भर्खरै :

संसारका २२ हजार स्वास्थ्यकर्मी कोरोना सङ्‍क्रमित

   जेनेभा, १२ अप्रिल । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस ओधानम घेब्रेयेसुसले घरभित्र बस्नुपर्ने निर्णयलाई अहिले नै उल्टाई खुला गरेमा विश्वमा धेरै मानिसको मृत्यु हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका छिट्टै खुल्ने बताएको बेला टेड्रोसले उक्त चेतावनी दिएका हुन् । अमेरिकामा दिनहुँ दुई हजारभन्दा बढीको मृत्यु भइरहेको छ । न्युयोर्कमा हप्तामा २५ शव गाड्ने ठाउँमा अहिले दैनिक २५ शव ५ दिनमा गाडिएको छ । न्युयोर्क अस्पतालको शवगृहमा शव राख्ने ठाउँ छैन । ट्रम्पका भरपर्दो वैज्ञानिक फाउसीले केही दिनअघि अमेरिकामा १–२ लाख मानिस मर्ने बताएका थिए । अहिले उनले ६० हजार मानिसको मृत्यु हुने बताउँदै छन् ।
            विश्व स्वास्थ्य सङ्गठनले संसारभर कोभिड–१९ बाट २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्‍क्रमित भएको बतायो । यो संस्थाले स्वास्थ्यकर्मीहरूलाई सुरक्षाका उपकरण मास्क, चस्मा, पञ्जा, गाउन लगाएरमात्र कोभिड–१९ को विरोधी उपचार गर्न आग्रह गरेको छ ।
            अमेरिकामा कोरोना भाइरस काला जातिका मानिसलाई बढी लागेको समाचार छ । यसले अमेरिकामा काला जातिप्रति पक्षपात भएको पुष्टि गर्छ । किनभने यो भाइरस शरीरको प्रतिरोध क्षमता कम भएपछि सक्रिय हुने र मानिसको ज्यानसम्म लिने हो । ट्रम्पले अमेरिकामा बसेका विदेशीलाई कुनै पनि बेला फिर्ता जान आदेश गर्ने र त्यसबेला सम्बन्धित देशले ७ दिनभित्र फिर्ता लिनुपर्ने घोषणा गरेका छन् । त्यसो त अमेरिका त्यहाँका आदिवासी रेड इन्डियनहरूको हो । गोराहरू युरोपबाट गएका हुन् । के ट्रम्प अमेरिका रेड इन्डियनहरूलाई छोड्न तयार भएका हुन् ?
            यो सङ्कटको बेला सम्पूर्ण देशको सहकार्य आवश्यक छ । केही अमेरिकीहरू यो भाइरसविरुद्धको खोप नबनेसम्म संसार आफ्नो लयमा नफर्कने बताउँदै छन् । यो एउटा पक्ष हो । खोप विकास नभएको बेला मानिस अनुशासनमा बस्ने अर्को उपाय हो । चीनले मानिसलाई अनुशासनमा राखेर यो भाइरसलाई नियन्त्रण गर्न सफलता प्राप्त गर्दै छ ।
            चीनले रुसमा पनि यो भाइरस नियन्त्रण गर्न चिकित्सक टोली पठायो । चीनको सहयोग अमेरिका, युरोप र भारतसम्म भइरहेको छ । क्युवाले बेलायतलाई सहयोग गर्दै छ । यो भाइरसको सङ्‍क्रमणसँगै विश्वमै आर्थिक मन्दी भइरहेको छ । यतिबेला सबै देशका स्रोत र साधन भएका धनीहरूले ठूलो छात्ती बनाउनु आवश्यक छ । नभए यो भाइरसको महामारीले ती धनीलाई पनि बाँकी राख्नेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *