भर्खरै :

भक्तपुर अस्पतालमा ११२ जनाको स्वाब परिक्षणमा ६५ को नेगेटिभ

            भक्तपुर, २७ चैत । भक्तपुरमा कोभिड–१९ र्सङ्‍क्रमण उपचारको लागि जिम्मेवारी पाएको भक्तपुर अस्पतालमा हाल ६ जना बिरामी आइसोलेसनमा छन् । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले अस्पतालबाट हालसम्म ११३ जना मानिसको स्वाब परीक्षणको लागि टेकुस्थित प्रयोगशालामा पठाइसकेको र तीमध्ये ६५ जनामा कोभिड–१९ निगेटिभ देखिएको जानकारी दिनुभयो ।
            “बाँकीको नतिजा आउन बाँकी छ”, उहाँले भन्नुभयो ।
            चिकित्सक गौतमले अस्पतालसँग हाल उपलब्ध दुईवटा भेन्टिलेटरमध्ये एउटा मर्मतको लागि डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र पठाउन लागिएको बताउनुभयो ।
            उहाँले भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरूले घर–घर गएर विदेशबाट हालसालै फर्किएका र ज्वरोले थलिएका बिरामीलाई अस्पताल पठाउने व्यवस्था गर्दा र्सङ्‍क्रमण नियन्त्रणमा सहयोग भएको बताउनुभयो । “जनप्रतिनिधि र स्थानीय समुदाय स्वयम् जागरुक भई काम गर्दा सम्भावित सङ्‍क्रमित मानिस अस्पताल आउने क्रम चालू छ”, उहाँले भन्नुभयो ।
            कोभिड–१९ का सम्भावित सङ्‍क्रमितको बाहेक अन्य रोगका बिरामीको पनि उपचार भइरहेको डा. गौतमले बताउनुभयो ।
            औपचारिकरूपमा ओपीडी बन्द भए पनि अन्य सुविधालाई पनि चालू राखेको जानकारी दिँदै उहाँले चैत २५ गतेसम्म ९६० जना अन्य रोगका बिरामीको उपचार भएको छ । “आजमात्र ५ जना प्रसूति भयो”, उहाँले भन्नुभयो ।
आइसीयू बनाउन समस्या
            मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले स्वास्थ्य मन्त्रालयबाट भक्तपुर अस्पतालमा सघन उपचार कक्ष (आइसीयू) बनाउन ९६ लाख रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो । ‘काम थालेपछि’ स्वास्थ्य मन्त्रालयले पैसा पठाउने भने पनि आन्तरिक कारणले अस्पतालमा आइसीयूको काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । तर, उहाँले ‘आन्तरिक कारण’ बारे केही भन्न चाहनुभएन ।
            स्वास्थ्य मन्त्रालयले भक्तपुर जिल्लाको हकमा भक्तपुर अस्पताल र दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लाई कोभिड–१९ को बिरामीको उपचारको लागि तोकेको छ ।
नयाँ कोरोना सङ्‍क्रमित देखिएनन् : स्वास्थ्य मन्त्रालय
            स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्ला केही दिनमा नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्‍क्रमण नदेखिएको जनाएको छ ।
            मन्त्रालयद्वारा बिहीबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप नयाँ कोरोना सङ्‍क्रमित व्यक्ति नभएको बताउनुभयो । उहाँले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना र्सङ्‍क्रमणको नमुना परीक्षण गरेको बताउनुभयो ।
            उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कुल २८९५ नमुना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २३८२ र उपत्यका बाहिर ५१३ नमुना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।
            हालसम्म नेपालभरि सात हजार ९४० जना क्वारेन्टिनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ११७ रहेको छ । सोमध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टिनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) सामग्री प्रदान गरिएको बताउनुभयो ।
            बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *