भर्खरै :

डेढ वर्षभित्र क्रान्तिकारी होइन अर्को सुधारवादी पार्टी बन्छ

 (समसामयिक राजनीतिक परिस्थिति र हालै चर्चामा रहेका केही विषयमा मजदुर दैनिक, श्रमिक साप्ताहिक र अनलाइन मजदुरले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंसँग लिएको अन्तर्वार्ता प्रस्तुत छ–सम्पादकीय)
 
-यो लकडाउनपछि देशका १०१ जना पुराना नेता र बुद्धिजीवीहरू मिलेर एउटा नयाँ राजनैतिक पार्टी स्थापना गरेर अर्को निर्वाचनमा सरकारमा जाने पार्टी बनाउने र त्यसमा नेमकिपा पनि सहभागी हुने सल्लाह भएको चर्चा छ । यसमा कति सत्यता छ ?
            देशका १०१ जना पुराना राजनैतिक कार्यकर्ता र बुद्धिजीवीहरू मिलेर डेढ वर्षभित्र समाजमा आमूल परिवर्तन गर्नसक्ने र सरकारमा पनि जाने क्रान्तिकारी पार्टी बन्दैन । बरु त्यो कुवेर शर्माजीहरूको जस्तो ‘हरियाली’ पार्टी, मिश्रजीहरूको विवेकशील साझा पार्टीजस्तो सुधारवादी पार्टी बन्नेछ ।
-त्यसमा भक्तपुरमा मात्र सीमित नभई सातै प्रदेशमा सङ्गठन बनाउनेबारे के सोच्नुहुन्छ ?
             सातै प्रदेशको सबै जिल्ला, गाउँ र नगरका प्रतिनिधिसहितको पार्टी बने पनि डेढ वर्षभित्र एक सिद्धान्तनिष्ठ अनुशासित पार्टी बन्न सक्दैन । यसको उदाहरणका रूपमा नेपाली काङ्ग्रेस , एमाले, एमाओवादी, राप्रपाहरू, मधेशवादी दल तथा जातीय एवम् भाषावादी दलहरू नै छन् ।
-त्यसमा एउटा सर्त पनि हुन्छ– महिला र पुरुष समान सङ्ख्यामा हुनेछ, संसदमा पनि त्यही नियम लागू गर्ने, के यो सम्भव छ ?
            जनताको माझबाट जनताको सङ्घर्षबाट नखारिएका महिला होस् वा पुरुष, सिद्धान्तनिष्ठ र अनुशासित हुन्छ भन्ने सत्य होइन ।
            पुरुषहरूमात्रै होइन महिला सांसद र महिला नेतृहरूले पनि पासपोर्ट बेच्ने, रक्सी खाने र पदको लुछाचुँडीमा भाग लिएकै हुन् । त्यसकारण सङ्ख्याभन्दा पनि सिद्धान्तनिष्ठ र अनुशासित, देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने महिला, पुरुष, युवा–विद्यार्थी, मजदुर, किसान र बुद्धिजीवीहरूको राजनैतिक दल आवश्यक छ, जो २–३ वर्षमा बन्दैन, बरु सुरुमात्रै हुनसक्छ । बारम्बार टुट–फुटको प्रक्रियाबाट केही वर्षपछि त्यसले एउटा रूप लेला । अनुभवले यही भन्छ ।
-के त्यस पार्टीको रूप युरोप वा पश्चिमी देशको ग्रीन (हरियाली) पार्टीजस्तो हुनेछ ?
            पश्चिमी देशका ग्रीन पार्टीहरू पनि सुधारवादी राजनैतिक दलहरू नै हुन् । तिनीहरू पुँजीवादी दलहरूसँग मिलेर पद लिन्छन् र सरकारमा भाग लिन्छन्, पुँजीवादी समाजवादी पार्टीहरूसँग नजिक छन् । नेपालको सन्दर्भमा ‘हरियाली’ पार्टी बनेमा नेपाली काङ्ग्रेस नजिक दलमा परिणत हुनेछ ।
२०७६-१२-२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *