क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
प्रकाश
कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बनेको बेला आज सङ्क्रमणको सबैभन्दा बढी सङ्ख्या संरा अमेरिकामा पुगेको छ । वल्र्डओमिटरका अनुसार यी पङ्क्ति कोर्दासम्म संरा अमेरिकामा ४ लाख ५४९ व्यक्ति सङ्क्रमित भई १२ हजार ८५७ जनाको निधन भएको छ । त्यस्तै २१ हजार ७११ जनाको उपचारपछि स्वास्थ्य लाभ गरेका छन् । सङ्क्रमण रोक्न आवश्यक कदम समयमै चाल्न नसकेको भन्दै अहिले ट्रम्प प्रशासनको व्यापक आलोचना भएपछि त्यसको दोष अन्यत्रै पन्छाउन अमेरिकी राष्ट्रपति ट्रम्प लागेका छन् । ट्रम्पले दोष विश्व स्वास्थ्य सङ्गठन– डब्ल्यूएचओमाथि थोप्ने असफल प्रयत्न गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओको आलोचना गर्दै उसले गलत सुझाव दिएको र आफूलाई चीनमा बढी केन्द्रित गरेको आरोप लगाएका छन् । उनले भने, “डब्ल्यूएचओले स्थितिलाई वास्तवमै सम्हाल्न नसकिने बनाइदियो । (उसलाई) कारणवश सबैभन्दा बढी स्रोत अमेरिकाले उपलब्ध गराइरहेको छ तर (उक्त सङ्गठन) चीनमुखी छ ।’’ उनले अमेरिकाले डब्ल्यूएचओलाई उपलब्ध गराउँदै आएको रकम रोक्ने पनि बताए ।
चीनको उहानमा कोरोना भाइरसको सङ्क्रमण फैलिएलगत्तै डब्ल्यूएचओको गम्भीर ध्यान त्यसतर्फ गएको थियोे र सङ्गठनका उच्च अधिकारी तथा विशेषज्ञहरू चीन पुगेर स्थितिको आकलन गरेका समाचार आएका थिए । त्यतिबेला डब्ल्यूएचओले कोरोना भाइरस अहिले चीनमा मात्र देखिए पनि सङ्क्रमणकारी भाइरस भएकोले चीनका छिमेकीमात्र नभई चीनसितको आवागमन बाक्लो भएका अरू राष्ट्रहरूले पनि उत्तिकै सावधानी अपनाउनुपर्ने सुझावसहितका विज्ञप्ति पटक–पटक जारी गरेको थियो । कोरोना भाइरसको उत्परिवर्तनबारेको सबैजसो जानकारी लिएर विश्वभरका सरकारहरूका लागि विवरण उपलब्ध गराउँदै आएको थियो । साथै कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक, चिनियाँ स्वास्थ्य अधिकारी तथा सरकारबाट समेत भाइरस सङ्क्रमण, मृत्यु, उपचार भइरहेकाहरूको र उपचारपछि घर फर्केकाहरूबारे दैनिक तथ्याङ्क सार्वजनिक गर्न लगाएको थियो । हो, त्यतिखेर ट्रम्प प्रशासनले चाहेजस्तो डब्ल्यूएचओले चीनको विरोधमा झूटा आरोपहरू लगाउन र सङ्कटमा परेको देशलाई थप अप्थ्यारोमा पार्न चाहेन । ट्रम्प प्रशासनले डब्ल्यूएचओ र संरा अमेरिकाकै भाइरसविज्ञहरूको सल्लाह र सुझावअनुसार कोरोना रोकथामसम्बन्धी कुनै पनि कदम चाल्न अस्वीकार गर्दै ‘चिनियाँ भाइरस’ वा ‘उहान भाइरस’ अमेरिकामा आइनपुग्ने दाबी गरेको थियो । न्युयोर्क र न्यु ओर्लियन्सलगायत राज्यमा सङ्क्रमण व्यापकरूपमा फैलिएपछि पनि ट्रम्पले लकडाउन गर्न अस्वीकार गरेका थिए । संरा अमेरिकामा अहिले व्यापक बनेको कोरोना सङ्क्रमणमा राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरूको मूर्खता जिम्मेवार छ नकि विश्व स्वास्थ्य सङ्गठन ।
Leave a Reply