भर्खरै :

नेपाल :फर्क र छिमेकी चीनलाई चिन


-बारबारा निम्री अजीज
            विश्व समुदायसँग जोडिँदै गरेको नेपाल अहिलेसम्म आफूले उद्धारक, सत्य र सबै असल वस्तुको स्रोत ठानेको ‘अमेरिका’ तिर लट्ठिएका आँखाले हेर्ने प्रवृत्ति अनपेक्षित रूपमा हप्तैपिच्छे त्याग्दै जान बाध्य हुनेछ । (यो क्रम सुरु भइसकेको छ ।)
            तिम्रो देशमा चार दशकसम्म काम गर्दा मैले अमेरिकामा रूचि राख्ने तिमीजस्तो मानिस कहिल्यै देखेको थिइनँ । मैले चिनेका सबै नेपाली आफ्ना सन्तान यहाँ पठाउन चाहन्छन् । तिमीले आफ्नो आइफोन सीधै संरा अमेरिकाबाट मगाउँछौ । तिमी न्युयोर्क टाइम्स र सीएनएनका भनाइ उद्धृत गर्छौ । गाउँलेहरू फेसबुकका ‘भरपर्दा’ समाचार सत्य ठान्छन् । काठमाडौँका बासिन्दाहरू स्टारबक्स र पिज्जा हटका स्थानीय संस्करण शिरोपर गर्छन् । (यसबाहेक उनीहरू भारतीय नाटकहरूका अम्मली छन् । उनीहरू भारतको पहुँचमा छन् ।)
            अर्कोतिर अमेरिका पनि नेपालप्रति आकर्षित छ । हामी तिम्रा मोहक र चीवरधारी भिक्षु, तिम्रा खर्चालु र उल्लासपूर्ण हिन्दू रीतिरिवाज र तिम्रो हिमालयको घुमघाममा हामीलाई स्वागत गर्ने सोझासाझा देशवासीहरूको प्रशंसा गर्छौँ ।
            (सायद गोर्खा र बेलायतको ऐतिहासिक गठबन्धनमा आधारित भएर) तिम्रो अपवादरूपी बफादारीताको कदर गर्दै संरा अमेरिकाले नेपालीहरूका लागि ढोका खोलेको छ । तिम्रो दिगो सौन्दर्य, तिम्रा मिहिनेती विद्यार्थी, बौद्ध गुरु र तिम्रा ६ हजार भूकम्पपीडित जनताप्रति अमेरिका खुला छ । सन् २०१५ मा अस्थायी भिसा स्वीकार गरिएकाहरूले छलछामपूर्वक दाबी गरेको भए पनि भिसाको म्याद गत साल लम्ब्याइएको छ ।
            राजनीतिकरूपमा नेपालीहरू अस्पष्टरूपमा स्वदेशप्रति सन्तुष्ट छन् । इतिहासको ठूलो कालखण्डमा तिमी निरङ्कुश राजतन्त्रले शासित थियौ । तथापि कहिल्यै विदेशी आक्रमणकारीको कब्जामा परेनौ । १० वर्षसम्मको सफल माओवादी गुरिल्ला अभियानपछि तिमीले अन्ततः आफैलाई दमनकारी दैवी राजतन्त्रबाट मुक्त पार्‍यौ । अनि तिमीले बहुदल संलग्न गणतन्त्र, एकथान प्रजातान्त्रिक संविधान र २०१५ को निर्वाचन घोषणा गर्‍यौ । त्यस निर्वाचनले विजयी माक्र्सवादी–लेनिनवादी पार्टीलाई सत्तारुढ तुल्यायो । यस प्रक्रियामा केहीको ज्यान गयो र अपेक्षाहरू ह्वात्तै बढे । राजतन्त्रको अन्त्य, खुला प्रेस स्वतन्त्रता, जल्दोबल्दो पर्यटन उद्योग र विदेशी सहयोगको टेको हुँदाहुँदै पनि तिम्रो राष्ट्रको अर्थतन्त्र कहिल्यै सुधारिएन । तिम्रो वर्गीय विभेद हल भएन । सम्भ्रान्तहरूकै हालिमुहाली रह्यो । पक्षपात, नातावाद, कृपावाद, भ्रष्टाचार, घुसखोरी झाँगियो । पहिले कहिल्यै नभएको बिपत्तै भ्रष्टाचार त्यहाँ छ । आधिकारिकरूपमा धर्मनिरपेक्ष भए पनि, मठमन्दिर र कर्मकाण्डको निसासिँदो खर्च बढेको छ र उपल्ला जातिका विशेषाधिकार व्यवहारमा कायम छन् । तिम्रो अर्थतन्त्र अशक्त छ । साधारण परिवारहरू समुद्रपारको रेमिट्यान्समाथि निर्भर हुँदै गर्दा नवधनाढ्यहरूले धनसम्पत्तिको दोहन गर्छन् र तिम्रो प्रशासन घुसखोरीले मोटाउँछ । ५० देखि ७० लाख बेरोजगार देशवासी रहेको तिम्रो कुल जनसङ्ख्याको पाँचौँ हिस्सा मलेसिया र खाडी मुलुकहरूमा कामदार छ ।)
            नेपालमा क्रियाशील विदेशी सामाजिक सङ्घसंस्थाहरूको उदारतासँगै जोडिएको संरा अमेरिकी खुला नीतिले तिम्रो यो स्थिति कायम नै राखेको छ ।
            तिमी र तिम्रो सरकारले विदेशी औषधिउपचार र स्वास्थ्य सामग्रीहरू आउने अपेक्षा गरेका थियौ । साथै यहाँबाट कोभिड–१९ का पीडितहरूको उपचार कसरी गर्ने भन्ने निर्देशन आउने ठानेका थियौ । तर, त्यो महामारीको बढ्दो जागरुकताको छाल समुद्रपारका रोजगारीमा कटौतीसँगै विदेशबाट तिम्रा दाजुभाइ र छोराछोरी घर फर्काउँदै आयो । यो प्रवेशले कृषि उत्पादन केही बढाउन सक्ला । खेतहरू बाँझा छोडिएका थिए र लालपुर्जा धितो राखिएका थिए । यसले गर्दा नगदमाथिको निर्भरता बढाइदिएको थियो । खाद्यान्न र अन्य सामानका लागि आयातमा भरपर्ने स्थिति आएको थियो र गैरसरकारी संस्थाहरूको माग बढेको थियो ।)
            यसबीच मार्च १५ तारिखसम्ममा नेपालमा एकजनामा मात्र कोरोनाको सङ्क्रमण देखिएको छ । यसलाई स्वीकार्न कुनै नेपाली तयार छैन ।
            बाहिरियाहरूले सोचेजस्तो न त निर्धन, न ऋणमा डुबेको तिम्रो सरकार टसको मस नहुने गरी भ्रष्ट र असावधान छ । त्यसैले सङ्क्रमण परीक्षण गर्ने र तिमीलाई फैलिँदो विपत्तिबाट बचाउने कार्यमा उसको लापरबाही देखेर तिमी छक्क परेका छैनौ ।
            तिमीमध्ये केहीसँग म हप्तादिनमा कुरा गरिरहन्छु । अमेरिकी नेतृत्वजस्तै नेपाली नेतृत्व पनि तिम्रा देशवासीलाई क्वारेन्टिनमा राख्ने कार्यमा सुस्त छ । केही समय कुर्नू, अव्यवस्था र झूटहरू भरिएको स्वाभाविक अमेरिकी जादुचक्की आउनेछ । अमेरिकामा नागरिकमाथि बन्दाबन्दी लागू गर्न सुरु गरेपछि त्यहाँ पनि बन्दाबन्दी लागू भयो । अहिले तिमी आफ्ना मागहरू सडकमा लानसक्दैनौ । तिमीले राजतन्त्रविरुद्ध यस रणनीतिको प्रभावकारी प्रयोग गरेका थियौ ।
ढिलै भए पनि अन्ततः अमेरिकी नेतृत्व विध्वंश मच्चाउन उर्लिरहेको महामारीको जटिलताबारे सचेत हुँदै गर्दा अमेरिकाले धेरै स्रोतसाधन खर्चिन सक्छ । नेपालले बिस्तारै आफूलाई उठाइरहेको छ । तर, नेपालसँग स्रोतसाधनको अभाव छ ।
            फोनमा भएको हाम्रो कुराकानीमा तिमीले आफ्नो सरकारबाट भन्दा पनि अमेरिका र अन्य देशका सरकारबाट परित्यक्त महसुस गरेजस्तो प्रतीत हुन्थ्यो । तिमी आफ्नो नायकको नीचता देखेर पक्कै पनि छक्क पर्‍यौ होला ।
            तिमीले देखेकै हौला, हरेक सरकार आफ्नै व्याकुल स्वास्थ्य प्रणालीमा अल्झेका छन् ।
            मेरो विचारमा तिमीलाई उद्धार गर्न आउनसक्ने कुनै देश छ भने त्यो चीन हो । तिम्रो उत्तरी छिमेकी र दृढ सहयोगी । भूकम्पताका सन् २०१५ मा पेइचिङले प्रदान गरेको सहयोग तात्कालिक, प्रभावकारी र अतुलनीय थियो । (भारतमाथिको तिम्रो परम्परागत निर्भरतालाई आंशिकरूपमा भए पनि सन्तुलित गर्न त्यहाँ चीनले प्रमुख पूर्वाधार निर्माण परियोजनाहरूमा काम गरिरहेको छ ।)
            हिजोमात्र, वर्तमान सङ्कट हेरेर चिनियाँ सहयोग काठमाडौँतर्फ जाँदै छ । तिम्रो सरकारको अक्षमतामा हाललाई सुधार हुनेछ ।
            दीर्घकालमा भने संसारको सर्वाधिक धनी र शक्तिशाली देशको तिम्रो रुमानी तस्वीर खरानी हुनेछ । तिमी एक्लो छैनौ । हाल ह्वाइट हाउसमा आसीन व्यक्तिको रूपमा विश्वको दादाको अनुहार उदाङ्गो भएको झल्को संसारले पाइसकेको छ । अब भने संरा अमेरिकी प्रतिरोध क्षमता, महामारीप्रतिको हाम्रो हचुवा प्रतिक्रिया, हाम्रो साधनहीन स्वास्थ्य प्रणाली, हाम्रो सैन्यशक्तिको असमर्थता आदिका बारेका तिम्रा मान्यताहरू माझिएका होलान् ।
            नेपालले एउटा नयाँ नीति तय गर्नुपर्ने बेला आएको छ । चीनमाथि अचाक्ली निर्भर हुँदै जानेभन्दा पनि एक साधनस्रोतसम्पन्न र आत्मनिर्भर नीति अवलम्बन गर्नुपर्छ । सायद क्युवा वा भियतनामको मोडलजस्तो । माक्र्सवादीहरूले नेतृत्व गरेको सरकारले एउटा तर्कपूर्ण कदम चाल्नुपर्छ, हैन र ?
            (लेखिका गत डिसेम्बरसम्म नेपालमै थिइन् । उनी एक मानवशास्त्री हुन् । लेखमा अभिव्यक्त उनका केही मान्यता सचेत नेपाली पाठकका लागि असजिला देखापर्छन् । यद्यपि एक शुभचिन्तकका रूपमा उनको लेख पठनयोग्य छ ।)
 स्रोत : ग्लोबल रिसर्च 
अनुवाद – सुरेश
मजदुर दैनिक, २०७६ चैत्र २६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *