भर्खरै :

सुर्खेतमा पनि उठ्यो निजी अस्पताल राष्ट्रियकरण गर्नुपर्ने आवाज

            सुर्खेत, २९ चैत । कर्णाली प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठकमा नेपाल मजदुर किसान पार्टीको सुर्खेत जिल्ला समिति अध्यक्ष हरिबहादुर बोहराले दैनिक ज्यालादारी मजदुरीको नाममा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी पार्टीले आफ्ना कार्यकर्ता र सम्पन्न परिवारसमेतलाई खाद्यान्न वितरण गरेको काम रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
            उहाँले नोवेल कोरोना भाइरस सङ्‍क्रमणको बेला निजी अस्पतालहरूले सामान्य बिरामीसमेतको स्वास्थ्य परीक्षण नगरेको समाचार प्रकाशित भइरहेको हुँदा निजी अस्पताल राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने तथा यो काम कर्णाली प्रदेशबाट सुरू गर्नुपर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
           “कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा खानेपानीको हाहाकार छ । खानेपानीको अविलम्ब व्यवस्था गर्नुपर्दछ”, उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
            सुर्खेत पार्टी अध्यक्ष बोहराले यो भाइरस सङ्‍क्रमित र आशङ्कित बिरामीको उपचारमा संलग्न भएका सबै स्वास्थ्यकर्मीहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पीपीई र उपचार उपकरण व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
            कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दसवटै जिल्ला गरी कुल ४,०१२ क्वारेन्टिन बेड भएको तर यो भाइरस नियन्त्रणसम्बन्धी जानकार स्वास्थ्यकर्मी ६८ जनामात्र भएको उल्लेख गर्नुभयो । उहाँले हालसम्म ५८१ जनाको खकार परीक्षण गरिएकोमा सबैको नेगेटिभ नतिजा आएको, चौरजहारी रूकुममा एकजनालाई आइसोलेसनमा राखिएको र हेल्प डेस्क ५४ स्थानमा स्थापना गरिएको उल्लेख गर्नुभयो ।
            उहाँले सुर्खेतमा ६०० क्वारेन्टिन बेड रहेकोमा १८८ जनालाई राखिएको बताउनुभयो ।
            चैत २८ गते भएको सो बैठकमा प्रदेश मन्त्रीहरूको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *