भर्खरै :

विश्व महामारीको चपेटामा, ट्रम्प आरोपको राजनीतिमा

जेनेभा, ९ अप्रिल । संरा अमेरिकी न्यु योर्क सहर यतिबेला कोभिड–१९ को उत्कर्षमा पुगेको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमले न्यु योर्कका अधिकांश अस्पतालअघि एम्बुलेन्सको लामो लाम देखाएका छन् । कोभिड–१९ का उपचारको निम्ति बिरामी ल्याएका बिरामीलाई सडकमै रोकिएको छ । किन ? किनभने न्यु योर्क सहरका अधिकांश अस्पताल आज भरिभराउ भएका छन् । स्वास्थ्य स्वयम्सेवकहरू सहरका गिर्जाघर र अन्य ठाउँमा अस्थायी अस्पतालको तयारी गरिरहेका छन् । तर, संरा अमेरिकी राष्ट्रपतिले भने अझै पनि आरोप प्रत्यारोपको फोहोरी खेल खेल्न छोडेका छैनन् । विगत केही दिनदेखि उनी संयुक्त राष्ट्र सङ्घको विश्व स्वास्थ्य सङ्गठनमाथि दोषको वर्षा गरिरहेका छन् । ट्रम्पले बिहीबार कोभिड–१९ को महामारीलाई सुरुमा न्यूनाङ्कन गरेको र चीनको पक्ष लिएको भन्दै सहयोग रोक्ने चेतावनी दिएका छन् ।
            विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घिब्रियेससले महामारीलाई बढी राजनीतिकण गरे ‘अझ धेरै लासको पोको सामना गर्नुपर्ने’ भनी दिएको अभिव्यक्तिलाई सङ्केत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनको खेदो खनेका थिए । “उनीहरू थप लासको पोकोको कुरा गरिरहेका छन् । …उनी (टेड्रोस) सँग सही विश्लेषण क्षमता हुँदो हो त अहिले उनी आफूले सेवा गर्नुपर्ने जनताको अझ असल तरिकाले सेवा गर्दै हुने थिए । सबै कुरा चीनकेन्द्रित भएको छ । उनीहरू भन्दै  थिए निः सबै कुरा ठीकठाक छ, मानिसले मानिसमा र्सङ्‍क्रमणको कुरा”, ट्रम्पले भने ।
            “टेड्रोस त मैले सिमाना पनि बन्द गर्न नहुने कुरा गर्थे । तै पनि मैले सिमाना बन्द गरें । त्यत्तिबेला त्यो निर्णय सहज थिएन । हामीले विश्व स्वास्थ्य सङ्गठनको विरोधमा त्यो निर्णय गरेका थियौं”, ट्रम्पले भने ।
            अमेरिकी राष्ट्रपतिले धाँक लगाएर भने, “चीनले विश्व स्वास्थ्य सङ्गठनलाई ४ करोड अमेरिकी डलर दिन्छ । हामी ४० करोड अमेरिकी डलर दिन्छौं ।”
            “तैपनि सबै निर्णय चीनको शैलीमा भइरहेका छन् । यो सही होइन । हामीमाथि न्याय भएन । वास्तवमा यो संसारलाई नै न्याय भएन । चीनसँग उनीहरूको सम्बन्धको आधारमा टेड्रोसले राजनीतिकरणको कुरा गरेको मलाई मन परेको छैन”, ट्रम्पले भने ।
            नियमित पत्रकार भेटघाटमा संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले विश्व स्वास्थ्य सङ्गठनलाई संरा अमेरिकाले दिंदै आएको पैसाबारे पुनःविचार गरिरहेको बताए । “सङ्गठनहरूले काम गर्नुपर्‍यो । जे कामको लागि उनीहरूको स्थापना भएका हुन्, त्यो काममा परिणाम दिन सक्नुपर्‍यो”, उनले भने ।
            अमेरिकी नेताहरूको यस्तो कुरा सुनेर विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोसले आश्चर्य व्यक्त गरे । उनले संसारभर ८८ हजार ५ सयभन्दा बढी मानिस महामारीको कारण निधन भएको आजको परिस्थिति आपसमा आरोपप्रत्यारोप लगाउने समय नभएको बताए ।
            “सबै राजनीतिक दलको यतिबेलाको ध्यान मानिसको जीवनरक्षा गर्ने हुनुपर्छ । कृपया यो भाइरसलाई राजनीतिकरण नगरौं”, जेनेभामा संसारका राजनीतिक नेताहरूलाई सम्बोधन गर्दै महानिर्देशकले भने । “यदि तपाईँहरू थप लासका पोका चाहनुहुन्छ भने राजनीतिकरण गर्नुहोस् । नभए यसलाई राजनीतिकरण नगरौं । हामीले उचित बुद्धिमानी अपनाए हाम्रोसामु अरु धेरै लासका पोका हुनेछन्”, महानिर्देशकको भनाइ थियो ।
            उनले चीनले नोबेल कोरोना भाइरसको महामारी फैलिएको सूचना दिएको बिहीबारबाट एक सय दिन पुगेको जानकारी दिए । चीनले डिसेम्बर ३१ मा महामारीको सूचना विश्व स्वास्थ्य सङ्गठनलाई दिएको थियो । इथियोपियाका पूर्व विदेशमन्त्री समेत रहेका टेड्रोसले विश्व स्वास्थ्य सङ्गठन ‘चीन केन्द्रित’ भएको भन्ने ट्रम्पको आरोप गलत भएको बताए । “हामी हरेक देशसँग नजिक छौं । हामी रङ्गको आधारमा कसैमाथि भेदभाव गर्दैनौं”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *