भर्खरै :

प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता

-सरिता श्रेष्ठ
प्राथमिक उपचारको बारेमा हामी धेरैलाई थाहा नै छ । जब हाम्रो शरीरमा कुनै चोटपटक लाग्छ वा अचानक कुनै शारीरिक समस्या देखिन्छ, त्यस समयमा सुरुमा घटनास्थलमा भएको स्रोत र साधनको प्रयोग गरी अवस्थालाई थप जटिल बन्नबाट रोक्न र समस्याबाट राहत दिनको लागि गरिने प्रयास प्राथमिक उपचार हो । घाउ लागेर रगत बगेको छ भने त्यसलाई रोक्न वा कम गर्न उपलब्धताअनुसार मलमपट्टी गर्ने र नजिकको स्वास्थ्य केन्द्रमा पुर्‍याउने गर्छाैँ । ज्वरो आउँदा पानीपट्टी लगाउँछौँ । हात वा खुट्टा मर्किंदा वा जोर्नीहरूमा समस्या आउँदा काम्रोपट्टी लगाउँछौँ । यी कार्यले व्यक्तिलाई केही आराम दिन्छ भने थप समस्याबाट जोगाउँछ । यी सबै कार्यहरू प्राथमिक उपचार हुन् । पानीमा डुब्दा, आगोले पोल्दा वा अन्य आकस्मिक समस्यामा गरिने प्राथमिक उपचारका विधि फरक हुन्छन् । यदि व्यक्तिलाई समयमा नै ध्यान दिइएन र प्राथमिक उपचार गर्न सकिएन भने जोखिम बढ्न जान्छ ।
जसरी हाम्रो शरीरमा चोटपटक लाग्छ, त्यसरी नै मानिसको मनमा कुनै पनि समयमा मानसिक चोट, पीडा, दुःख, चिन्ता, तनाव र आघातजस्ता समस्याहरू उत्पन्न हुन्छन् । व्यक्तिले यिनीहरूको समयमै सही व्यवस्थापन गर्न नसक्दा समस्या बढ्दै जानसक्छ र यसको असर लामो समयसम्म रहिरहेमा थप मानसिक समस्या र मानसिक रोग उत्पन्न गर्नेजस्ता जटिलता आउनसक्छ । यस्तो जोखिमता कम गर्न प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गरिन्छ ।
कुनै दुर्घटना, प्राकृतिक प्रकोप तथा आकस्मिक अवस्थामा व्यक्तिलाई शारीरिक असरको साथै मानसिक र भावनात्मकरूपमा पनि गार्‍हो, असहज र असुरक्षित महसुस हुनसक्छ । यस्तो अवस्थामा व्यक्तिलाई भावनात्मक तथा संवेगात्मकरूपमा सहज बनाउनको लागि सुरुमा गरिने मनोवैज्ञानिक तथा मनोसामाजिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग (Psychological First Aid – PFA) हो ।
प्राथमिक मनोवैज्ञानिक सहयोगले व्यक्तिको तनावपूर्ण अवस्थालाई शान्त बनाउन र भावनात्मकरूपले सुरक्षित महसुस गराउन सहयोग गर्छ । त्यसपछि व्यक्तिले आफ्नो अवस्थाको बारेमा सचेत भई सही निर्णय गर्नसक्दछ । प्रभावित व्यक्तिहरूलाई भावनात्मक सहयोग गर्दा उनीहरूको प्रतिक्रिया र मनमा चलिरहेको समस्यालाई सक्रियरूपमा सुनेर बुझेर र हेरेर आवश्यकताअनुसार सामना गर्ने तरिका तथा व्यवहारिक सहयोग प्रदान गर्दछ । यसको साथै आवश्यकताअनुसार सही सूचनाहरू प्रदान गरी अन्य सम्बन्धित निकाय तथा सामाजिक सञ्जालसँग जोड्नलाई मद्दत पनि गर्छ ।
अहिलेको वर्तमान अवस्थामा कोभिड–१९ र लकडाउनको अवस्थाले विश्वभरि नै मानिसहरूको जीवन कष्टपूर्ण र चुनौैतीपूर्ण भइरहेको छ । जसले गर्दा मानिसहरूको शारीरिक, मानसिक, सामाजिक र आर्थिक पक्षमा प्रभाव पारिरहेको छ । यसले मानसिक र भावनात्मक अवस्थामा  अस्थिरता, असहजता, अन्योलता र अनिश्चितताको वातावरण सिर्जना भएको छ । त्यस्तैगरी नेपालमा पनि सङ्‍क्रमित सङ्ख्या बढ्दै गएको र लकडाउनको परिस्थितिले गर्दा व्यक्तिहरूमा अझ बढी मानसिक र संवेगात्मक डर, चिन्ता, अन्योलता सिर्जना भएको छ । यसले व्यक्तिको मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यमा असर पार्नसक्ने जोखिमता बढ्दै गएको छ । यस अवस्थामा जोखिमता कम गर्न तथा मानसिकरूपमा स्वस्थ रहनको लागि प्राथमिक मनोवैज्ञानिक सहयोगको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
अहिलेको परिपे्रक्षमा हेर्ने हो भने जो कोहीलाई पनि मनमा विचलन, मानसिक द्वन्द्व, असहजता डर चिन्ताले जड गाडिरहेको छ । यस अवस्थामा व्यक्तिलाई प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता पर्दछ । नेपालको सन्दर्भमा हेर्ने हो भने विदेशबाट फर्किएका व्यक्तिहरू र उनीहरूका परिवार, विदेशमा बसिरहेका व्यक्तिका परिवार, क्वारेन्टिनमा बसेका व्यक्ति, सङ्‍क्रमित व्यक्ति, उपचारपछि फर्केका व्यक्ति, पहिलेदेखि नै मानसिक समस्या भएका व्यक्ति र दीर्घ रोगीहरूलाइ प्राथमिक मनोवैज्ञानिक सहयोगको अधिक आवश्यक पर्छ । स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने प्रहरी र कर्मचारीहरूलाई पनि यसको आवश्यकता रहन्छ ।
कुनै पनि आकस्मिक घटना प्राकृतिक प्रकोप अथवा नयाँ रोगले महामारी फैलिएको समयमा नै परिवार र समुदायमा हिंसा बढ्ने, लैङ्गिक र घरेलु हिंसा हुनसक्ने, बालबालिकाहरू दुव्र्यव्यवहारमा पर्नसक्ने र चोरीहरूको घटना बढ्ने गर्छ । यस्ता घटनाहरूले व्यक्ति मानसिकरूपमा झन् बढी प्रभावित हुनसक्छ । यस्ता समस्यामा परेका व्यक्तिहरूलाई प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता पर्दछ ।
सामान्यतया बाढी पहिरो, आगलागी, भूकम्पजस्ता प्राकृतिक प्रकोप र बम विस्फोटनजस्ता मानवनिर्मित दुर्घटनाहरू भएको परिस्थितिमा प्राथमिक मनोवैज्ञानिक सहयोग घटनास्थल वा घटनास्थलकै नजिक, अस्थायी बसोबास, शिविर, बसिरहेको ठाउँमा, स्थानीय भवनहरू : स्वास्थ्य चौकी र स्कूलमा गएर गरिन्छ । तर, कोभिड–१९ को परिस्थितिमा आमनेसामने बसेर प्राथमिक मनोसामाजिक सहयोग पुर्‍याउन मिल्दैन । महामारीको प्रकृति, सुरक्षा, रोकथामको दृष्टिकोणले गर्दा सामाजिक दुरी कायम राख्न जरुरी छ । अहिलेको अवस्थामा प्राथमिक मनोवैज्ञानिक सहयोग टेलिफोन, मोइबाल अनलाइन मिडियाबाट प्रदान गरिन्छ । जसलाई हामी दूर प्राथमिक मनोवैज्ञानिक सहयोग (Remote Psychological First Aid) भन्नसक्छौँ ।
मनोविज्ञ, मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोसामाजिक कार्यकर्ता, प्राथमिक मनोवैज्ञानिक सहयोग तालिम प्राप्त गरेका व्यक्तिहरू (शिक्षक, स्वास्थ्यकर्मी, स्वयम्सेवक र समुदायका अगुवाहरू) ले प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्दछन् ।
प्राथमिक मनोवैज्ञानिक सहयोग गर्दा सेवा प्रदायकले मनोवैज्ञानिक सहयोगका तीनओटा सिद्धान्तमा केन्द्रित भएर कार्य गर्दछ । यी सिद्धान्तहरूमा हेर्ने, सुन्ने र सम्बन्ध स्थापित गर्ने कार्यहरू पर्दछन् । अहिलेको अवस्थामा भाइवर, स्काइप, मेसेन्जरजस्ता अनलाइन मिडियाबाट यस्तो प्रदान गर्ने गरिएको छ ।
समग्रमा भन्नुपर्दा जसरी शरीरमा चोटपटक र समस्या हुँदा जोखिमता बढ्न नदिन र समस्या कम गर्नको लागि प्राथमिक उपचारको आवश्यकता पर्दछ त्यस्तै गरी मनमा डर, चिन्ताजस्ता समस्याले ग्रस्त भएमा प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता पर्दछ ।
अहिलेको समयमा विभिन्न सरकारी, गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिहरूले दूर प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गरिरहेका छन् । आफ्नो आवश्यकता र सहजताअनुसार यो सेवा लिन सक्नुहुनेछ । यसमा म पनि संलग्न छु ।
(लेखक मनोविद् / मनोविमर्शकर्ता हुनुहुन्छ ।)
Sarshr24@yahoo.com
मजदुर दैनिक, २०७६ चैत्र २७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *