वतन्त्रता चाहन्छु । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस सङ्क्रमण फैलिरहेको बेलामा राज्य र सरकारहरूको ध्यान आफ्ना देशका जनताको स्वास्थ्य र जीवन रक्षामा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो ठहर छ ।
पहिले नै सर्वजनिक भएको तथ्य हो कि गएको मार्च २६ का दिन संरा अमेरिकी सरकारले भेनेजुयाली गणतन्त्रका राष्ट्रपति निकोलस माडुरोलगायत राज्यका उच्च अधिकारीहरूको एक समूहमाथि निकै गम्भीर आरोप घोषणा ग¥यो । (केही दिन अगाडि भेनेजुयाली सरकार अधिकारीहरूमाथि लागूपदार्थ ओसारपसार र आतङ्कवादलाई सहयोग गरेको झूटो आरोप लगाएको थियो ।– अनु.)
अमेरिकी न्याय प्रणालीभित्र औपचारिक अभियोग दायर नगरिकनै चालिएको संरा अमेरिकाको त्यस कदम आफैमा गैरकानुनी त छँदै छ बरु त्यो लागूपदार्थ ओसारपसार र आतङ्कवादलाई सहयोग गरेको झूटो आरोप भेनेजुयाली सरकारलाई अपदस्थ गर्ने एउटै नियतले नै अगाडि बढाएको थियो ।

क्यारिबियाली समुद्रमा भेनेजुयाली भूमि नजिक पुगेको संरा अमेरिकी जल सेनाका युद्धपोतहरू
दक्षिण अमेरिकी महादेशमै खतरनाक तनावलाई जन्म दिएको उक्त अमेरिकी नाटकमा भेनेजुयाली राष्ट्रपति र उच्च अधिकारीहरूबारे सूचना संरा अमेरिकी सरकारलाई दिनेहरूलाई अन्तर्राष्ट्रियरूपमै पुरस्कृत गर्ने असामान्य प्रस्तावसमेत समाविष्ट थियो । त्यसैले मैले यस मामिलामा तथ्यको जानकारी गराउनु अत्यावश्यक ठानेको छु, त्यसबाट अमेरिकी न्याय विभागको आरोपपछाडिको घृणित षड्यन्त्र खुलासा हुनेछ ।
अमेरिकी सरकारको कदमको ठीक एक दिन अगाडि मार्च २५ का दिन बोलिभारियाली गणतन्त्र भेनेजुयलाले आफ्नो देशका राष्ट्रपति निकोलस माडुरो मोरोस, उनको परिवारका सदस्य र राज्यका उच्च अधिकारीहरूको हत्या गर्ने तथा भेनेजुयलाका जनता र सेनामाथि हमला गर्ने उद्देश्यले कोलम्बियाली भूमिमा एउटा षड्यन्त्रकारी प्रक्रिया चलिरहेको भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय जनतासामु त्यसको निन्दा गरेको थियो । उक्त निन्दामा भेनेजुयला सरकारले भेनेजुयलाका एक अवकाशप्राप्त सैनिक जनरल क्लिभर अल्काला त्यस षड्यन्त्रकारी प्रक्रियाको सैनिक प्रमुख रहेको आरोप पनि लगाएको थियो ।
उक्त निन्दा हचुवाको चरमा गरिएको थिएन बरु पूर्ण जिम्मेवारीका साथ गरिएको थियो किनभने त्यसको एकदिन मार्च २४ का दिन कोलम्बियाली भूमि भेनेजुयलासितको सिमाना इलाकामा कोलम्बियाली प्रहरीले एक गैरसैनिक ट्रकमा युद्धका हतियारहरूको एक खेपसहित प्रक्रियामा संलग्न मानिसलाई पक्राउ गरेको थियो ।
उक्त घटनाको अनुसन्धानले ती अत्याधुनिक हतियारको खेप कोलम्बियाली भूमिमा तालिम क्याम्प सञ्चालन गरी तालिम गरिरहेका सबै पूर्व भेनेजुयाली तथा पूर्व कोलम्बियाली सैनिक एवम् अर्धसैन्य दस्ताको भएको खुलासा भयो ।
मार्च २६ का दिन पूर्वउल्लेखित क्लिभर अल्कालाले कोलम्बियाको बाराकिला सहरस्थित आफ्नो निवासबाटै कोलम्बियाली सञ्चारमाध्यमसामु एउटा वक्तव्य दिए । उक्त वक्तव्यमा अल्कालाले उक्त प्रक्रियामा आफ्नो संलग्नता भएको र त्यसको सैन्य नेता आफू भएको स्वीकार गर्दै उक्त हतियारको खेप भेनेजुयलाका सांसद र तथाकथित अन्तरिम भेनेजुयाली राष्ट्रपति एवम् संरा अमेरिकाका खुल्ला दलाल ह्वान ग्वाइडोको खरिद् आदेशबमोजिम आएको खुलासा गरे । उनले उक्त पत्रकार भेटघाटमा ती हतियारहरू भेनेजुयाली राज्य र सरकारका वरिष्ठ अधिकारीहरूको हत्या गर्न सैन्य कारबाही सञ्चालन गर्ने उद्देश्यले नै ल्याएको स्पष्टरूपमा स्वीकार गरे । तिनीहरू आफ्नो उद्देश्यमा सफल भएको खण्डमा भेनेजुयलामा सत्ता विद्रोह हुने थियो ।
पूर्वसैनिक जनरल अल्कालाले ती हतियार ह्वान ग्वाइडो, अमेरिकी सरकारका एक सल्लाहकार तथा कोलम्बियाली राष्ट्रपति तन ड्युकका राजनैतिक सल्लाहकार ह्वान जोसे रेन्डोनबीच भएको सम्झौताअनुसार कोलम्बियाली सरकारलाई थाहा दिएरै खरिद गरिएको स्पष्ट पारे ।
उनको यस स्वीकारोक्तिपछि संरा अमेरिकी सरकारको तर्फबाट एउटा असामान्य प्रतिक्रियात्मक कदम अगाडि आयो, जस्तो कि यस चिठीको अगाडि नै मैले उल्लेख गरिसकेँ । पूर्वसैनिक जनरल अलकालाको नामसित भेनेजुयलाका उच्च अधिकारीहरूको नाम जोडेर भेनेजुयलामाथि लागूपदार्थ ओसारपसार र आतङ्कवादलाई सहयोग गरेको झूटो आरोप लगायो । संरा अमेरिकी सरकारको आरोपले यस्तो प्रतीत गराउन खोज्यो कि अल्काला भेनेजुयलामा आतङ्कवादी हमला गराउनका लागि संरा अमेरिकाले भाडामा लिएका मानिस नभई भेनेजुयाली सरकारका सदस्य हुन् ।
अल्कालालाई पक्राउ गरेको घटना प्रक्रियाले पनि मेरो यस दाबीलाई थप प्रमाणविना नै साबित गरिदिन्छ । अल्कालालाई कोलम्बियाली सेनाले पक्राउ ग¥यो तर कुनै मुद्दा नै नचलाई तुरुन्तै उनलाई संरा अमेरिकाको आगू औषध नियन्त्रण निकायलाई सुम्पिदियो । अर्को रोचक कुरो त त्यत्रो गम्भीर अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्दा कुनै हथकडी लगाइएन बरु पक्राउ गर्न आएकाहरूले ह्यान्ड सेक (हात मिलाएर) गरेर विशेष भीआईस्पीलाई जस्तै प्लेनको अगाडिको विशेष सिटमा बसाएर लगियो । अल्कालाको पक्राउको सिङ्गो प्रक्रियाले त्यो अरू केही थिएन बरु संरा अमेरिकाले आफ्ना खुला भइसकेको एजेन्टलाई बचाएर लान गरेको एउटा रेस्क्यू अपरेसनमात्र थियो ।
असफल बनेको उक्त आतङ्कवादी सैनिक कारबाही वास्तवमा यस (अप्रिल) महिनाको अन्तिमतिर कार्यान्वयन गर्ने योजना बनेको रहेछ, जतिबेला सिङ्गो भेनेजुयला कोभिड–१९ सङ्क्रमणविरुद्ध लडाइँ लडिरहेको हुनेछ । भेनेजुयला अहिले पनि कोभिड–१९ विरुद्ध लडिरहेको छ र यो नै मानव जातिको आजको मुख्य लडाइँ हो ।
कोभिड–१९ विरुद्धको लडाइँ भेनेजुयलाले सफलतापूर्वक लडिरहेको छ, सङ्क्रमणलाई अनुमानभन्दा निकै कम क्षेत्रमा सीमित हुने गरी नियन्त्रण गर्न सफल भएको छ, स्वास्थ्य उपचारको बन्दोबस्तलाई शक्तिशाली बनाइएको छ र ठूलो जनसङ्ख्यालाई क्वारेन्टिनमा राखेको छ, कोभिड–१९ सङ्क्रमण भएको केस धेरै देखिए पनि मृत्यु हुनेको सङ्ख्या निकै कममा सीमित गरिएको छ ।
यी सबै कारणहरूका निम्ति बोलिभारियाली गणतन्त्रको सरकार विश्वभरका राजनीतिक सङ्गठनहरू र सामाजिक आन्दोलनका दाजुभाइ दिदीबहिनीहरूसित संरा अमेरिकी जनतामाथि कोभिड–१९ को डरलाग्दो महामारी बढिरहेको अवस्थामा जनताप्रतिको आफ्नो कर्तव्य निर्वाह नगरी अगाडि बढाएको डोनाल्ड ट्रम्प प्रशासनको भेनेजुयाली जनताविरुद्धको गैरजिम्मेवार र आपराधिक कदमको निन्दा गर्न आह्वान गर्दछ ।
महामारी फैलिएको स्थितिमा संरा अमेरिकी सरकार रोकथाम र विश्वव्यापी सहयोगको नीतिमा केन्द्रित हुनुको सट्टा एकपक्षीय क्रुर नाकाबन्दीलाई अझ कडा बनाउँदै छ, औषधी र चिकित्सा सामग्रीको आपूर्तिमा लचकता अपनाउन अन्तर्राष्ट्रिय समुदायले गरेको विनम्र अनुरोधलाई अस्वीकार गरेको छ ।
यसै समयमा त्यसले संरा अमेरिकाका उत्तरी राज्यहरूमा आर्थिक र स्वास्थ्यका कारणले उद्धार गर्नुपर्ने सयौँ भेनेजुयाली नागरिकहरूलाई स्वदेश फर्काउन संरा अमेरिकाबाट भेनेजुयलामा गर्नुपर्ने मानवतावादी उडान गर्नमा पनि प्रतिबन्ध लगाएको छ ।
भेनेजुयालविरुद्धको यस्ता अन्यायोचित आक्रमणहरूको निन्दा र प्रतिवाद वासिङ्गटनले आउँदा दिनमा विश्वका अरू देशका सरकार र जनताविरुद्ध गरिने त्यस्तै अभियान रोक्नका लागि धेरै उपयोगी हुन सक्नेछ । विश्वलाई अत्यधिक एकपक्षीयतावादका कारण अन्तर्राष्ट्रिय अराजकतामा जानबाट रोक्न हामी सबै संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्तमा कटिबद्ध रहनैपर्छ ।
यी गम्भीर तथ्यहरूको निन्दा गर्दागर्दै पनि भेनेजुयला सबै देशहरूसित आपसी आदर र सहयोग कायम गर्नुपर्नेमा जोड दिन्छ । कोभिड–१९ को महामारी फैलिएको आजको अतुलनीय अवस्थामा विश्वका सबै जिम्मेवार सरकारहरूले मिलेर काम गर्नुपर्छ र आफ्ना मतभिन्नताहरू एकातिर राख्नुपर्दछ ।
यस्तो गम्भीर परिस्थितिमा दोस्रो विश्वयुद्धपछि बदनाम म्याकार्थीवादको नयाँ संस्करणको माध्यमले संरा अमेरिकाले लगाएका मनपरी आरोप र चालेका कदमको प्रतिरोधमा यहाँहरूको अमूल्य साथ र समर्थनका लागि अनुरोध गर्दछु । त्यतिखेर अमेरिकी शासकहरूले कम्युनिस्टहरूमाथि मुद्दा चलाउन र सजाय दिन अनेक लाञ्छना एवम् अभियोग लगाउने गर्दथे, आजजस्तो तिनीहरूले आफूलाई मन नपरेकाहरूलाई बिना कुनै सबूत प्रमाण आतङ्कवादी वा लागू पदार्थ कारोवारीको कित्तामा राखिदिने गर्छन् ।
भेनेजुयालविरुद्धको यस्ता अन्यायोचित आक्रमणहरूको निन्दा र प्रतिवाद वासिङ्गटनले आउँदा दिनमा विश्वका अरू देशका सरकार र जनताविरुद्ध गरिने त्यस्तै अभियान रोक्नका लागि धेरै उपयोगी हुन सक्नेछ । विश्वलाई अत्यधिक एकपक्षीयतावादका कारण अन्तर्राष्ट्रिय अराजकतामा जानबाट रोक्न हामी सबै संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्तमा कटिबद्ध रहनैपर्छ ।
विश्वका दाजुभाइ दिदीबहिनीहरू, भेनेजुयला कुनै पनि परिस्थितिमा शान्तिको निम्ति लड्न दृढ रहनेमा तपाइँहरू निश्चित रहन सक्नुहुन्छ र त्यस्तै नै हुनेछ । जस्तै विध्वंसकारी कुनै पनि साम्राज्यवादी आक्रमणले हामीलाई सार्वभौम र स्वाधीनताको मार्गबाट विचलित पार्न सक्नेछैन, जुन हामीले दुईसय वर्षदेखि कायम गर्दैआएका छौँ । न त हामीलाई कोभिड– १९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनताको जीवन बचाउने कार्यमा लाग्ने हाम्रो पवित्र कटिबद्धताबाट कसैले टाढा बनाउन सक्छ ।
म यस समय भेनेजुयाली जनताको तर्फबाट महामारीको असरबाट प्रताडित हुनुभएका सम्पूर्ण जनतामा ऐक्यबद्धता र सहानुभूति व्यक्त गर्दछु । आजको सबै कठिन अनुभवहरूबाट हामीले लिनुपर्ने शिक्षा भनेको निश्चितरूपमा हामी मिलेर सँगसँगै मात्र अघि बढ्न सक्छौँ भन्ने नै हो । जुन राजनीतिक र आर्थिक प्रणालीले स्वार्थीपन र व्यक्तिवादको वकालत गर्दछ, त्यो प्रणाली आजको स्थितिको सामना गर्नमा पूर्णतयाः असफल भइसकेको देखाएको छ । तसर्थ, न्याय र सामाजिक समानतासहितको नयाँ विश्वतिर दृढताका साथ अगाडि बढौँ र हाम्रो कार्यको केन्द्र मानव जातिको आवश्यकता परिपूर्तिलाई बनाऔँ ¤
म यस अवसरमा हामी र अरू धेरै देशहरू समेत पीडित रहेको आपराधिक आर्थिक नाकाबन्दीको निन्दा गर्दै यहाँहरूले हाम्रो देश र हाम्रा जनताप्रति स्थायीरूपमा व्यक्त गर्दै आउनुभएको ऐक्यबद्धताका निम्ति आभार प्रकट गर्दछु । साथै, यस अवसरलाई उपयोग गर्दै यहाँहरूप्रतिको आदर र प्रेमलाई जोड दिँदै साम्राज्यवादविरुद्ध निरन्तर एकताबद्ध हुन तथा आशा र स्वाभिमानको नयाँ भविष्य रोप्नका लागि आमन्त्रण गर्दछु ।
काराकस, २९ मार्च २०२०
नेपाली अनुवाद ः प्रकाश
Leave a Reply